
तोरकीन उपन्यासका पात्र, परिवेश र घटनाक्रम केवल कथात्मक संरचनाभित्र सीमित छैनन् । ती पाठकको चेतनाभित्र पस्दै, स्मृति, अनुभूति र आत्मसंवादका तहहरूमा गहिरोसँग चिमोटिरहन्छन् । यो कृति पढ्दै जाँदा म पाठक मात्रै रहिनँ, म स्वयं यात्रामा निस्किएँ ।
चराङ, मुस्ताङ, मनाङ, सोलु, रारा हुँदै स्मृतिका गल्ली–गल्ली हिँडिरहेँ । यो यात्रा बाहिरी मात्र होइन, भित्री थियो । भूगोलसँगै आत्माको यात्रा थियो ।
यी भूगोलहरू मेरा लागि अपरिचित थिएनन् । तल्लो र उपल्लो मुस्ताङ, मनाङ, सोलु र रारामा मैले गरेका यात्राका जीवन्त स्मृतिहरू तोरकीनका पानाहरू पढ्दै जाँदा पुनः अर्थवान् बने । त्यहाँका हावा, मौनता, आकाश, उजाडपन र एकान्त- सबै यहाँ आएर फेरि बोल्न थाले र लेखिन पनि थाले । उपन्यासले मेरा विगतका यात्रालाई केवल सम्झनामा सीमित राखेन, ती अनुभूतिहरूलाई पुनः जीवित चेतनामा फर्काइदियो ।
मेरो स्मृतिमा केही पात्रहरू दिनहुँ मलाई सिर्जनात्मक रूपमा लखेटिरहन्छन् । ती अनुभूति र विचारहरू मैले डायरीमा कविता र संस्मरणका रूपमा थन्क्याएर राखेकी छु । तर तोरकीनले देखाएको ‘कलमको क्षितिज’ फरक छ । यो केवल लेखनको अभ्यास होइन, पूर्ण समर्पणको परिणाम हो । जीवन, भूगोल, संस्कृति र मानवीय प्रेमप्रतिको निष्ठाबाट र समर्पणबाट तोरकीन जस्तो कृति जन्मिएको अनुभूति हुन्छ । त्यसैले पाठकको रूपमा म तोरकीन जन्माउने कलमकर्मी, उपन्यासको कलाकौशल र यसले पार्ने प्रभावप्रति गहिरो सम्मान व्यक्त गर्न चाहन्छु ।
तोरकीनका पात्रहरू: नामग्याल, पासाङ, छुक्की, पेम्बा, छेवाङ, कुन्साङ, कर्चुङ, खुसीराम आदि कथाको भूमिकाभित्र मात्र सीमित छैनन् । पठनयात्रामा उनीहरू मसँग निरन्तर अन्तरसंवाद गरिरहेछन् । उनीहरूको आवाज, मौनता, निर्णय, द्वन्द्व र संघर्षले म आफैंलाई प्रश्न गर्छु, म कुन कुन पक्षमा उभिएको छु ? पात्रहरूका चराङ, मुस्ताङदेखि मलेसिया र अमेरिकासम्मका यात्राका रहर र कहरहरूले संवेदनशील बनाउँछन् । ती यात्रा केवल रोजगारी, अवसर र विकासको खोजी होइन रहेछन् । ती त स्व–अस्तित्व, माटोको माया, पहिचानको लडाइँ र समयक्रममा बदलिँदै गएको मनोसामाजिक तथा सांस्कृतिक यथार्थका कथा रहेछन् ।
छेवाङ र कुन्साङको क्षतिग्रस्त सम्बन्ध, प्रेम र जीवनयात्राले गहिरो असर पार्छ । यस्ता पुरुष पात्रहरू सामाजिक यथार्थमा कति होलान् ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । प्रायः साहित्यमा पुरुष पात्रहरू शक्तिशाली, निर्णायक वा केन्द्रमा देखाइन्छन् । तर यहाँ उनीहरू पनि आँसु र पसिना सँगसँगै यात्रारत छन्, द्वन्द्वग्रस्त छन्, वियोगमा छन्, र असफल छन् तर निरन्तर यात्रावान् छन् । गाउँ र देशप्रतिको प्रेम, निश्चलता र नि:स्वार्थ भाव पढ्दा मनमा भावना र प्रश्नका ज्वारहरू उठ्छन् । के यसमा कुनै विवेकशील र संवेदनशील पाठक नचस्किने, नपग्लिने सम्भावना हुन्छ ?
