०३ साउन २०८३, आइतबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : संसद् छलेर अध्यादेशदेखि यस्ता छन् मुख्यमुख्य घटनाक्रम

बैशाख १६, २०८३
काठमाडौं
सरसर्ती २४ घण्टा : संसद् छलेर अध्यादेशदेखि यस्ता छन् मुख्यमुख्य घटनाक्रम

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ । 
सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

संवैधानिक परिषद् काम कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधानसमबन्धी दुई अध्यादेश जारी गर्न सरकारले सिफारिश गरेको स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २ अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग सिफारिश गरेको हो ।

मंगलबार दिउँसो अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को पत्र आएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षीले विरोध समेत गरेका छन् । 
००००
संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।
त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टीयू गेटसम्म मंगलबार मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
००००
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
००००
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले  एक सूचना जारी गर्दै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सर्तकर्ता अपनाउन अनुरोध गरेको हो ।
००००
वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँचपास रोकिएको छ । भन्सार विन्दुमा आउने सामान तथा स्वदेशमा उत्पादन हुने सामानमा अनिवार्य अधिकतम खुद्रा मूल्य कार्यान्वयन गर्न खोज्दा आयातकर्ता तथा स्वदेशी उत्पादनकर्ताले जाँचपास रोकेका हुन् ।
००००
नेपालमा सरकारी गाडी दुरुपयोगको विषय नौलो होइन । गाडी चढ्ने अधिकार सहसचिव र त्यसभन्दा माथिल्लो ओहदाकाहरूलाई मात्रै छ । 
तर, वर्षौंदेखि उपसचिव, शाखा अधिकृत, कतिपय ठाउँमा त नायब सुब्बाहरूले पनि सिंगल(सिंगल सरकारी गाडी चढ्दै आएका थिए– खर्च मन्त्रालयकै कोषबाट व्यहोर्ने गरी ।
यो वर्षौंदेखिको दीर्घरोग हो । तर, २०८३ वैशाख १० गतेको एउटा निर्देशनले सबथोक बदलिदिएको छ ।
००००
जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी सेवा वितरण हुने जानकारी दिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्दै प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी वितरण सेवा हुलाकमार्फत नागरिकको घरदैलोमा र्पुयाउन काठमाडौँ प्रशासन र गोश्वारा हुलाक कार्यालय, काठमाडौँबीच सम्झौतापत्रमा हस्ताक्षर भई कार्य सुरु गरिएको हो ।
००००
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले संसद अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउन खोज्नुलाई अलोकतान्त्रिक कदमको संज्ञा दिएका छन् । 
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता आङ्देम्बेले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले संसदलाई उपेक्षा गरेर अध्यादेशको बाटो रोज्नु दुःखद र गम्भीर भएको बताएका हुन् । सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
००००
न्याय परिषद् सचिवालयका सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा मंगलबार बसेको न्याय परिषद्को बैठकले थपलियालाई न्यायाधीशमा नियुक्त गरेको हो ।
००००
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिइएको छ ।

ढकाललाई अर्थ मन्त्रालयले मंगलबार महानिर्देशकको जिम्मेवारी दिएको हो । उनी यस अघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए ।
००००
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग गैरसंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता डा प्रेमराज सिलवालले दायर गरेको रिट मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
००००
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । 
बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा ४६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ५ बाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
००००
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानूनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेकाहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया शुरू गरेको छ ।
मंगलबारसम्म विभिन्न मन्त्रालय, निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
००००
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन नै चुनावमा पार्टी पराजयको मुख्य कारण भएको दाबी गरेका छन् ।
कांग्रेस विभाजित मनस्थितिमा हुँदा रास्वपाले भारी बहुमत ल्याएको उनको विश्लेषण छ ।
००००
आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाली बजार’को प्रिमियर स्थगित गरिएको छ ।
उच्च अदालत पाटनले ‘लाली बजार’को प्रदर्शनमा रोक लगाएसँगै आजको प्रिमियर स्थगित गरिएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिएका छन् ।
००००
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ ।
मंगलबार ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्