
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले शुक्रबार गगनयान मिशनको तयारीको सिलसिलामा दोस्रो एकीकृत एअर ड्रप परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। श्रीहरिकोटास्थित सतिश धवन अन्तरिक्ष केन्द्रमा गरिएको यो परीक्षण भारतको मानव अन्तरिक्ष उडान लक्ष्यका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा मानिएको छ।
परीक्षणका क्रममा भारतीय वायुसेनाको चिनुक हेलिकप्टरले ५.७ टन तौल भएको मानव रहित 'क्रु मोड्युल' लाई करिब ३ किलोमिटरको उचाइमा लगेर समुद्रमा खसालेको थियो । ओर्लने क्रममा १० वटा प्यारासुटहरू एकपछि अर्को गर्दै निश्चित समयमा खुलेका थिए, जसले मोड्युलको गतिलाई सुरक्षित रूपमा कम गराएका थिए। त्यसपछि भारतीय नौसेनाको सहयोगमा उक्त मोड्युललाई समुद्रबाट सफलतापूर्वक निकालिएको थियो।
केन्द्रीय मन्त्री जितेन्द्र सिंहले गगनयान मिशन अर्को वर्षसम्ममा हुने आशा व्यक्त गरेका छन्, तर प्राविधिक जटिलता र विगतका केही ढिलाइले गर्दा यो समयतालिका निकै चुनौतीपूर्ण देखिन्छ ।