०४ साउन २०८३, सोमबार
चुनावी ग्राउन्ड जिरो- चितवन

चितवन- १ को मनोविज्ञान : हरि ढकालले कामचाहिँ केही गरेनन्, तै पनि फेरि एकपटक हेरौं !

ढकाल भन्छन्- 'सदनमा आवाज उठाएँ', चुपचाप आन्तरिक तयारीमा कांग्रेस-एमाले
चितवन- १ को मनोविज्ञान : हरि ढकालले कामचाहिँ केही गरेनन्, तै पनि फेरि एकपटक हेरौं !

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाललाई प्रश्न र समर्थन सँग-सँगै रहेको पाइएको छ । सो क्षेत्रका निवर्तमान सांसद ढकाललाई अघिल्लोपटक जिताएका मतदाताले यसबीचमा काम नगरेको भनेर प्रश्न गरे पनि तीमध्ये अधिकांशले 'फेरि एकपटक हेरौं न त' भन्ने मनोविज्ञान बनाएको पाइएको हो ।

चितवन १ मा अहिले रास्वपाबाट ढकालका अलावा नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद बुर्लाकोटी, नेकपा (एमाले)बाट दावा दोर्जे लामा, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्णराज पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाबाट) बलराम शर्मा खनाल, श्रम संस्कृति पार्टीबाट अनिल तामाङ, उज्यालो नेपाल पार्टीबाट धनबहादुर गुरुङसहित १५ दलीय र ३ स्वतन्त्र गरी १८ उम्मेदवार छन् ।

यसक्रममा हामीले रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका विभिन्न वडामा पुगेर मतदाताहरूसँग कुराकानी गरेका थियौं । अधिकांशले ढकालले विगतको कार्यकालमा आफ्नो क्षेत्रमा केही काम नगरेको गुनासो गरे ।

शुरूमा रत्ननगर नगरपालिका वडा नम्बर १ का एक मतदाताले 'झण्डै साढे ३ वर्षको कार्यकालमा गरेका २ वटा काम देखाउनुस्' भनेर ढकालमाथि प्रश्न उठ्न थालेको बताए । 'विगतमा मत दिएकै कतिपयले उहाँलाई पहिलो कार्यकालमा गरेका कुनै दुईवटा काम देखाउनुस् भनेर प्रश्न गरिरहनुभएको छ । सौराहा क्षेत्रको समस्याबारे उहाँले सदनमा कुरा उठाउनुभएको चाहिँ सुनेको हो, तर अरू काम खासै भएको छैन,' विगतमा ढकाललाई नै मत दिएका ती मतदाताले भने ।

null

आलोचना भएपछि हालसालै सौरहाको सडकमा बत्ती हाल्छौं भनेर नापेर गएको उनले बताए । 'हालसालै उहाँहरूले यहाँ नापेर ठाउँ-ठाउँमा चिह्नो पनि लगाउनुभएको छ,' ती मतदाताले भने ।

त्यसपछि भेटिएका रत्ननगर १० का अर्का एक मतदाताले पनि आफ्नो ठाउँमा खासै काम नभएको, तर ढकाललाई फेरि एकपटक मौका दिने मनस्थिति बनाएको बताए । अझ रोक कुरा त के भने, उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेछन् ।

'म नेपाली कांग्रेसको क्रियाशील सदस्य हुँ । अघिल्लोपटक घण्टीमै भोट हालेको थिएँ । फेरि एकपटक मौका दिऊँ भन्ने सोचेको छु,' करिब ५० वर्षीय ती पुरुष मतदाताले भने, 'शायद उसको सरकार नभएर पनि काम गर्न नसकेको हो कि ?'

