
संसद्को अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसदीय बहसको आफ्नै काइदा–कानून र संहिता हुने बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले बहसमा प्रस्तुत हुने भाषा, शैली र अभिव्यक्तिले निश्चित मर्यादा, संस्कार र सभ्यताको परिधि खोज्ने उल्लेख गरे ।
‘यसको गरिमा र प्रभावकारिताको लागि असंसदीय शब्द वा अभिव्यक्तिलाई प्रचलनमा नल्याउन परिभाषित गरिएको छ‚’ उनले भने‚ ‘शिष्ट, मर्यादित र जिम्मेवार व्यवहारका साथ माननीय सदस्यहरूबाट यसको अनुपालन गरेर संसद्को मर्यादा, प्रभावकारिता र गरिमा बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
केसीले वाद, प्रतिवाद र संवाद नै लोकतन्त्रको आत्मा भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्ष यसको संरचनागत विशिष्टता उल्लेख गरे ।
‘देशका साझा मामिला र जनसरोकारका विषयमा दलीय सहमति र सहकार्य हुनुपर्ने कयौं विषय छन् । प्रतिपक्षको विरोधले सरकार सही बाटोमा चल्न रचनात्मक योगदान पुर्याउनुपर्छ‚’ उनले भने‚ ‘बहुविचारधारा, मौलिकता र निर्णयउन्मुख बहस संसद्को स्वाभाविक आकर्षण मानिन्छ ।’