२२ जेठ २०८३, शुक्रबार
निर्वाचन सुरक्षा रणनीति

घुसपैठ र ‘सुरक्षा थ्रेट’को विश्लेषण गर्दै ‘हेभिवेट’ क्षेत्रमा विशेष निगरानी

फागुन २०, २०८२
काठमाडौं
घुसपैठ र ‘सुरक्षा थ्रेट’को विश्लेषण गर्दै ‘हेभिवेट’ क्षेत्रमा विशेष निगरानी

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको केही घण्टा बाँकी रहँदा ‘हेभिवेट’ उम्मेदवार रहेका क्षेत्रमा सुरक्षा निकायले विशेष निगरानी बढाएको छ । 

खासगरी झापा–५, सर्लाही–४, दाङ–२, सप्तरी–२, रुपन्देही–२, सप्तरी–३, सुनसरी–१ र रुकुमपूर्वमा सुरक्षा सतर्कता बढाइएको हो ।

यी निर्वाचन क्षेत्रमा मौन अवधिमा पनि दलीय गतिविधि बढ्ने, उम्मेदवारकै सुरक्षा चुनौती रहन सक्ने र आर्थिक चलखेल हुने आशंकामा सुरक्षा सतर्कता बढाइएको सुरक्षा स्रोतले जनाएको छ । 

गृहमन्त्री ओम प्रकाश अर्यालले बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत हेभिवेट उम्मेदवार उठेका क्षेत्रमा विशेष निगरानी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए । 

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार उम्मेदवारमाथि हुनसक्ने सुरक्षा थ्रेटलाई समेत विश्लेषण गरेर सुरक्षा तैनाथी बढाउन गृहमन्त्री अर्यालले निर्देशन दिएका छन् । 

गृहमन्त्री अर्यालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘उम्मेदवार खरिदबिक्रीका लागि पैसाको चलखेल हुनसक्छ  । उम्मेदवार बसेका ठाउँमै उच्छृङ्खल गतिविधि बढ्न सक्छ, यो विषयमा गम्भीर ढंगले विश्लेषण गर्नुहोला । आपसी मुठभेड हुनसक्ने भएकाले गोप्य सूचना राखी त्यही अनुसार सुरक्षाकर्मी परिचालन गर्नुहोला ।’

काठमाडौं र मधेश प्रदेशबाट सहज जितको आधार देख्दादेख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापाबाट उठ्नु सामान्य नभएको भन्दै उनीसहित रास्वपाका नेतामाथि सुरक्षा थ्रेट हुनसक्ने आँकलन अनुसार गृह मन्त्रालयले सुरक्षा निकायलाई अलर्ट रहन निर्देशन दिएको छ । 

null

अर्कोतर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि सुरक्षा थ्रेट रहेको सुरक्षा निकायको निष्कर्ष छ । केन्द्रीय सुरक्षा समितिको बैठकमा ठूला दलका उम्मेदवारमाथि हुनसक्ने सम्भावित ‘आक्रमण’ लगायत विषयमा समेत सुरक्षा निकाय अलर्ट रहनुपर्ने विषयमा गृहमन्त्री अर्यालले ध्यानाकर्षण गराएको उच्च स्रोतले बतायो ।

सर्लाही–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा  र रास्वपाका उम्मेदवार अमरेश कुमार सिंह मुख्य प्रतिस्पर्धी छन् । यो क्षेत्रमा पनि अवाञ्छित गतिविधि हुनसक्ने आँकलन गर्दै सुरक्षा निकायले सतर्कता बढाएका छन् । स्रोतले भन्यो, ‘दुवै उम्मेदवार हेभिवेट भएकाले त्यहाँ हुनसक्ने हरेक गतिविधिलाई निगरानी गर्न सुरक्षा सतर्कता बढाइएको छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार अहिले यी क्षेत्रमा सादा पोशाकमा व्यापक रूपमा सुरक्षाकर्मी खटाइएको छ । उम्मेदवारका गतिविधि, उनीहरूलाई भेट्न पुगेका व्यक्तिको गतिविधिमा समेत नजिकबाट निगरानी गरिएको छ । 

त्यस्तै, सप्तरी-२ मा पनि सुरक्षा सतर्कता बढाइएको छ । यो क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह र रामकुमार यादव मुख्य प्रतिस्पर्धी छन् । 

विगतमा एउटै दलमा रहेका राउत र सिंहबीच फुट हुनु सामान्य नरहेको र मतदाता तानातानमा हुनसक्ने चुनौतीलाई लिएर विशेष निगरानी गर्न गृहले सुरक्षा निकायलाई अलर्ट गराएको छ ।

null

स्रोतले भन्यो, ‘यो क्षेत्रसँगै रूपन्देही–२, सप्तरी–३, सुनसरी–१ र रुकुमपूर्वमा सुरक्षा सतर्कता बढाइएको छ ।’ 

बिहीबार नै गृहमन्त्री अर्यालले प्रहरी प्रधान कार्यालयको निर्वाचन व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय निर्वाचन सेलको निरीक्षण तथा अनुगमन गरेका छन् । 

प्रत्येक निर्वाचन क्षेत्रको सम्भव भएसम्म सीसीटीभीबाट निगरानी गर्ने र अवाञ्छित गतिविधि हुनसक्ने देखिएमा तत्काल एक्सनमा जान गृहमन्त्री अर्यालले निर्देशन दिएका  छन् । 

त्यसक्रममा गृहमन्त्री अर्यालले निर्वाचनको समयमा हुन सक्ने चुनौतीको सामना गर्न समेत अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन दिए । 

देशभर एआई फिचरसहित जडान भएका ७ सय ८६ वटा सीसीटीभीबाट निर्वाचन सुरक्षा व्यवस्थापन सम्बन्धी गतिविधि कमान्ड सेन्टरबाटै नै प्रत्यक्ष निगरानी हुनेछ । ७ वटा सीमा नाकाका २२ वटा, काठमाडौंभित्र मुख्य चेकप्वाइन्ट, चोक गरी ७ सय वटा तथा काठमाडौं बाहिर विराटनगर र वीरगञ्जमा ६४ वटा सीसीटीभी जडान गरिएको छ । 

देशभरका मतदानस्थल वरिपरि जडान गरिएका सीसीटीभी क्यामेराको कमान्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी गरी मतदानस्थलको गतिविधि अवलोकन गर्नुका साथै मतदानस्थललाई सुरक्षित राख्न समेत आवश्यक सुरक्षा रणनीति तर्जुमा गरिएको छ ।

त्यसो त निर्वाचन बिथोल्ने नाममा एक/दुई दिन यता भेटिएका शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गर्दै आएको छ । तर, बिथोल्ने शक्तिहरूले हदैसम्मको प्रयास गर्नेतर्फ सुरक्षा निकाय अलर्ट रहनुपर्ने विषयमा गृहमन्त्री अर्यालले सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् । 

null

अहिले हरेक निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली आपसी समन्वयमा खटिँदै आएका छन् ।  अहिले यी चार सुरक्षा निकायका एक लाख ९० हजार बढी सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । उनीहरूसँगै निर्वाचन सुरक्षार्थ एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी पनि खटाइएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ वटा मतदानस्थल तोकिएको छ । २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । 

निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटालाई संवेदनशील र तीन हजार ६८० वटालाई अतिसंवेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्