त्यसपछि 'तपाईंले कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्नुभयो कि नाईं ?' भन्ने प्रश्नमा उनले 'नवीकरण गरेको' जवाफ दिए । 'भविष्यमा काम लाग्न सक्छ' भनेर सदस्यता नवीकरण गरिराखेको उनको भनाइ थियो ।

हामी पुग्दा रत्ननगर- १० मा रास्वपाको सम्पर्क कार्यालय भर्खरै उद्घाटन भएको थियो ।

null

त्यसैगरी, रत्ननगर १३ का एक मतदाताले आफ्नो क्षेत्रमा माखो नमारे पनि पनि घण्टीको माहोल रहेको बताए । 'कामचाहिँ केही गरेको छैन, माखो पनि मारेको छैन, तर माहोल उसकै छ,' करिब ४५ वर्षका ती पुरुषले भने, 'घरमा फेरि एकपटक हेरौं भनेका छन् ।'

रत्ननगर १६ खैरेटी पुग्दा अर्का एक मतदाताले पनि आफ्नो क्षेत्रमा खासै काम नभएको बताए । तर, फेरि एकपटक घण्टीलाई भोट हाल्छौं भन्ने मानिसहरू उल्लेख्य रहेको उनको भनाइ थियो ।

'यहाँ सुरेन्द्र पाण्डेको पालामा धेरै काम भएको थियो । तर, अहिले काम भएको पाएको छैन । तैपनि एकपटक फेरि मौका दिऊँ न त भन्ने धेरैको कुरा छ,' करिब ३० वर्ष उमेरका ती पुरुष मतदाताले भने ।

null

त्यसैगरी, रत्ननगर १६ पिठुवाका अर्का एक मतदाताले पनि रवि लामिछाने र बालेन्द्र शाहको अनुहार हेरेर एकपटक मौका दिऊँ भन्ने मनोविज्ञान बनेको बताए । 'काम कहाँ-कहाँ गरे थाहा भएन, तर रवि र बालेनका कारण फेरि पनि एउटा लहरजस्तै छ । मोबाइलमा उनीहरूकै हाई-हाई छ,' पत्नीसहित घाम तापेर बसिरहेका ती व्यक्तिले भने ।

सँगै रहेकी उनकी पत्नीले किसानको समस्यामा कसैको ध्यान नगएको बताइन् ।

'किसानलाई समयमा मल छैन । किलोको २० रुपैयाँ पर्ने मल ५० रुपैयाँ तिरेर किन्नुपरेको छ । जसले जिते पनि उही त रहेछ । तै पनि सबैले घण्टी-घण्टी भनेकाले फेरि एकपटक हेरौं न त भनेको हो,' ती महिलाले भनिन् ।

null

त्यहाँबाट केही अगाडि बढेपछि पिठुवाकै दोबाटोचोकमा भेटिएका एक महिला र एक जेनजी युवाले पनि घण्टीमा भोट हाल्ने बताए । 'काम गर्न दिएनन् भन्या छन्, हुन पनि काम गर्ने मान्छेलाई थुन्देपछि कसरी गरुन्,' ती महिलाले भनिन्, 'अरू पनि उही त हो, राम्रो भए त हेलिकप्टर चढेर भाग्नै पर्थेन नि !'

उनीसँगै भेटिएका रत्ननगर २ का २६ वर्षीय जेनजी मतदाताले आफ्नो पहिलो भोट घण्टीलाई जाने बताए  । 'पहिलो भोट घण्टीमा हाल्ने सोचेको छु । माहोल नै त्यसकै छ,' उनले भने ।

रत्ननगर १५ माधवपुरका एक मतदाताले यसपटक पनि 'घण्टी हल्लाउने' बताए । 'घण्टी हल्लाउने हो, हाम्रो यहीँको हरि ढकाल उठ्या छ,' अधवैंशे उमेरका ती मतदाताले लोकान्तरसँग भने ।

रत्ननगर नगरपालिका छाडेर खैरहनी ४ चैनपुर पुग्दा दलित समुदायका ४/५ जना एकै ठाउँमा भेटिए । उनीहरूले यसपटक भोट हाल्नै नजाने बताए ।

null

'को उठेको छ पनि थाहा छैन । हाम्रो लागि कसैले काम गर्दैन । पहिले घण्टीले नै जित्या हो क्यारे, तिनले के काम गरे थाहा छैन,' एक महिलाले आक्रोशित हुँदै भनिन्, 'यहाँ राममणि सर (स्व. राममणि न्यौपाने) हुँदा हाम्रो सुख-दु:ख बुझ्नुहुन्थो, केही पर्दा भन्ने मान्छे थियो, उहाँ दुर्घटनामा बितेपछि अहिले कोही छैन, हामी भोट हाल्नै जाँदैनौं ।'

