
पहिलो कम्युनिस्ट सरकारका राज्यमन्त्री स्वर्गीय प्रेमसिंह धामीले (दार्चुला) केन्द्रीय सरकारलाई दार्चुलाको पीडा सुनाउँदै भनेका थिए, ‘काठमाडौंलाई कालापानी किन दुख्दैन ?’
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ९ सदस्यीय मन्त्रिपरिषद्मा आवास तथा भौतिक राज्यमन्त्री बनेका धामीलाई अहिले पनि दार्चुलाबासीले बिर्सेका छैनन् । उनै धामीले तत्कालीन समयमा टनकपुर र महाकाली सन्धिको विरोध गरेका थिए । तर, अहिले महाकाली नदीमा बनेको पुलले नै अधिकांश दार्चुलाबासीको दैनिकी सहज बनाएको छ । दार्चुलापारी भारतको उत्तराखण्ड अन्तगर्त पर्ने धार्चुला क्षेत्र छ । दार्चुला र धाचुर्लाबीच ‘रोटी–बेटी’को सुमधुर सम्बन्ध रहेको स्थानीय बताउँछन् ।
सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण जिल्ला दार्चुलाको सदरमुकाम खलंगा र अन्य पालिकाका बासिन्दा दैनिक जीवनमा आवश्यक पर्ने स–साना सामान खरिद गर्न पनि भारतको धार्चुला नै पुग्ने गरेका छन् ।
यसैबीच, यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको हावाले दार्चुलाबासीलाई पनि मज्जैले छोएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा विगतमा नेपाली कांग्रेस र एमालेबीच हुँदै आएको मुख्य प्रतिस्पर्धाले यसपटक पनि निरन्तरता पाउने देखिन्छ । उसो त नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि यहाँ उम्मेदवार उठाएका छन् । जिल्लामा ११ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
परम्परागत दुई शक्ति कांग्रेस र एमाले आफ्नो विरासत जोगाउने दाउमा देखिन्छन् भने नेकपा, रास्वपा र राप्रपा नतिजा उल्ट्याउने कसरतमा लागेका छन् । चुनावी मैदानमा कांग्रेसबाट नयाँ अनुहार धर्मानन्द जोशी, एमालेबाट पुरानै अनुहार एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, नेकपाबाट लक्ष्मणदत्त जोशी, रास्वपाबाट पूर्वशिक्षक राजेशसिंह सामन्त र राप्रपाबाट पूर्वकर्णेल राजेश चन्द छन् । चन्द नेपाल प्रहरीका पूर्वआईजीपी रमेश चन्द ठकुरीका भाइ हुन् ।
दार्चुलाका मतदाताले प्रतिस्पर्धीका रूपमा नबुझे पनि विप्लव नेतृत्वको नेकपाबाट नवराज भट्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गगन ठगुन्ना, आमजनता पार्टीबाट प्रेमसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमेश कुमार रावल र नेकपा संयुक्तबाट विद्यादेव जोशी पनि आ–आफ्नै ढंगले चुनावी घरदैलो गरिरहेका छन् । मतदातासँग मत मागिरहेका छन् ।
दार्चुलामा ९ वटा पालिका रहेका छन् । त्यसमध्ये दुई वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । ९ वटा स्थानीय तह महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, अपीहिमाल गाउँपालिका, दुहुन गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका र व्यास गाउँपालिका हुन् । कूल ८३ हजार १९४ मतदाता रहेको यो जिल्लामा पुरुष मतदाताको संख्या ४२ हजार २७६ र महिला मतदाताको संख्या ४० हजार ९१८ रहेको छ ।
२०७९ सालको निर्वाचनमा माओवादीसँग गठबन्धन गरेकाले कांग्रेसका दिलेन्द्र बडु निर्वाचित भएका थिए । एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका ठगुन्ना एक्लै लड्दा पनि २६ हजार ३८१ मत ल्याएका थिए । बडुले २८ हजार ५१५ मत ल्याएर विजयी भएका थिए ।

२०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका ठगुन्ना विजयी भएको इतिहास छ । ठगुन्नाको विजयी यात्रामा २०७९ सालको निर्वाचनमा ‘ब्रेक’ लागे पनि यो निर्वाचनमा उनी एमालेको विरासत फर्काउने दाउमा छन् । कांग्रेसले नयाँ उम्मेदवार उठाएको र यस पटक कुनै दलबीच गठबन्धन नभएकाले आफ्नो जित सहज रहेको एमालेको बुझाइ देखिन्छन् ।
