
‘साँच्चै सुनामी आयो । कुन बारी‚ कुन खेत‚ कुन कान्ला बगायो भन्ने नै पत्तो पाइएन‚’ २१ फागुनमा भएको निर्वाचनमा पार्टीले एकदमै निराशाजनक प्रदर्शन गरेपश्चात् नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले लोकान्तरसँग दिएको यो अभिव्यक्तिले कांग्रेसको धारणा बुझ्न सकिन्छ ।
मतगणना अझै सकिएको छैन । कांग्रेसले हालसम्म प्रत्यक्षमा १७ सिट मात्र जित्न सक्यो । मधेशमा नील हुँदा मोरङ‚ झापा‚ सुनसरी‚ काठमाडौं उपत्यकामा नील नै भयो । कांग्रेसलाई यो नतिजा अप्रत्यासित नै लागेको छ । ‘अप्रत्यासित नतिजा हो भन्नुपर्छ‚’ प्रवक्ता चालिसे थप्छन् ।
‘सय पार’को नारा लिएर कांग्रेस चुनावी मैदानमा होमिएको थियो ।
‘पुराना नेता फेलियर भए’ मात्र होइन, ‘देउवाको अनुहार लिएर चुनावी मैदानमा जान सकिँदैन’ भन्दै कांग्रेसले पुस अन्तिममा विशेष महाधिवेशन नै गर्यो ।
जेनजी विद्रोहको म्यान्डेटअनुसार पार्टी सुधार गरेको पनि उसको दाबी थियो । विशेष महाधिवेशनले एकदमै रुचाइएका तत्कालीन पार्टी महामन्त्रीद्वय गगन थापालाई पार्टी सभापति र विश्वप्रकाश शर्मालाई उपसभापति बनायो ।
अनुहार देखाउन सकिँदैन भनिएका तत्कालीन शीर्ष नेताहरू (सभापति शेरबहादुर देउवा, सारथीहरू पूर्णबहादुर खड्का‚ प्रकाशमान सिंह‚ विमलेन्द्र निधि‚ शशांक कोइराला)लाई पार्टी नेतृत्व पंक्तिबाट बाहिरै राखेर कांग्रेसको विशेष महाधिवेशन भयो ।
‘बदल्यौं कांग्रेस‚ बदल्छौं देश’ भन्ने मूल नारासहित १०६ नयाँ अनुहार लिएर चुनावमा गएको कांग्रेसले अनुकूल सफलता हासिल गर्न सकेन । यतिसम्म पहिरो गयो कि पार्टी सभापति थापा‚ महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा सहमहामन्त्रीहरू प्रकाश रसाइली‚ उदयशमशेर राणालगायत कुनै पनि पदाधिकारीले चुनाव जितेनन् । यो नेतापछि प्राय: नेता अवाक छन् । ‘सबै नतिजा आएपश्चात् कमेन्ट गर्न सकिएला । अहिले कुर्नुको विकल्प छैन‚’ कांग्रेस नेता रमेश लेखक भन्छन् ।
पार्टी प्रवक्ता चालिसे अप्रत्यासित नतिजा आउनुको कारणबारे केही दिनमै बैठक बस्ने र धारणा सार्वजनिक गर्ने बताउँछन् । ‘२-४ दिनमा बैठक बोलाइन्छ । वृहत् छलफल र आत्मासमीक्षापश्चात पार्टीले अप्रत्यासित नतिजाबारे धारणा सार्वजनिक गर्छ नै‚’ उनी भन्छन् ।

पराजयमा कांग्रेसले देखेका केही कारण
२३ र २४ भदौको जेनजी विद्रोहसम्म नेपाली कांग्रेस संसद्को पहिलो शक्ति थियो । २०७९ मा नेकपा (माओवादी केन्द्र)‚ नेकपा एकीकृत समाजवादी लगायत दलसँग चुनावी तालमेल गरेर कांग्रेसले ८९ सीट जित्न सफल भएको थियो । पार्टी सभापति र संसदीय दलको नेता थिए, शेरबहादुर देउवा ।
तर‚ जेनजी विद्रोहको मारमा उनै देउवा परे । उनको घरमा आगजनी भयो । श्रीमती तथा तत्कालीन परराष्ट्र मन्त्री आरजू राणासहित उनी निर्घात कुटिए । देउवाको घरमा अकुत पैसा रहेको र त्यो पैसा जलेको भन्दै भिडियोहरू सार्वजनिक भए । यद्यपि, यसको यथार्थ पुष्टि कुनै निकायले गर्न सकेका छैनन् ।
जेनजी विद्रोहअघि कांग्रेस सरकारमै थियो । एमालेसँग मिलेर उसले सत्ता सञ्चालन गरिरहेकै थियो । सामाजिक सञ्जाल बन्द गर्दा होस् या देशमा अन्य स-साना विषयमा पनि उसले जनतालाई दिक्क बनाइरहेकै थियो । त्यसैको नतिजा अहिले कांग्रेसले भोगेको विश्लेषण भइरहेको छ, जुन कुरालाई पार्टी उपसभापति विश्वप्रकाश शर्मा आफैंले स्वीकार गरेका छन् ।
शर्माले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत मतदाताको फैसला स्वीकार्य हुने बताएका थिए । उनले `बुलेट´बाट उदाएको माओवादीलाई स्वागत गरेको प्रसंग दोहोर्याउँदै `ब्यालेट´बाट आउँदै गरेको रास्वपालाई स्वागत गर्ने स्पष्ट पारेका थिए ।
‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनुहुन्न । देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ‚’ उनले भनेका थिए ।
निर्वाचन परिचालन समिति संयोजक समेत रहेका शर्माले शनिबार मात्र अन्य धारणा पनि सार्वजनिक गरेका छन् । १० मिनेटभन्दा लामो भिडियो सम्बोधनमा उनले पार्टी हार्नुका विभिन्न आयामहरू केलाएका छन् ।
नयाँ उदाएको दल रास्वपाले देशको नेतृत्व गर्ने गरी जनमत लिएर आउँदै गरेको भन्दै उनले यसलाई स्वागत गर्ने बताए । सँगै, कांग्रेस किन कमजोर भयो भन्ने विषय पनि समीक्षा हुने शर्माले उल्लेख गरेका छन् । ‘रास्वापामा व्यक्त भएको मत उसको पक्षमा कति हो, हाम्रो विपक्षमा कति हो भन्ने समीक्षा हुन्छ नै‚’ शर्माले भनेका छन् ।
शर्माको भनाइअनुसार यसलाई २०७९ सालको स्थानीय तह निर्वाचनको नतिजासँगै जोडेर हेर्नुपर्ने हुन्छ । धरान‚ काठमाडौं‚ धनगढीजस्ता शहरमा स्वतन्त्र मेयरको उदयले नै कांग्रेसलाई सच्चिनु भनेर सन्देश दिएको थियो । त्यसपश्चात् उदाएको दल रास्वपाले २०७९ को निर्वाचनमा राम्रो सिट ल्याउँदा पनि कांग्रेस सच्चिन नसकेको धारणा शर्माको छ ।
‘२०७९ को स्थानीय तहकै निर्वाचनमा मेजर शहरमा स्वतन्त्र उम्मेदवारलाई जिताएर दलको नेतृत्व बदल्न मतदाताको सन्देश थियो‚’ शर्माको भनाइ छ‚ ‘नेतृत्व नबदले हाम्रो मन बदलिँदैछ भन्ने सन्देश मतदाताले त्यसैबेला दिएका थिए ।’
कांग्रेसले समयमै महाधिवेशन गर्न नसक्नु‚ रुपान्तरणको गफ मात्र गर्नु र सरकारमा बस्दा पनि जनताको मन जित्ने काम गर्न नसक्नुलाई अहिलेको पराजयको प्रमुख कारक मानेको छ ।
यस विषयमा वृहत् समीक्षा हुने र पार्टीलाई सुधारमै लैजाने दाबी प्रवक्ता चालिसेको छ । ‘हामीलाई पर्याप्त संगठन सुधार गर्ने समय आएको छ‚’ उनी भन्छन् ।

त्यसो त पटक–पटक सत्तामा जानु‚ संसदीय व्यवस्थामा अस्वाभाविक पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनु गलत भएको कांग्रेस स्वीकार्छ । सामाजिक सञ्जाल विधेयक कर्मचारी विधेयकलगायत अन्य कानून निर्माणमा देखिएको ढिलासुस्ती‚ संविधान शंसोधनको वाचा पूरा गर्न नसक्नु तथा सरकारमा बस्दा जनताको मन जित्ने गरी काम गर्न नसक्नु नै पराजयको कारण भएको स्वीकार्छन्, उपसभापति विश्वप्रकाश शर्मा । ‘हामीले रुपान्तरण गर्न नसकेकै हो । सरकारमा बस्दा पनि हामीले काम गर्न सकेनौं‚’ उनले भनेका छन् ।
यतिमात्र होइन, भदौ २३ र २४ मा भएको जेनजीको सडक विद्रोह र मुभमेन्टलाई हेर्ने विषयमा कांग्रेस स्पष्ट हुन नसक्नु मात्र होइन, सोहीको बलमा भएको विशेष महाधिवेशनबाट पार्टी बदलिएको म्यासेज पब्लिकमा पुर्याउन र कनेक्ट गर्न नसक्नु पनि निर्वाचनमा पराजयको कारण भएको शर्माको भनाइ छ ।
‘रास्वपाको पपुलिजमको कुरालाई चिर्न सकिएन । हामीले नयाँ अनुहार दिए पनि जनतामा त्यसलाई स्थापित गर्न सकेनौं । देशमा भएका राम्रा कुरालाई राम्ररी बुझाउन सकिएन‚’ शर्माले थपे ।
विशेष महाधिवेशनबाट कांग्रेसभित्र पुराना र नयाँ नेताबीच विभाजनको रेखा नै कोरिएको थियो । त्यो विभाजित मनलाई पनि कांग्रेसले एक ठाउँमा राख्न सकेन ।
सभापति शेरबहादुर देउवालाई ‘खलनायक’ बनाएको भन्दै उनीनिकट नेताहरू रिसाए । अन्तरघात त कांग्रेसकै पुरानै रोग भइहाल्यो । निर्वाचन परिणाम आएपश्चात् अहिले सञ्जालमा यी विषयहरूमा पक्ष-विपक्षमा व्यापक बहस भइहरेको छ । उपसभापति शर्मा चाँडै केन्द्रीय समितिमा बस्ने र आत्मसमीक्षा गर्ने भन्दै यस्तो समयमा संयम भएर एकअर्कालाई आरोप नलगाई समीक्षा गर्नुपर्ने बताउँछन् ।
‘पराजयको जिम्मेवारी मेरो भागमा पनि पर्छ । नेतृत्वमा आएपश्चात् सम्पूर्ण दोष हामीले बोक्नुपर्छ, म बोक्न तयार छु‚’ उनी भन्छन् ।