खैरहनी- ४ चैनपुरकै अर्का एक मतदाताले रास्वपाले जितेर गए पनि आफ्नो ठाउँमा केही काम नभएको बताए । 'काम त केही भएको छैन । सानोतिनो टुक्रे काम नगर्ने नीति छ, देश बनाउने हो भन्छन्, खै के हो,' उनले भने ।

काम नगरे पनि आफ्नो ठाउँमा घण्टीकै माहोल रहेको उनले बताए ।

त्यहाँबाट खैरहनी नगरपालिका वडा नम्बर २ कटेनी लदरी पुग्दा ५-७ जना युवा (२० देखि ३५ वर्ष उमेर समूहका) क्यारमबोर्ड खेल्दै गरेका भेटिए । चुनावी माहोलबारे सोध्नेवित्तिकै उनीहरूले एक स्वरमा 'घण्टी बजाउने हो' भनेर हल्लाखल्ला गरे ।

'हाम्रो यो ठाउँमा पहिले सबै कांग्रेस हो, तर अहिले घण्टी बजाउने,' ती मतदाताले भने ।

null

त्यहाँबाट खैरहनी- २ हंशेश्वर टोल पुग्दा दुई वृद्ध र एक प्रौढ व्यक्ति बसेर गफ गरिरहेको भेटिए । त्यहाँ भेटिएका एक वृद्धले यसपटक रास्वपाका हरि ढकाल र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीबीच प्रतिस्पर्धा हुने बताए ।

'रवि लामिछेनको पक्षमा हस्ताक्षर अभियान चल्दा यहाँका झन्डै ७५ प्रतिशत मान्छेले हस्ताक्षर गरेका हुन् । तर, हरि ढकालले जितेर गएपछि कामचाहिँ माखो पनि मारेको छैन । हामीले पनि पहिले भोट दिएका हौं । अहिले कांग्रेस र रास्वपा बराबरजस्तै छन् । यी दुईमा कसले जित्छ भन्न सकिन्न ।'

त्यहाँबाट अगाडि बढेर खैरहनी ८ माधवटार पुग्दा एक मतदाताले कांग्रेसलाई भोट दिने बताए ।

'पहिला हामीले पनि घण्टीमा भोट हालेको हो । रविले एक दिन पारि (भरतपुर-कालिकातिर) भाषण गर्ने, एक दिन यता आएर भाषण गर्ने गर्दा उसैलाई भोट दिने हो भन्ने पर्‍यो । यहाँ धेरैले रवि लामिछानेलाई नै भोट दिँदैछौं भन्ने सोचेका थियौं,' ती व्यक्तिले भने, 'अहिले कांग्रेसले राम्रो उम्मेदवार उठाएको छ । त्यसैले अब हामी कांग्रेसलाई भोट दिन्छौं ।'

उनले कांग्रेसको नेतृत्व परिवर्तनपछि अब पार्टी सुध्रियो भन्ने धेरैलाई परेको बताए ।

'कांग्रेसमा गगन आएपछि अलि माहोल बन्या छ । पार्टी आन्तरिक रूपमा मिलेको हो कि भन्ने पनि देखिएको छ,' उनले भने ।

खैरहनी ८ पर्सा बजार नजिक भेटिएका अर्का एक मतदाताले नेकपाका डा. कृष्णराज पन्त राम्रो उम्मेदवार भएको बताए ।

'यहाँ राम्रो उम्मेदवार नै हेर्ने हो भनेचाहिँ कृष्ण पन्त हुन् । सुरेन्द्र पाण्डे, डा. विश्व पौडेलजस्ता उम्मेदवार उठेको ठाउँमा नेकपाले निकै राम्रो उम्मेदवार उठाएको छ,' ती मतदाताले भने ।

उनीसँगै बसेका अर्का एक व्यक्तिले निवर्तमान सांसद हरि ढकालले १० हजारको काम पनि नगरेको जिकिर गरे । '१० हजारको काम पनि गरेको छैन । तर, माहोल उसकै छ, कुरा बुझ्न सकेको छैन ।'

खैरहनी- ८ पर्साकै अर्का एक मतदाताले कांग्रेसलाई मत दिने बताए ।

'कांग्रेसको उम्मेदवार राम्रो व्यक्ति हुनुहुन्छ । समाजसेवी पनि हुनुहुन्छ । हामीले एकपटक उहाँलाई नै मत दिने सोचेका छौं ।'

