
नेपाली कांग्रेसले पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई विनासर्त रिहा गर्न माग गरेको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार विज्ञप्ति जारी गर्दै नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट, विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल बीसीलगायतलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
'नेपाली कांग्रेस स्पष्ट रूपमा विश्वास गर्दछ कि असहमति र विरोध लोकतन्त्रको अभिन्न अङ्ग हुन्, जसलाई दमन गर्ने होइन, संवाद र सहकार्यका माध्यमबाट सम्बोधन गरिनुपर्छ,' जारी विज्ञप्तिमा भनिएको छ, 'अतः नेपाली कांग्रेस सम्बन्धित निकायसँग माग गर्दछ । पक्राउ परेका नेपाल विद्यार्थी संघका नेताहरूलाई विनासर्त तत्काल रिहा गरियोस् र भविष्यमा नागरिकहरूको मौलिक अधिकारमाथि कुनै प्रकारको अतिक्रमण गर्ने कार्य बन्द गरियोस् ।'
नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसको दाबी छ ।
असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मान्यता एवं संविधानको मर्म विपरीत रहेको कांग्रेसले जनाएको छ ।
