०३ साउन २०८३, आइतबार

युरेनियम भण्डार अमेरिकालाई बुझाउन इरान सहमत भएको ट्रम्पको दाबी

बैशाख ४, २०८३
काठमाडौं
युरेनियम भण्डार अमेरिकालाई बुझाउन इरान सहमत भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा एक ऐतिहासिक मोड आउन लागेको दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान आफ्नो सम्पूर्ण संवर्धित युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न सहमत भएको दाबी गरे । 

उनको यो दाबी यदि सत्य साबित भएमा यसले मध्यपूर्वको राजनीति र विश्वव्यापी ऊर्जा सुरक्षामा आमूल परिवर्तन ल्याउने विश्वास गरिउको छ । यद्यपि, पाकिस्तानमा भएका वार्ताहरू र रणनीतिक दाउपेचले भने परिस्थिति अझै ग्रे जोनमा रहेको संकेत गर्छन् ।

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिका र इरान शान्ति सम्झौताको निकै नजिक छन् । उनले भनेका छन्, 'वार्ता सफलतापूर्वक अगाडि बढिरहेको छ। यदि सम्झौता भयो भने इरानले आफ्नो युरेनियम भण्डार अमेरिकालाई बुझाउनेछ, तेल आपूर्ति पुनः शुरू हुनेछ र स्थिति सामान्य बन्नेछ।'

युरेनियमलाई शुद्धीकरण गरेर आणविक ऊर्जा र परमाणु बम दुवै बनाउन सकिन्छ। अन्तर्राष्ट्रिय प्रतिवेदनहरूका अनुसार इरानसँग हाल ५ देखि ६ टन संवर्धित युरेनियम छ, जसमा १२०-१३० किलोग्राम त घातक मानिने ६० प्रतिशतसम्म शुद्ध पारिएको युरेनियम रहेको अनुमान छ। यो भण्डार अमेरिकालाई बुझाउनुको अर्थ इरानले आफ्नो आणविक हतियार निर्माणको क्षमता पूर्ण रूपमा त्याग्नु हो।

ट्रम्पले सम्झौता भएमा आफू पाकिस्तान भ्रमणमा जान सक्ने बताए । यसअघि इस्लामावादमा भएको २० घण्टा लामो वार्ता भने 'अनिर्णीत' समाप्त भएको थियो । 

हाल देखिएको युद्धविरामलाई धेरैले स्थायी शान्ति भन्दा पनि अर्को तयारीका लागि लिइएको समयका रूपमा हेरेका छन्। वासिङ्टनस्थित थिंक ट्याङ्कका अनुसार दुवै पक्षका नीतिहरू यति भिन्न छन् कि युद्धले ती खाडल पुर्नुको साटो झन् बढाएको छ।

यदि औपचारिक वार्ता सफल भएन भने, दुवै पक्ष नियन्त्रित तनावको स्थितिमा फर्कनेछन्। यसमा सीधा युद्ध नभई प्रोक्सी समूहहरू (जस्तै यमनका हुथी वा इराकी लडाकु) मार्फत एकअर्कामाथि आक्रमण गर्ने र सैन्य आधारहरूलाई लक्षित गर्ने कार्य जारी रहनेछ।

ट्रम्पले इरानमाथि समुद्री नाकाबन्दी लगाउने रणनीति पनि अघि सारेका छन्। यसअन्तर्गत होर्मुजको जलडमरूमबाट हुने तेल व्यापार रोकेर इरानको अर्थतन्त्रलाई धराशायी बनाउने र चीनजस्ता ठूला खरिदकर्तालाई दबाब दिने योजना छ। तर, यसले विश्वव्यापी तेलको मूल्य ह्वात्तै बढाउने र अमेरिका आफैँलाई सैन्य रूपमा जोखिममा पार्ने खतरा पनि उत्तिकै छ।

पाकिस्तानको प्रयास विफल भए पनि कतार, ओमान, साउदी अरेबिया र इजिप्टजस्ता मध्यस्थकर्ताहरू पर्दा पछाडि सक्रिय छन्। अमेरिकाको १५ बुँदे प्रस्ताव र इरानको १० बुँदे प्रति-प्रस्तावबीचको सन्तुलन मिलाउन अझै समय लाग्ने देखिन्छ।

यसैबीच, इजरायल र लेबनान १० दिनको युद्धविराममा सहमत भएका छन्, जसलाई सकारात्मक मानिएको छ। तर, इजरायलले इरानसँगको कुनै पनि सम्झौतालाई शंकाको नजरले हेरिरहेको छ। विश्लेषक हमिदरेजा अजीजीका अनुसार, इजरायलले इरानी अधिकारीहरूलाई लक्षित गर्ने रणनीति अपनाएर वार्ताको वातावरण बिथोल्न सक्ने सम्भावना पनि रहन्छ।

अहिले मध्यपूर्व यस्तो चरणमा छ जहाँ युद्ध र शान्ति बीचको रेखा धमिलो भएको छ। इरान र अमेरिका अहिले यस्तो 'ग्रे जोन' मा छन् जहाँ वार्ता र सैन्य कारबाही सँगसँगै चलिरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्