त्यहाँबाट खैरहनी नगरपालिका छाडेर राप्ती नगरपालिका ५ चौकीडाँडा पुग्दा जनजाति समुदायका केही मतदाता भेटिए । उनीहरूमध्ये अधिकांशले नेकपा एमालेका दावा दोर्जे लामालाई भोट दिने बताए ।

'दावा लामा राम्रो मान्छे हुनुहुन्छ । पहिले पनि एकपटक उहाँ उठ्नुभएको थियो । हामीले भोट दिएको हो । राम्रो काम पनि गर्नुभएको हो । यसपटक पनि भोट दिन्छौं,' त्यसमध्येकी एक मतदाताले भनिन् ।

त्यहीँ रहेका अर्का एक मतदाताले पनि आफ्नो क्षेत्रमा एमालेको गढ रहेको बताए । त्यही बीचमा रहेका अर्का एक व्यक्तिले भने यसपटक हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई माटो चिह्नमा भोट हाल्ने बताए ।

त्यहाँबाट केही अगाडि बढेर राप्ती ४ लाहुरे चोकमा पुग्दा जनजाति समुदायकै एक पुरुष र एक महिला भेटिए ।

उनीहरूले आफ्नो ठाउँमा एमालेको राम्रो पकड रहेको बताए । 'हामी त पहिल्यैदेखि एमाले नै हो, तर यसपालि माटो चिह्नको उम्मेदवार पनि आइरहनुभएको छ, कसलाई दिने अहिलेसम्म थाहा छैन । भोट हाल्नै नजान पनि सक्छौं ।'

यसैगरी, राप्ती नगरपालिका- ४ डडुवामा एक वृद्ध र एक महिला भेटिए ।

null

उनीहरूमध्ये वृद्धले श्रम संस्कृति पार्टी र महिलाले एमालेलाई भोट दिने बताए । वृद्धले श्रम संस्कृति पार्टीको नाम लिएपछि महिलाले एमालेका दावा दोर्जे लामा पनि राम्रो मान्छे रहेको बताएकी थिइन् ।

सोही वडाको सुन्दर बस्ती पुग्दा ५/७ जना व्यक्ति जम्मा भएर बसिरहेका थिए । अधिकांश ब्राह्मण/क्षेत्रीय समुदायका व्यक्तिहरूको समूहमा पुगेर चुनावी माहोलबारे जिज्ञासा राख्दा २ जना मात्र बोले । उनीहरूले घण्टीमा भोट हाल्ने बताए ।

'हरि ढकालले पहिले जितेर गएको हो । कामचाहिँ खासै गरेको जस्तो लाग्दैन । फेरि सबैको काम गर्न कसैले पनि सक्दैन । अरूलाई तीसौं वर्ष हेर्‍यौं, यिनीहरूलाई फेरि एकपटक ५ वर्षका लागि हेरौं न त भन्ने हाम्रो कुरा हो,' तीमध्ये एक जनाले भने ।

null

त्यहाँबाट अगाडि बढेर राप्ती २ गड्यौली पुग्दा एक वृद्ध र अर्का एक प्रौढ पुरुष मतदाता भेटिए ।

उनीहरूमध्ये वृद्धले आफूले विगतदेखि कांग्रेसलाई नै मत दिएको बताए । 'पहिलेदेखि नै कांग्रेसलाई मत दिएको हो । यसपटक माहोलचाहिँ घण्टीको छ, मैले के गर्ने भनेर सोचिरहेको छु ।'

त्यसपछि हामीले राप्ती ६, खैरहनी ७, खैरहनी ९ का थारू बस्तीमा समेत पुगेर चुनावी माहोल बुझ्न खोजेका थियौं, उनीहरूले खासै प्रतिक्रिया दिन मानेनन् । ब्राह्मण-क्षेत्री र जनजातिको जस्तो उनीहरूको मनोविज्ञान बुझ्न सकिएन ।

null

'सबैतिर एउटै मनोविज्ञान, हरि ढकालले कामचाहिँ गरेनन्'

हामीले तीनै पालिकाका फरक-फरक बस्ती तथा समुदायमा पुगेर कुरा गर्दा अधिकांशको एकै खालको प्रतिक्रिया पायौं- 'विगतमा जितेर गए पनि हरि ढकालले कामचाहिँ गरेनन् ।'