दुर्गम हिमाली बस्तीका संघर्ष, सम्बन्ध र प्रेम, पीडा र निष्ठाले पाठकलाई भावनात्मक रूपमा हल्लाउँछ । छेवाङ र कुन्साङ पात्र मात्रै होइनन्, उनीहरू त समयले निर्माण गरेको चेतना र त्यसको प्रतिध्वनि हुन् । उनीहरूको मौनता नै भाषाजस्तो लाग्छ । उनीहरूको हार पनि जितसरह अर्थपूर्ण देखिन्छ ।
उपन्यासमा स्त्री पात्रहरूको मनोविज्ञान चित्रण पनि सशक्त छ । स्त्री पात्रहरू सहायक मात्र होइनन्, संवेदनाका केन्द्र हुन् । सँगै पुरुष पात्रहरूको मनोविज्ञानलाई पनि बलियो हस्तक्षेपका साथ उठाइएको छ । पुरुष जीवनयात्राका अल्पकालीन र दीर्घकालीन व्यक्तिगत, पारिवारिक, सांस्कृतिक, सामाजिक र आर्थिक पक्षहरू सूक्ष्म रूपमा उतारिएका छन् । यस अर्थमा तोरकीन लैङ्गिक सवाल र सन्तुलनको दृष्टिले पनि महत्त्वपूर्ण देखिन्छ ।
उपन्यासका कतिपय संवादहरू त पाठकको मन–मस्तिष्कमा यसरी गाडिएर बस्छन् कि तिनको अर्थबोधले पाठक स्वयं पात्रझैं रन्थनिन्छ ।
‘कति हारहरू, यस्ता हुन्छन् जुन जितभन्दा मीठा हुन्छन्’ यो वाक्यले जीवनको परिभाषा नै पुनर्लेखन गरिदिन्छ ।
‘कसैको सम्झनाभन्दा ठूलो नशा अर्को के हुन्छ र, कुन्साङ…’ यसले स्मृतिको शक्ति र पीडाको नशालाई एकैसाथ उजागर गर्छ ।
‘चराङमा मध्यान्हपछाडि चल्नेभन्दा बेजोड हावा मनभित्र चलेको…’ यहाँ बाहिरी हावाभन्दा भित्रको हलचल तीव्र छ ।
‘यहाँ के छैन…? पाइताला डोबहरू, रगतका निशानी, पसिनाको सुगन्ध, प्रकृति…’ भन्ने पंक्तिले भूगोललाई जीवन्त बनाउँछ । भूगोल यहाँ केवल दृश्य होइन, श्रम, संघर्ष र बलिदानको इतिहास हो ।
‘भूगोलले मात्रै होइन, मनले नै टाढा भइसकेको रहेछ तिमी…’ भन्ने वाक्यले भौतिक दूरीभन्दा मानसिक दूरी कति पीडादायी हुन्छ भन्ने कुरा उजागर गर्छ ।
आमाको रूप नबिर्सनु भन्ने सन्देश, जेलको एकान्तभन्दा जीवनको एकान्त कति कठोर हुन्छ भन्ने अनुभूति, ‘याँ हिँड्दा हिँड्दै… आत्माले पाओस्’ भन्ने खोज- यी सबैले उपन्यासलाई दार्शनिक उचाइमा पुर्याउँछन् । ध्ये खोलाजस्तै बगिरहने जीवन न हतार, न गुनासो । यो स्वीकारोक्तिको दर्शन हो ।
‘मानिसको चहलपहल नहुँदा गाउँ मुर्दा बन्छ’ भन्ने वाक्यले रित्तिँदै गएका गाउँहरूको पीडा बोल्छ । कालापत्थर बनेका हिमाल, खिइएका पठार र निर्जन बस्तीहरू जीवनकै प्रतिरूप जस्ता लाग्छन् निरस, जीर्ण, तर मौन रूपमा साक्षी । आँसु लुकाउने डर, माटोमै बिलाउन चाहने चाहना, कहिल्यै नउदाउने गरी अस्ताउने कल्पना यी सबैले मान्छेको अन्तर्द्वन्द्वलाई खुला रूपमा प्रस्तुत गर्छ ।
अन्ततः ‘म अब कहाँ जाउँ ? घार कि घाट ?’ भन्ने प्रश्न केवल पात्रको होइन, जीवनको उत्तर खण्डमा रहेका प्रत्येक वयस्क व्यक्तिको प्रश्न हो ।
तोरकीन पढिसकेपछि पाठक भित्रैबाट परिवर्तन हुन्छ । यो उपन्यास पढिन्छ मात्र होइन; बाँचिन्छ । छेवाङ र चराङजस्तै माटोको मायामा लुटपुटिन्छ पाठक । जहाँ कथा समाप्त हुँदैन, पाठकीय भावना र संवेदना निरन्तर बगिरहन्छ ध्ये खोला र कालीगण्डकीजस्तै ।
तोरकीन मुस्ताङको भौगोलिक र अभौगोलिक आन्तरिक पर्यावरणका तीतामीठा स्मृति र संवेदनाका गुच्छाहरू उनेर तयार पारिएको कथामाला हो । सबै पाठकलाई समान रूपमा तान्ला वा नतान्ला त्यो पाठकीय विविधताको पाटो हो । तर, पठनपश्चात् उपन्यासले गहिरो प्रभाव भने अवश्य छोड्छ । यति मिहिन तरिकाले भाषा, कला, संस्कार र संस्कृति कोर्नु लेखकको गहन अध्ययन, खोज र लेखन साधनाको प्रतिफल हो भन्नेमा शंका रहँदैन ।
तोरकीन मैले पढेका कृतिहरूमध्ये फरक भौतिक र अभौतिक भूगोलका सामाजिक–सांस्कृतिक आयामहरूको कथा रहेछ । हिमालजस्तै जमेका, पग्लेका र कठ्याङ्ग्रिएका सम्बन्धहरूको उचाइ, गहिराइ र आयतनको कथा रहेछ ।
उपल्लो मुस्ताङका जन्मदेखि मृत्युसम्मका संस्कार मात्र होइनन् गुम्बा, दरबार, समाज र इतिहासका मसिना–मसिना उपकथा र सहकथाहरूको समग्र उत्खनन् रहेछ ।
यस अर्थमा, तोरकीन केवल उपन्यास होइन, एक अनुभूतिको कलात्मक दस्तावेज हो ।