
नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा 'बादल' तथा महासचिव शंकर पोखरेल र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका नेताहरूबीचको छलफलमा नोकझोक भएको छ ।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्ररी पराजय भोगेपश्चात् एमालेमा नेतृत्व परिवर्तन गर्न दबाब दिँदै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइएको छ । अभियान रोक्नका लागि कार्यवाहक अध्यक्ष थापा र महासचिव पोखरेलले दबाब दिएका नेताहरूले बताएका छन् ।
कार्यवाहक अध्यक्ष थापासँग संवाद गर्न पार्टी बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, भ्रातृ संस्था अनेरास्ववियुका उपमहासचिवद्वय कमल जोशी र उपेन्द्र शाही पार्टी कार्यालय च्यासल पुगेका थिए ।
उनीहरूलाई थापा आफैंले संवादका लागि बोलाएका थिए ।
उक्त छलफलमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी भएका थिए । छलफलकै क्रममा उनीहरूबीच नोकोझक भएको हो । महासचिवलगायत नेताहरूले अन्तिममा फोटो खिच्न समेत नमानेका बैठकमा सहभागी एक नेताले बताए ।
छलफलमा बोलाएर कार्यवाहक अध्यक्ष र महासचिव पोखरेलले विशेष महाधिवेशनका लागि भइरहेको हस्ताक्षर अभियान रोक्न आग्रह गरेका थिए ।
पार्टीको अहिलेको अवस्थाबारे केन्द्रीय कमिटी बैठकबाटै समीक्षा र निर्णय गर्ने भन्दै जुनसुकै हालतमा हस्ताक्षर अभियान रोकिदिन उनीहरूले भनेका छलफलमा सहभागी एक नेताले लोकान्तरलाई जानकारी दिए । ‘जवाफमा हामीले हस्ताक्षर अभियान रोकिँदैन । तपाईंहरूले केन्द्रीय समितिबाट विशेष महाधिवेशनको पक्षमा निर्णय गरेमात्र हामी सहमत भएर आउँछौं भन्यौं‚’ ती नेताले भने‚ ‘त्यसपश्चात् नोकझोक शुरू भयो।’
विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूलाई कार्यवाहक अध्यक्ष बादलले हस्ताक्षर नरोके दबाइदिने चेतावनी दिएका थिए । ‘हस्ताक्षर रोक्नुहोस् नभए हामी दबाउन पनि सक्छौं भन्नुभयो‚’ ती नेताले भने‚ ‘त्यसपश्चात् हामीले पनि जवाफ फर्कायौं।’
जवाफमा विशेष महाधिवेशन पक्षधर नेताहरूले बादललाई त्यत्रो जनयुद्ध लडेर आएको, गणतन्त्रका लागि राज्यसँग संघर्ष गरेको नेताले पार्टी रुपान्तरणका लागि भएको हस्ताक्षर अभियान दबाउन मिल्छ भन्दै प्रश्न गरेका थिए ।
नोकझोक बढ्दै गएपछि महासचिव शंकर पोखरेल बोल्न थालेका ती नेताले बताए । ‘हामीले भनेको कुरा मान्नुहोस् । हामी केन्द्रीय समितिबाट निर्णय गर्छौं, छलफल गर्छौं भनेर महासचिवले भन्नुभयो‚’ ती नेताले थपे‚ ‘तर हामीले हस्ताक्षर अभियान नरोकिने निर्णय सुनायौं।’
नोकझोककै क्रममा विशेष महाधिवेशन पक्षधर नेताहरूले संसदीय दलको नेता चयनको विषय पनि उठान गरेका थिए । ‘संसदीय दलको नेता छान्दा के भयो ? कसरी सुहाङको पक्षमा प्रस्तावक र समर्थक भेटिएन भनेर हामीले रुपान्तरणको प्रश्न उठायौं‚’ उनले भने ।
पार्टी नेताहरूको रवैयाका कारण पार्टी कमजोर भएको र वर्तमान अवस्था आएको भन्दै युवा नेताहरूले नेतृत्वलाई सचेत गराका थिए । ‘यत्रो परिस्थिति र अहिलेको अवस्था आउँदा जनताले तपाईंहरूलाई नरुचाउँदा पनि तपाईंहरू नचेत्ने भन्दै हामीले निरन्तर भन्यौं‚’ ती नेताले थपे‚ ‘महासचिवले भने विषय जायज भए पनि परिस्थिति र वर्तमान अवस्था त्यस अनुरूप नभएको भन्दै हामीलाई सम्झाउन खोज्नुभयो ।’
ती नेताका अनुसार छलफलपश्चात् उठ्ने बेला फोटो खिच्न अनुरोध गरिएको थियो । जवाफमा महासचिव शंकर पोखरेलले फोटो खिच्न इन्कार गरेका ती नेताले जानकारी दिए । ‘उहाँहरू फोटो खिच्न समेत मान्नुभएन । महासचिवले त जनताले नरुचाएको भनेको होइन, हामीलाई किन फोटो खिच्ने भन्नुभयो‚’ ती नेताले थपे‚ ‘हामीले किन समीक्षा नगरेको र परिस्थिति स्वीकार किन नगरेको भन्दै प्रश्न गर्यौं।’
अन्त्यसम्म पनि पार्टी पुनर्गठन हुने भन्दै कार्यवाहक अध्यक्ष, उपाध्यक्ष तथा महासचिवले हस्ताक्षर अभियान रोकिदिन अनुरोध गरिरहेका ती नेताले लोकान्तरसँग बताए ।