तर, किन काम गरेनन् भन्ने विषयमा चाहिँ मानिसहरूको फरक-फरक बुझाइ थियो । केहीले सरकारमा जान नपाएकाले काम नगरेको हो कि भने, केहीले रवि लामिछाने थुनिएको भएर काम गर्न नसकेको हुन सक्छ भन्ने जवाफ दिए, केहीले 'अन्त कता हो, काम गरेको छ रे भन्ने सुनेको हो, हाम्रोमा चाहिँ छैन' भने, अनि कतैचाहिँ कामै नगरे पनि 'रवि-बालेनलाई हेरेर फेरि एकपटक मत दिऊँ न त' भन्नेहरू भेटियो ।

अर्को रोचक तथ्य, अघिल्लोपटक घण्टीमा भोट हाल्ने कैयनले आफूले रवि लामिछानेलाई नै प्रत्यक्ष भोट हालेको भनेर सोचेको बताए । यसपटक भने अधिकांशलाई आफूले प्रत्यक्ष भोट हाल्ने व्यक्ति रवि लामिछाने नभएर हरि ढकाल हुन् भन्ने थाहा रहेछ ।

यता ढकाल भने आफूले प्रशस्तै काम गरेको दाबी गर्छन् ।

'किसानका मुद्दाहरू सशक्तरूपमा सदनमा उठाएर फलोअप गरेको छु । डुब्लिकेट सिरम आयात रोकेर मह किसानलाई फाइदा पुर्‍याउने काम गरेको छु । गृह मन्त्रालयमा फलोअप गरेर अवैध माछा आयात रोक्ने काम गरेँ । हाम्रो सभापति गृहमन्त्री हुँदा पोल्टी व्यवसायका लागि स्वर्णिम युग नै भनियो,' ढकालले भने, 'दूध किसानलाई समयमै भुक्तानीका लागि भूमिका खेलेँ । रासायनिक मल पनि थोरै सहज भएको छ ।'

उनले आफू निर्वाचित भएपछि जम्मा दुईवटा बजेट आएको भन्दै विकास निर्माणका काम पनि गरेको बताए ।

'रत्ननगर ७ र ८ लाई जोड्ने पुल निर्माण सम्पन्न भयो । खैरहनी ६ ढुंग्रेखोला पुल बन्यो । राप्ती ८ मा केन्द्रीय बजेटबाट बाटो बनेको छ । चेपाङ मार्ग स्तरोन्नतिका लागि बजेट परेको छ । सौराहा सौन्दर्यीकरणको काम अगाडि बढेको छ,' ढकालले थपे ।

रत्ननगर २ मा सडकपेटी र रत्ननगर १५ मा बाटो निर्माण, स्कूलमा बालबालिकाको पोषणका लागि आवाज उठाएको तथा सौराहा र पर्यटन क्षेत्रको विकासका लागि सदनमा बोलेको उनले बताए ।

null

विगतको नतिजा

यस क्षेत्रमा अघिल्लोपटक रास्वपाका हरि ढकाल ३४ हजार २१८ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले २६ हजार ६३४ र नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २५ हजार २२ मत पाएका थिए । राष्ट्र बैंकका वर्तमान गभर्नरसमेत रहेका पौडेललाई तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत ५ दलको समर्थन थियो ।

यसका अलावा राप्रपाका मधुपकुमार भट्टराईले २७५० र स्वतन्त्र विष्णु लामाले १४२१ मत ल्याउँदा अरू उम्मेदवारले हजार मत कटाउन सकेका थिएनन् । पार्टी सभापति रवि लामिछानेको लहरको बलमा ढकालले प्रभावशाली उम्मेदवारहरूलाई हराएर इतिहास रचेका थिए ।

स्थानीय तहतर्फ राप्ती नगरपालिकाको प्रमुखमा तत्कालीन नेकपा एकीकृत समाजवादी (गठबन्धन)का शमशेर लामा १२ हजार ५२४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गोविन्दप्रसाद कंडेलले १२ हजार ५१ मत पाएका थिए ।