दार्चुलामा एमालेको संगठन बलियो रहेको मतदाता बताउँछन् । प्रजातन्त्र आएयता भएका निर्वाचनमा भने राप्रपाले यो जिल्लामा जित हात पार्न सकेको छैन ।
कांग्रेसका उम्मेदवार जोशी शैल्यशिखर नगरपालिका–८ पपरथला निवासी हुन् । उनी कानूनी क्षेत्रमा दख्खल राख्ने बौद्धिक व्यक्तित्व भए पनि कांग्रेसभित्रको अन्तर्घातले मत ‘स्विङ’ हुने सम्भावना बलियो देखिन्छ । दार्चुलाकै कांग्रेसका नेताहरू नरेन्द्र सिंह धामी, हर्क विष्ट, पुलेन्द्र बहादुर कार्की उम्मेदवारका आकांक्षी थिए । तर जोशीले टिकट पाएपछि कांग्रेसभित्र एकखालको असन्तुष्टि देखिएको छ ।
यद्यपि, अहिले मतदाताको घरदैलो र प्रचारप्रसारमा चारै नेता सँगै हिँडिरहेका छन् । विगतमा पाएको मतका हिसाबले कांग्रेस दार्चुलामा ठूलो पार्टी देखिए पनि उम्मेदवार र आकांक्षीबीचको दूरी बढ्दा पार्टीभित्रै अन्तर्घात हुनसक्ने मतदाताको शंका छ ।
‘दिलेन्द्र बडुले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले नयाँ उम्मेदवारका रूपमा जोशीलाई उठाएको छ, यसअघिको चुनावमा कांग्रेसले नै जित हासिल गरेकाले जोशी मुख्य दाबेदार देखिन्छन्’, शैल्यशिखर नगरपालिका रघुबरसिंह धामीले लोकान्तरसँग भने,‘विगतदेखि नै एमाले र कांग्रेसको प्रतिस्पर्धा रहेको दार्चुलामा रास्वपाको खासै प्रभाव छैन ।’
शैल्यशिखरकै कमलसिंह धामी, शेरसिंह धामी, पदमसिंह धामी र नारायण जोशीले पनि लोकान्तरसँगको कुराकानीमा दार्चुलामा विगतदेखि नै कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुँदै आएको बताए । शैल्यशिखरका अम्बादत्त भट्टले भने, ‘सुदूरपश्चिमको खम्बा भनेको शेरबहादुर देउवा थिए, उनलाई पार्टीले टिकट नदिएपछि कार्यकर्तामा केही खल्लो महसुस पक्कै भएको छ । तर, यसले कांग्रेसको मतमा खासै असर पार्ने छैन । दार्चुलाबासीले फेरि पनि कांग्रेसलाई नै जिताएर पठाउँछन् ।’
शैल्यशिखरमा अझै पनि खानेपानीको समस्या देखियो । सोलारमार्फत् विद्युतीय माध्यमबाट लिफ्टिङ गरेर पानी ल्याए पनि पटकपटक सोलार पड्किँदा यहाँका सर्वसाधारणले दु:ख सहनुपरेको छ । गोकुलेश्वरश्वरदेखि पण्डेबाजसम्म जम्मा ९ किलोमिटर बाटोमा यात्रा गर्दा यहाँका सर्वसाधारणले प्रतियात्रु पाँच सय रूपैयाँ भाडा तिर्नुपरेको गुनासो गरेका छन् ।
मालिकार्जुनका बलदेवसिंह धामीले भने, ‘गोकुलेश्वरबाट पण्डेबाज आउन छोटो बाटो जम्मा ९ किलोमिटर पर्छ, तर भाडा पाँच सय रूपैयाँ तिर्नुपर्छ, सिधा बाटो जाँदा डेढ घण्टा लाग्छ, यो बाटो पटकपटक कालोपत्रे गर्न नेताहरूलाई भन्यौं, तर कसैले गरेनन् ।’
महाकाली नगरपालिका–४ का गौरसिंह ठगुन्नाका अनुसार, रास्वपाको मतले नै जित हारको फैसला गर्नेछ । ‘कांग्रेसले दिलेन्द्र बडुलाई टिकट दिएको भए जित निश्चित जस्तै थियो, जोशी नयाँ भएकाले यसै भन्न सकिन्न तर, प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुन्छ, असन्तुष्टको भोट कता जान्छ त्यसले पनि जित-हारको फैसला गर्छ ।’

निर्वाचनका लागि दार्चुलामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समिति दार्चुलाका अनुसार तोकिएकामध्ये २२ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा राखिएको छ । जिल्लामा रहेका १४३ मतदान केन्द्रमध्ये २२ अति संवेदनशील, ४१ संवेदनशील र ७८ सामान्य सूचीमा राखेर विभाजन गरिएको छ ।
तिंकर र छाङरुबासीले खलंगामै मत खसाल्ने
