०४ साउन २०८३, सोमबार

आकाशमै कसरी ठोक्किए दक्षिण कोरियाका लडाकू विमान ?

बैशाख ९, २०८३
काठमाडौं
आकाशमै कसरी ठोक्किए दक्षिण कोरियाका लडाकू विमान ?

दक्षिण कोरियाली अधिकारीहरूले सन् २०२१ मा दुई लडाकू विमान आकाशमै ठोक्किनुको कारण सार्वजनिक गरेका छन् । उनीहरूका अनुसार पाइलटहरूले तस्वीर र भिडियो खिच्न खोज्दा विमान ठोक्किएका थिए । 

राजधानी सिओलस्थित लेखापरीक्षण तथा निरीक्षण बोर्डका अनुसार उक्त घटना केन्द्रीय शहर डेगुमा उडान अभ्यासका क्रममा भएको थियो ।

घटनामा पाइलटहरू सकुशल रहेका थिए, तर विमानमा क्षति पुग्दा करिब ८८ करोड वन (करिब ५ लाख ९६ हजार अमेरिकी डलर) बराबरको मर्मत खर्च भएको जनाइएको छ ।

घटनामा संलग्न एक पाइलट (जो पछि सैन्य सेवाबाट बाहिरिएका छन्)लाई ८ करोड ८० लाख वन जरिवाना गरिएको छ । उनले आफ्नो अन्तिम उडानलाई सम्झनाका रूपमा राख्न तस्वीर खिच्न चाहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार त्यतिबेला महत्त्वपूर्ण उडानका क्रममा तस्वीर खिच्नु पाइलटहरूबीच सामान्य अभ्यासकै रूपमा रहेको थियो । ती पाइलटले उडानअघि नै यसबारे जानकारी गराएका थिए ।

उनी सहायक (विङम्यान) विमान उडाइरहेका थिए र मुख्य विमानलाई पछ्याइरहेका थिए । आधार शिविर फर्किने क्रममा उनले आफ्नै मोबाइल फोन प्रयोग गरी तस्वीर खिच्न थाले ।

यो देखेपछि मुख्य विमानका पाइलटले आफ्नो विमानमा रहेका अर्का पाइलटलाई सहायक विमानको भिडियो खिच्न भने । त्यसपछि सहायक पाइलटले राम्रो दृश्य लिन विमानलाई एक्कासी माथि उडाएर घुमाए, जसले दुई विमानलाई अत्यन्त नजिक ल्यायो ।

ठोक्किनबाट जोगिन मुख्य विमानले तीव्र रूपमा तल झर्ने प्रयास गरे पनि अन्ततः दुवै एफ-१५के विमान आपसमा ठोक्किए । यस क्रममा मुख्य विमानको बाँया पखेटा र सहायक विमानको पुच्छर भागमा क्षति पुगेको थियो ।

दक्षिण कोरियाली वायुसेनाले उक्त सहायक पाइलटलाई निलम्बन गरेको थियो, जो पछि वाणिज्यिक एयरलाइन्समा काम गर्न गएका छन् ।

वायुसेनाले मर्मत खर्च बराबर ८८ करोड वन जरिवाना माग गरेपछि पाइलटले त्यसविरुद्ध अपिल गरेका थिए, जसपछि विस्तृत अनुसन्धान गरिएको थियो ।

पाइलटले आफ्नो चालका कारण दुर्घटना भएको स्वीकार गरे पनि मुख्य पाइलटले भिडियो खिचिँदै गरेको जानकारी भएकाले मौन सहमति दिएको तर्क गरेका थिए ।

अन्ततः लेखापरीक्षण बोर्डले पाइलटले मागिएको रकमको केवल दशौं भाग मात्र तिर्नुपर्ने निर्णय गरेको छ । बोर्डले वायुसेनाले पाइलटहरूको व्यक्तिगत क्यामेरा प्रयोगलाई उचित रूपमा नियमन नगरेकोमा आंशिक जिम्मेवारी लिनुपर्ने पनि जनाएको छ ।

साथै, पाइलटको अघिल्लो सेवा अभिलेख राम्रो रहेको र दुर्घटनापछि उनले विमानलाई सुरक्षित रूपमा आधारमा फर्काउन सफल भएको पक्षलाई पनि ध्यानमा राखिएको छ ।

प्रतिवेदनमा घटनामा संलग्न अन्य पाइलटहरूविरुद्ध कुनै कारबाही भएको वा नभएकोबारे भने उल्लेख गरिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्