
चासो र चर्चाको केन्द्रमा रहेको चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी प्रतिस्पर्धामा अन्य दलभन्दा अगाडि रहेको पाइएको छ । यस क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका अधिकांश वडा तथा माडी नगरपालिकामा पुगेर गरिएको कुराकानीमा टोल-टोलमा संगठन रहेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै रक्षात्मक बन्न पुगेको पाइएको हो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने कमजोर संगठनका बावजुद पार्टीकी उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिकामा गरेको कामका कारण कांग्रेस- एमालेभन्दा थोरै अगाडि देखिएको छ । यस्तै, विक्रम पाण्डे उम्मेदवार नबनेका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने कमजोर बन्न पुगेको पाइएको छ ।
यस क्षेत्रमा पर्ने अधिकांश वडामा पुगेर फरक-फरक उमेर समूह, जातजाति र समुदायमा कुराकानी गर्दा अधिकांशले चुनावलाई रास्वपाकी सोविता गौतम र भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालबीचको प्रतिस्पर्धाका रूपमा बढी बुझेको पाइयो ।
औपचारिक हिसाबले चुनावी घरदैलो शुरू हुन बाँकी नै रहेकाले मतदाताले सामाजिक सञ्जालमा देखे/सुनेका आधारमा सोविता र रेनुलाई मात्र प्रतिस्पर्धी ठानेका रहेछन् । त्यसो त यो क्षेत्रमा कांग्रेसले टेकप्रसाद गुरुङ, एमालेले शंकरराज थपलिया, राप्रपाले दीपक थापा मगर, उज्यालो नेपाल पार्टीले डम्बरबहादुर तामाङ, श्रम संस्कृति पार्टीले तेजमान गुरुङ लगायतलाई उम्मेदवार बनाएका छन् । यहाँ १८ दलीय र ६ स्वतन्त्र उम्मेदवार छन् ।
मत परिवर्तनको अवस्था र कारण
भरतपुर महानगरपालिकाका विभिन्न वडा र माडी नगरपालिकामा पुगेर ३०० जनासँग गरिएको कुराकानीमा ५५ प्रतिशतले यसपटक मत परिवर्तन गर्न लागेको बताए । त्यसमध्ये ३८ प्रतिशत नयाँ दलतर्फ जान लागेको पाइयो भने १७ प्रतिशतले पुरानैमध्येको अर्को दललाई मत दिने बताए ।

३८ प्रतिशत मतदाता आफ्नै पुरानो दलप्रति प्रतिबद्ध रहँदा ७ प्रतिशत नयाँ मतदाता भेटिए । पुरानै दलतर्फ ट्रान्सफर हुँदै गरेको मत अधिकांश रेनुतर्फ र नयाँ दलतर्फ जाँदै गरेको मत अधिकांश सोवितातर्फ जान लागेको पाइयो । केहीले नयाँमा उज्यालो नेपाल र श्रम संस्कृति पार्टीको पनि नाम लिए । नयाँमा अन्य दलको नाम भने ३०० सय मतदाताबाट हामीले कसैको पनि सुनेनौं । (निर्वाचन आचारसंहिताका कारण दलीय उम्मेदवारका पक्षमा देखिएको मत प्रतिशत हामीले यहाँ प्रकाशित गरेका छैनौं- सम्पादक ।)
कांग्रेस, एमाले र राप्रपा उम्मेदवार रोज्ने पुरुष मतदाता बढी पाइए भने नेकपा र रास्वपालाई म दिन्छु भन्नेमा महिला बढी भेटिए । उज्यालो नेपाल र श्रम संस्कृति पार्टी रोज्ने पुरुष मात्र थिए ।
मत बदल्न खोज्नुको मुख्य कारणबारे सोधिएको प्रश्नमा अधिकांशले नयाँ दल र उम्मेदवारप्रतिको आकर्षणलाई औंल्याएका छन् ।

हामीले कुरा गरेकामध्ये मत परिवर्तन गर्न चाहने ५८ प्रतिशतले ‘नयाँप्रतिको आकर्षण’लाई मुख्य कारण बताए । यस्तै, २० प्रतिशतले पुरानाले ‘काम नगरेका कारण’ विकल्प रोज्न लागेको प्रतिक्रिया दिए भने २२ प्रतिशत यसबारे खुल्न चाहेनन् ।
१८ देखि ३० वर्ष उमेर समूहका अधिकांशले नयाँ दल रास्वपालाई मत दिन्छु भन्दा ६० वर्षमाथिकाको रोजाइमा कांग्रेस अगाडि पाइयो ।
बालेनलाई प्रधानमन्त्री देख्न चाहने सबैभन्दा बढी,गगन दोस्रोमा
देशको भावी प्रधानमन्त्रीमा कसलाई देख्न चाहनुहुन्छ ? भन्नेमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नाम लिने सबैभन्दा धेरै भेटिए । यसरी बालेनको नाम लिनेमा सोवितालाई मत दिन्छु भन्ने मात्र होइन, भरतपुरमा गरेको कामका आधारमा रेनुलाई मत दिन्छु भन्नेहरू पनि थिए ।
बालेनलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहनेमा पुरुषको तुलनामा महिला बढी भेटिए ।