यो निर्वाचनमा व्यास गाउँपालिका–१ छाङरु र तिंकर गाउँका मतदाताले सदरमुकाम खलंगामा मतदान गर्नुपर्ने भएको छ । गत मंसिरमै दुवै गाउँका स्थानीय बसाइँसराइ गरेर खलंगा आएका कारण निर्वाचन खलंगामै हुने भएको हो ।
यी दुई गाउँका सर्वसाधारण ६ महिना खलंगा र ६ महिना आफ्नो थलोमा बस्छन् । दुवैतिर घर बनाएका छन् । पुसदेखि फागुनसम्मै हिउँ पर्ने भएपछि चौपायासहित खलंगा झर्छन् । सौका समुदायको बाहुल्यता रहेको छाङरुमा तीन सय ७५ र तिंकरमा दुई सय ४४ मतदाता छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा छाङरुको मतदान केन्द्रमा ३८३ र तिंकरमा २३४ जना मतदाता थिए ।
छाङरुका ७८ वर्षीय हरजित बुढाथोकी भन्छन्, ‘बाटोको ट्रयाक भर्खरै खोलिएको छ, तर गोरेटो हो, जाडो महिनामा हामी खलंगा झर्छौं, गर्मीमा उतै लाग्छौं, सरकारले नगरेको पनि होइन, तर मौसमकै कारण हामीलाई समस्या छ ।’
व्यास गाउँपालिकामा अझै मोटरबाटो नपुगेका कारण खलंगादेखि नै खाद्यान्न लैजानुपर्ने बाध्यता रहेको बुढाथोकी बताउँछन् । खलंगा आइपुगेपछि नजिकै छिमेकी मुलुक भारत रहेकाले त्यहीँबाट समान ल्याएर छाङरु र तिंकर लैजाने गरेको उनले बताए ।
लेकमको मतले निर्धारण गर्नेछ उम्मेदवारको भाग्य
दार्चुलामा लेकम भेग भनेर महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकालाई लिइन्छ । लेकम गाउँपालिका भए पनि यी दुई नगरपालिका र तीन गाउँपालिकालाई यहाँका बासिन्दाले लेकम भेग भनेर बुझ्छन् ।
सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा मतदाता छन् । १४ हजार तीन सय बढी मतदाता रहेको शैल्यशिखर, १३ हजार चार सय बढी मतदाता रहेको महाकाली, ११ हजार चार सय बढी मतदाता रहेको मालिकार्जुन र ९ हजार ८ सय बढी मतदाता रहेको लेकम गाउँपालिकाको मतले नै दार्चुलाका उम्मेदवारको भाग्य खुल्ने यहाँका मतदाता बताउँछन् ।

हाल उठेका उम्मेदवारमध्ये एमाले र नेकपाका उम्मेदवार महाकाली–५ का हुन् । रास्वपाका उम्मेदवार पनि महकाली–९ का हुन् । कांग्रेसका उम्मेदवार शैल्यशिखर–७ का र राप्रपाका उम्मेदवार लेकम–३ का स्थायी बासिन्दा हुन् ।
‘स्थानीय भोटलाई उम्मेदवारले कतिसम्म आफ्नो पोल्टामा पार्न सक्छन् त्यसले नै जित-हारको फैसला निर्धारण गर्छ’, शैल्यशिखर–८ का अम्बादत्त भट्टले भने, ‘रास्वपा र राप्रपाका उम्मेदवारले भोट काट्ने मात्रै हुन्, उनीहरूले एमालेको भोट काट्छ कि कांग्रेसको भन्ने मात्रै हो ।’
अचम्म कुरा त के छ भने २०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेका पाँच पालिका २०७९ सालको चुनावमा एमालेले आफ्नो पक्षमा पार्यो । माओवादीले पनि चारवटा पालिका जित्यो । एमालेका ठगुन्ना स्थानीय तहको चुनावमा एमालेले फर्काएको विरासतलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपयोग गर्ने रणनीतिस्वरूप प्रचारप्रसारमा व्यस्त छन् ।
नौगाड–१ मा ‘नो भोट’ अभियानमा सबै दल
जिल्लाको सदरमुकाम लगायत अन्य गाउँपालिकामा चुनावी सरगर्मी बढे पनि नौगाड–१ नाघुवस्तीमा भने अहिले ‘नो भोट’ अभियान चलिरहेको छ । प्रदेश गौरव आयोजनामा परेर पनि बाटो नबनाएको भन्दै सबै राजनीतिक दलले उक्त अभियान शुरू गरेका हुन् । सातदेखि आठ सय मतदाता रहेको यो ठाउँमा अझै पनि मोटरबाटो पुगेको छैन ।
मोटरबाटो नपुग्दा स्थानीयले धेरै सास्ती खेप्नुपरेको छ । नौगाडकै सिको गर्दै व्यास–२ राप्लाका बासिन्दाले पनि उक्त अभियान शुरू गरेका छन् ।
‘चुनावमा भोट माग्न आउँदा एउटा वाचा लिएर आउँछन्, जितेर गएपछि कहिल्यै गाउँ छिर्दैनन् । यो पटक हामी कसैले पनि कुनै पनि उम्मेदवारलाई मत नखसाल्ने निष्कर्षमा पुगेका छौं’, सदरमुकाम खलंगामा भेटिएका राप्लाका कृष्ण भट्टले भने ।