०६ साउन २०८३, बुधबार

सुकुम्वासीका मुद्दामा कांग्रेसको चारबुँदे निर्णय: राहत, अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड

बैशाख २१, २०८३
काठमाडौं
सुकुम्वासीका मुद्दामा कांग्रेसको चारबुँदे निर्णय: राहत, अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड

नेपाली कांग्रेसले सुकुम्वासी बस्तीबाट विस्थापित गरी होल्डिङ सेन्टर र अस्थायी आश्रयमा राखिएका नागरिकको अवस्था अमानवीय र कष्टकर बनेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रभावित नागरिकको मानव अधिकार संरक्षण र आधारभूत आवश्यकता सुनिश्चित गर्न चारबुँदे विशेष निर्णय सार्वजनिक गरेको हो।

निर्णयअनुसार, होल्डिङ सेन्टरमा रहेका नागरिकको स्वास्थ्य, खाद्यान्न, खानेपानी र सुरक्षाको अवस्था बुझ्न तत्काल विशेष अनुगमन टोली गठन गरिनेछ। उक्त टोलीले स्थलगत अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्ने र त्यसका आधारमा पार्टीले थप कदम चाल्ने जनाएको छ।

कांग्रेसले राज्यले आफ्नै नागरिकलाई आश्रयविहीन बनाएर कैदीसरह राख्नु लोकतान्त्रिक मूल्यविपरीत भएको ठहर गर्दै वास्तविक सुकुम्वासीको पहिचान र प्रमाणीकरण गरी उनीहरूलाई सुरक्षित र दीर्घकालीन आवासमा ससम्मान स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

‘नागरिकलाई सुरक्षा र अभिभावकत्व प्रदान गर्नु राज्यको दायित्व हो, त्रास सिर्जना गर्नु होइन’ भन्ने धारणा पार्टीले अघि सारेको छ।
यस्तै, अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्नु आफ्नो मूल जिम्मेवारी भएको उल्लेख गर्दै कांग्रेसले सबै तहका पार्टी संरचना, भ्रातृ तथा शुभेच्छुक संस्थालाई राहत अभियानमा सक्रिय हुन निर्देशन दिएको छ।

 होल्डिङ सेन्टर र अस्थायी शिविरमा रहेका परिवारलाई खाद्यान्न, लत्ताकपडा, औषधि लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन कार्यकर्तालाई आह्वान गरिएको छ।

कांग्रेसले विस्थापित सुकुम्वासीको आत्मसम्मान र मौलिक अधिकारको रक्षाका लागि संसद र सडक दुवै माध्यमबाट दबाब जारी राख्ने स्पष्ट पारेको छ। साथै, कानुन कार्यान्वयनका नाममा हुने कुनै पनि अमानवीय व्यवहारविरुद्ध सशक्त कानुनी र नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्