त्यसपछि दोस्रोमा मतदाताले नेपाली कांग्रेसका सभापति गगन थापालाई रोजे । गगनलाई रोज्नेमा पुरुष बढी थिए । एमाले र नेकपाका केही युवा मतदाताले पनि प्रधानमन्त्रीका रूपमा गगनलाई रोजे । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेलाई समान १२/१२ प्रतिशतले रोज्दा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री देख्न चाहने जम्मा ७ प्रतिशत भेटिए ।
नेकपाकी उम्मेदवार रेनुलाई मत दिन्छु भन्ने अधिकांशले प्रधानमन्त्रीमा प्रचण्डको नाम लिएनन् । यो तथ्यांकले पनि नेकपाको संगठनात्मक आधार कमजोर रहेको देखाउँछ । हर्क साम्पाङलाई ३ प्रतिशत र कुलमान घिसिङलाई १ प्रतिशतले प्रधानमन्त्रीका रूपमा देख्न चाहेको बताए ।
जनताको मुख्य अपेक्षा: भ्रष्टाचार अन्त्य
चितवन–३ का मतदाताले उम्मेदवारसँग राखेको मुख्य अपेक्षा ‘भ्रष्टाचार अन्त्य’ रहेछ ।

हामीले कुरा गरेकामध्ये ४० प्रतिशत मतदाताले भ्रष्टाचार निवारणलाई पहिलो प्राथमिकतामा राखे । त्यसपछि २१ प्रतिशतले सुशासन, १५ प्रतिशतले विकास निर्माण र १५ प्रतिशतले नीति निर्माणको अपेक्षा राखेको पाइयो । रोजगारी सिर्जनालाई भने ९ प्रतिशतले मात्र मुख्य एजेन्डा मानेको देखिन्छ ।

पुराना दलसँग रिसाउनुको कारणबारे सोध्दा धेरैले शुरूमै 'भ्रष्टाचार' भनेर जवाफ दिए । जेनजी आन्दोलनमा नेताका घरमा पैसा जलेको भन्ने मनोविज्ञानले समेत धेरैलाई प्रभावित पारेको पाइयो । रास्वपाका प्रतिबद्ध मतदातामध्ये अधिकांशले नीति निर्माणलाई मुख्य माने ।

त्यसो त, चितवन ३ मा रेनुको विकासप्रेमी छविलाई 'काउन्टर' दिन रास्वपाले आफ्नो उम्मेदवारलाई कानूनको ज्ञाताको रूपमा 'ब्रान्डिङ' गरिरहेको छ ।
'कन्फ्युज'मतदाता र दलका प्रतिबद्ध कार्यकर्ताको मतले बदल्न सक्छ गणित
चितवन ३ मा कांग्रेस, एमाले, नेकपा र राप्रपाले आफ्नो संगठनात्मक मत जोगाउन भरमग्दुर प्रयास गरिरहेका छन् । तर, ती दलका कार्यकर्ता भने आफ्नो दलले नजित्ने अवस्थामा कसलाई दिएमा 'आफूले नचाहेको उम्मेदवारलाई हराउन सकिन्छ' भन्ने हिसाबकिताब गरेर बसेको समेत पाइएको छ ।

कांग्रेस, एमाले र नेकपाका कार्यकर्ता रास्वपा समर्थकको अनावश्यक होहल्ला र सामाजिक सञ्जालमा पार्टी तथा नेतृत्वमाथि भएको आक्रमणबाट आजित रहेको पाइयो । पुराना दलका कैयन प्रतिबद्ध मतदाताले आफ्नो उम्मेदवारले नजित्ने अवस्थामा पुरानोमध्ये जसले जित्न सक्छ, उसैलाई मत दिने बताए ।
अघिल्लोपटक राप्रपाका विक्रम पाण्डेलाई जिताएका अधिकांशको मत पनि यसपटक परिवर्तन हुन लागेको पाइयो ।

चितवन ३ को राजनीतिलाई नजिकबाट बुझेका एक स्थानीय नेताले भने, 'नयाँ भनिएको दलको व्यवहारबाट आजित कार्यकर्ता पंक्तिको मनोविज्ञान हेर्दा अन्तिम समयमा गणित बदलिन सक्ने सम्भावना छ । पार्टीले सर्कुलर नै नगरे पनि अन्तिम समयमा पुराना भनिएका दलका प्रतिबद्ध कार्यकर्ता तथा मतदाताको मत कुनै एक उम्मेदवारतर्फ केन्द्रित नहोला भन्न सकिन्न ।'

अर्कातर्फ, 'सोविता र रेनुलाई दुवै ठीक हुन्, एकै ठाउँमा उठ्नु हुँदैनथ्यो' भन्ने मतदाता पनि धेरै भेटिए । यस्ता 'कन्फ्युज' मतदाताको मत पनि अन्तिम समयमा परिवर्तन हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

(यस क्षेत्रका मतदातासँगको कुराकानी समेटिएको चुनावी ग्राउन्ड जिरो अर्को अंकमा)
यो पनि पढ्नुहोस्
चितवन- १ को मनोविज्ञान : हरि ढकालले कामचाहिँ केही गरेनन्, तै पनि फेरि एकपटक हेरौं !