०४ साउन २०८३, सोमबार

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

बैशाख ३, २०८३
काठमाडौं
दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुरले दाइजो लेनदेन हुने कुनै पनि विवाह उत्सवमा आफू सहभागी नहुने घोषणा गरेकी छन् । पछिल्लो समय प्राप्त भइरहेका विवाहका निमन्त्रणापत्रहरूमा 'दहेजमुक्त विवाह'को प्रतिबद्धता नदेखिएको भन्दै उनले दाइजो लेनदेन हुने कुनै पनि विवाह उत्सवमा आफू सहभागी नहुने घोषणा गरेकी हुन् । 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा अझै पनि समाजमा गम्भीर समस्याका रूपमा जड गाडेर बसेकोमा चिन्ता व्यक्त गरेकी छन् । 'दाइजो लिनु र दिनु मात्र होइन, यस्तो लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु र त्यस्ता भोजभतेरमा सहभागी हुनु पनि सामाजिक तथा कानुनी रूपमा दण्डनीय छ,' उनले उल्लेख गरेकीछन् ।

उपसभामुख ठाकुरले समाज परिवर्तन र देश विकासका लागि कुरीतिविरुद्धको लडाइँ व्यक्तिगत स्तरबाटै शुरू हुनुपर्नेमा जोड दिएकी छन् । उनले भनेकी छन्, 'व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ । त्यसैले दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु ।'

उनले अब उप्रान्त विवाहका निमन्त्रणापत्र छाप्दा त्यसमा स्पष्ट रूपमा 'दहेज मुक्त विवाह' वा 'दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो' भन्नेजस्ता सचेतनामूलक सन्देश समावेश गर्न समेत सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्दै दाइजोमुक्त समाज निर्माणका लागि ठोस पाइला चाल्न उनले सबैलाई आह्वान गरेकी छन् । 

यस्तो छ उनको भनाइ

सबैमा नमस्कार,
हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनै पनि कार्डमा 'दहेज मुक्त विवाह' भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन। यसले हाम्रो समाज अझै दाइजोजस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।

दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ।

यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिविरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको शुरूआत हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।

यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं।

अत: विवाह निमन्त्रणापत्रमा दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु।
आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं।
धन्यवाद।
रुविकुमारी ठाकुर
उपसभामुख

salt training

कमेन्ट गर्नुहोस्