उपप्रमुखमा कांग्रेस (गठबन्धन)का देवेन्द्र लामा १२ हजार ६८२ मतसहित विजयी हुँदा एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत पाएकी थिइन् । वडातर्फ १, २, ३, ४, ५, ६, ८ र ९ गरी आठवटा वडामा एमाले, १०, १२ र १३ गरी ३ वटामा कांग्रेस तथा वडा नम्बर ११ मा एकीकृत समाजवादी विजयी भएका थिए । ७ नम्बर वडामा भने स्वतन्त्र उम्मेदवारले जीत हात पारेका थिए ।

यसैगरी खैरहनी नगरपालिकाको प्रमुखमा कांग्रेसका शशिकुमार (गठबन्धन) खनिया १४ हजार ५४५ मत ल्याएर विजयी हुँदा एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत पाएका थिए ।

उपप्रमुखमा एमालेकी कविता उप्रेती १४ हजार १६४ मत ल्याएर विजयी हुँदा माओवादीकी लक्ष्मी ढकालले ९ हजार ६७० मत पाएकी थिइन् ।

वडातर्फ १, २, ३, ८, १० र १२ मा कांग्रेस ४, ५, ६, ७, ९, ११ र १३ मा एमाले विजयी भएका थिए ।

null

यस्तै, रत्ननगर नगरपालिकाको प्रमुखमा कांग्रेस (गठबन्धन)का प्रलाद सापकोटा २० हजार ७९६ मत ल्याएर विजयी हुँदा एमालेकी विमलादेवी दवाडीले १२ हजार ७२८ मत पाएकी थिइन् ।

उपप्रमुखमा एमालेका यादवप्रसाद पाठकले १३ हजार ५१४ मत पाउँदा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३३४ मत पाएका थिए ।

वडातर्फ १, २, ३, ४, ५, ६, ८, १० र १४ मा कांग्रेस, ७, ११, १३, १५ र १६ मा एमाले, १२ नम्बरमा माओवादी केन्द्र तथा ९ नम्बर वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

स्थानीय चुनावपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएकाले त्यतिबेलाको मतले धेरै अर्थ नराख्ने अवस्था हामीले पायौं ।

सबैका आ-आफ्नै दाबी र एजेन्डा

रास्वपाका हरि ढकालले 'आफ्नो सरकार नभएकाले अपेक्षित काम गर्न सकिएन, तै पनि सदनमा आवाज उठाएँ, अब बालेन शाहलाई प्रधानमन्त्री बनाएपछि काम गर्छौं भनेर मत मागिरहेका' छन् । अहिले उनले रवि लामिछाने र बालेन शाह दुवैलाई देखाएर मत मागिरहेको स्थानीय बताउँछन् ।

यस्तै, कांग्रेसले पार्टीको नेतृत्व परिवर्तन र आन्तरिक एकता सुदृढ भएको दाबीसहित मत मागिरहेको छ ।

कांग्रेसका युवा नेतासमेत रहेका खैरहनी- ८ का वडाध्यक्ष शंकर कँडेलले विशेष महाधिवेशनपछि माहोल फेरिएको दाबी गरे । 'पार्टी नै के हुने भन्ने थियो । अहिले सही हिसाबले सेफल्यान्डिङ गर्‍यो भन्ने सबैलाई परेको छ,' कँडेलले भने, 'यसपटक चुनाव हामीले जित्दैछौं ।'

null

स्थानीय स्तरमा भिजेको र समाजसेवा गरेको उम्मेदवार हुनु आफूहरूको बलियो पक्ष रहेको उनले बताए । कांग्रेसले पार्टीका क्रियाशील सदस्यदेखि वडा सदस्य तथा पदाधिकारी, पालिका तथा क्षेत्रीय प्रतिनिधिलाई परिचालन गरेर भित्र-भित्रै तयारी गरिरहेको पाइयो । 'धेरै हल्ला नगर्ने, भित्रभित्रै लाग्ने' कांग्रेसको रणनीति रहेको हामीले पायौं ।

वडाध्यक्ष कँडेलले यसपटक ३२ देखि ३५ हजार मत ल्याएर जित्ने आफूहरूको हिसाब रहेको सुनाए ।

नेकपा एमालेले पनि आफ्नो पुरानो विरासत जोगाउन प्रयास गरिरहेको पाइयो । २०७४ मा बागमती प्रदेशको सांसद तथा मन्त्री हुँदा गरेको काम, उम्मेदवारको छवि तथा आफ्नो पुरानो संगठनात्मक मतको बलमा एमाले चुनावी अभियानमा होमिएको रहेछ ।

