०३ साउन २०८३, आइतबार

दीपक साहलाई पदमुक्त गरेका बालेनले आफैंसँग राखे श्रम मन्त्रालयको जिम्मेवारी

चैत २६, २०८२
काठमाडौं
दीपक साहलाई पदमुक्त गरेका बालेनले आफैंसँग राखे श्रम मन्त्रालयको जिम्मेवारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उक्त मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् ।

रिक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्त नगरेर बालेनलाई उक्त मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार अब प्रधानमन्त्री बालेनले रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नेछन् ।

अन्य मन्त्रीको भने जिम्मेवारी हेरफेर भएको छैन । 

विवादमा मुछिएपछि श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले बिहीबार पदमुक्त गरेका थिए । 

null

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसअनुसार मन्त्री साहलाई पदमुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

साह यही चैत १३ गते  मन्त्री नियुक्त भएका थिए । मन्त्री बनेको १४ दिनमै उनी पदमुक्त भएका हुन् । 

यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो ।

मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए ।

सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । 

रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ । 

साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो ।

यसैगरी, यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्री शाहसमक्ष सिफारिस गरेका छन् ।

सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसकेका प्रेस विज्ञ दाहालले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्