
विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन भैरहेको छ । बिहीबार बिहानदेखि देशभरि मतदान शुरू भएको हो ।
देशभरिका ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान शुरू भएको बीबीसी बंगलाले जनाएको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार मतदानको समय अपराह्न साढे ४ बजेसम्मका लागि तोकिएको छ । मतदानका लागि १२ करोड ७७ लाख मतदाता रहेका छन्।
संसद्को प्रतिनिधि छनोटसँगै जुलाई नेशनल चार्टरसम्बन्धी जनमतसंग्रहमा पनि मतदान भइरहेको छ । चुनावी मैदानमा ५० दलका १ हजार ७५५ जना उम्मेदवार छन् । त्यस्तै २७३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभाका कुल ३०० सिटमध्ये २९९ सिटमा निर्वाचन हुन लागेको हो । एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित गरिएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि देशभर करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको डेली स्टारले जनाएको छ । जसमध्ये १ लाख ३ जना सेना, ५ हजार नौसेना, ३ हजार ७३० वायुसेना, ३७ हजार ४५३ बोर्डर गार्ड बंगलादेश, ३ हजार ५८५ कोस्ट गार्ड, १ लाख ८७ हजार ६०३ प्रहरी, ९ हजार ३४९ र्यापिड एक्शन बटालियन, ५ लाख ७६ हजार ४८३ अन्सार तथा भीडीपी, १ हजार ९२२ बीएनसीसी क्याडेट तथा ४५ हजार ८२० चौकीदार र दफादार रहेका छन् ।
यसपालिको निर्वाचनमा मुख्यतः तारिक रहमान नेतृत्वको बीएनपी र जमात–ए–इस्लामी नेतृत्वका दुई प्रमुख गठबन्धनबीच प्रतिस्पर्धात्मक बनेको छ । कम्तीमा १ हजार ४०० जनाको ज्यान जाने गरी भएको दमनकारी कारबाहीमा संलग्न रहेको आरोपमा अवामी लिगलाई यस निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ।
सन् २०२४ को जुलाइमा शुरू भएको आन्दोलन हिंसात्मक बन्दा तत्कालीन प्रधानमन्त्री हसिना देश छाडेर भारत भागेकी थिइन् ।