
नेपाली महिला राष्ट्रिय टोलीकी अनुभवी ब्याटर सीता राना मगरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशेढुङ्गा पार गरेकी छन् ।
३३ वर्षीया सीताले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत शनिबार जिम्बाब्वेविरुद्धको खेलमा यस्तो उपलब्धि हासिल गरेकी हुन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको उक्त खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । सीता भने ११ रन बनाउँदै ‘रिटायर्ड हर्ट’ भएर मैदानबाट बाहिरिएकी थिइन् ।
तर, त्यसअघि नै उनले एक हजार रन पूरा गरेकी थिइन् । उनले जिम्बाब्वेविरुद्ध आठ रन बनाएसँगै एक हजार रनको कोशेढुङ्गा पूरा गरिन् ।
सीताले ६६ टी–२० अन्तर्राष्ट्रियको ६२ पालीमा यो उपलब्धि हासिल गरिन् । उनले टी–२० अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर भने अविजित ८२ रन हो ।
सीता टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने तेस्रो नेपाली महिला ब्याटर हुन् । यसअघि, रुविना क्षेत्री र इन्दु बर्माले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका थिए ।