विशेषगरी, जनजाति समुदायको मतमा एमालेको पकड रहेको र ब्राह्मण/क्षेत्री समुदायमा केही संघर्ष गरिरहेको देखियो ।

यसैगरी, नेकपाले उम्मेदवारको छवि देखाएर मत मागिरहेको पाइयो । क्षेत्रमा उपलब्धमध्ये सबैभन्दा योग्य उम्मेदवार आफूहरूले उठाएको दाबीसहित नेकपा चुनावी मैदानमा उत्रिएको हो । नेकपा उम्मेदवार डा. कृष्णराज पन्तले भने- 'जान्नेलाई छान्ने हो भने म नै सबैभन्दा योग्य छु । यदि गाली गर्न जान्ने खोजेको हो भनेचाहिँ मैले सक्दिनँ ।'

null

पन्तले आफ्नो पीएचडी आर्थिक विषयमै रहेको भन्दै नीति निर्माण तथा विकासका योजना बनाउन आफैं सक्षम रहेको र खेताला खोज्नु नपर्ने बताए ।

वर्तमान स्थितिमा दलीय विश्लेषण

हामी रत्ननगर, खैरहनी र राप्तीका विभिन्न वडामा पुग्दा विशेषगरी रत्ननगर र खैरहनीका भित्री ब्राह्मण/क्षेत्री बस्तीमा रास्वपाको प्रभाव रहेको पायौं । यसैगरी, पर्सा आसपासका बजार क्षेत्रमा कांग्रेस-एमाले र रास्वपा तथा केही नेकपा, अनि राप्तीको जनजाति समुदायमा एमालेको पकड रहेको भेटियो । थारू बस्तीको मनोविज्ञान भने हामीले बुझ्न सकेनौं ।

चितवन विभिन्न जिल्लाबाट आएका व्यक्तिको बसोबास रहेको ठाउँ हो । यो क्षेत्रमा खासगरि धादिङ र गोरखाबाट आएका मानिसहरूको उल्लेख्य बसोबास रहेछ । विगतमा धादिङे मतदाता एमालेका सुरेन्द्र पाण्डेको भोट बैंक रहेछन् । तर, अघिल्लो चुनावदेखि सो भोट बैंकमा समेत रास्वपा छिरेको पाइयो ।

null

हामीले भेटेका आममतदाता, यस क्षेत्रका दलका प्रतिनिधि तथा स्थानीय विश्लेषकहरूको कुरा सुन्दा यस क्षेत्रमा अहिलेसम्म प्रतिस्पर्धामा रास्वपा नै केही अगाडि रहेछ । त्यसपछि कांग्रेसले रास्वपालाई नजिकबाट टक्कर दिन प्रयास गरिरहेको पाइयो ।

अर्कातर्फ, सुरेन्द्र पाण्डेसहित भएर खैरहनी र रत्ननगरमा केही मेहनत गर्दा राप्तीको जनजाति मत समेत जोडेर चुनाव जित्न सकिने एमालेको मनोविज्ञान रहेछ । नेकपाले भने आफ्ना प्रतिबद्ध मतदाता तथा रास्वपामा नजाने एमाले-कांग्रेसको असन्तुष्ट मत आफ्नो उम्मेदवारको छविको बलमा तान्ने प्रयास गरिरहेको पायौं । श्रम संस्कृति पार्टीका उम्मेदवारले पनि राप्तीको जनजाति मतमा केही प्रभाव पार्न सक्ने देखियो ।

null

यी पनि पढ्नुहोस्

दीपक सिंहलाई जिताउने हेटौंडाका 'स्विङ भोटर' घण्टीतिर, उम्मेदवारको परवाह छैन, एकपटक हेर्ने !

मकवानपुर- २ लाई छिचोल्दै २५०० मिटरको उचाइमा पुगेर हेटौँडा ओर्लिँदा

महेशको व्यक्तिगत लोकप्रियता, बुद्धलाई इन्द्र बानियाँको भर, 'सरप्राइज' दिने प्रयासमा घण्टी र तारा

 

 

 

salt training

कमेन्ट गर्नुहोस्