०६ साउन २०८३, बुधबार
मध्यपूर्वमा बढ्दो तनाव

हर्मुजमा अमेरिका र इरानबीच क्षेप्यास्त्र र ड्रोन हानाहान : ट्रम्प भन्छन्- युद्धविराम अझै कायम छ

बैशाख २५, २०८३
काठमाडौं
हर्मुजमा अमेरिका र इरानबीच क्षेप्यास्त्र र ड्रोन हानाहान : ट्रम्प भन्छन्- युद्धविराम अझै कायम छ
इरानको तेहरानमा मे ६ मा एक र्‍यालीमा सहभागी मानिसहरू । तस्वीर : (West Asia News Agency) via REUTERS

एक महिना लामो युद्धविरामबीच अमेरिका र इरानबीच बिहीबार गम्भीर मुठभेड भएको छ। यो घटनालाई युद्धविरामपछिको सबैभन्दा ठूलो परीक्षण मानिएको छ। इरानले हाल स्थिति सामान्य रहेको बताएको छ भने अमेरिकाले तनाव बढाउने आफ्नो कुनै चाहना नरहेको स्पष्ट पारेको छ।

इरानी सेनाका अनुसार अमेरिकाले हर्मुज जलमार्गमा प्रवेश गर्ने दुई जहाजलाई निशाना बनाउनुका साथै इरानी क्षेत्रमा आक्रमण गरेको छ। यता अमेरिकी सेनाले भने इरानी आक्रमणको जवाफमा मात्र आफूले गोली चलाएको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एबीसीका एक रिपोर्टरलाई संक्षिप्त प्रतिक्रिया दिँदै युद्धविराम अझै कायम रहेको बताए। उनले यस सैन्य मुठभेडलाई कम महत्त्व दिने प्रयास गरेका छन्। रोइटर्सका अनुसार, वासिङ्टनले युद्ध रोक्ने तर इरानको आणविक कार्यक्रमजस्ता विवादास्पद मुद्दाहरूलाई हाललाई थाती राख्ने प्रस्तावमा इरानको प्रतिक्रिया पर्खिरहेकै समयमा यो नयाँ तनाव उत्पन्न भएको हो।

इरानको शीर्ष संयुक्त सैन्य कमाण्डले अमेरिकामाथि इरानी तेल ट्याङ्कर र अन्य जहाजलाई लक्षित गरी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। साथै, हर्मुजको केश्म टापुका नागरिक क्षेत्रहरू र मुख्य भूमिमा रहेका बन्दर खामिर तथा सिरिकको तटीय क्षेत्रमा हवाई आक्रमण गरेको दाबी समेत गरेको छ। जवाफमा आफूहरूले जलमार्गको पूर्व र चाबहार बन्दरगाहको दक्षिणमा रहेका अमेरिकी सैन्य जहाजहरूमा आक्रमण गरेको इरानी सेनाले जनाएको छ।

इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले इरानी आक्रमणबाट शत्रु पक्षलाई ठूलो क्षति पुगेको बताए पनि अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले भने आफ्नो कुनै पनि सम्पत्तिमा क्षति नभएको दाबी गरेको छ। सेन्टकमका अनुसार इरानले तीनवटा नौसेना विध्वंसकलाई लक्षित गरी क्षेप्यास्त्र, ड्रोन र साना डुङ्गाहरू प्रयोग गरेको थियो। अमेरिकाले त्यसको प्रतिवाद गर्दै क्षेप्यास्त्र र ड्रोन प्रक्षेपण स्थलहरूमा आक्रमण गरेको बताएको छ।

इरानले थप आक्रमण भएमा कडा जवाफ दिने चेतावनी दिएको छ। यद्यपि, इरानी सञ्चारमाध्यम 'प्रेस टिभी' ले धेरै घण्टाको गोलीबारीपछि हर्मुज नजिकैका टापु र तटीय सहरहरूको अवस्था अहिले सामान्य बनेको रिपोर्ट गरेको छ।

अप्रिल ७ मा युद्धविराम लागू भएदेखि दुवै पक्षबीच फाट्टफुट्ट गोलीबारी हुँदै आएको छ। गत सोमबार पनि अमेरिकी सेनाले छवटा इरानी साना डुङ्गाहरू ध्वस्त पारेको र इरानी क्रुज मिसाइल तथा ड्रोनहरूलाई निष्क्रिय पारेको दाबी गरेको थियो। तेहरानले हर्मुज जलमार्गबाट ढुवानी सुचारु गर्ने अमेरिकी प्रयासलाई विफल पार्ने कोसिस गरिरहेको छ।

ट्रम्पले सामाजिक सञ्जालमा सेन्ट्रल कमान्डको वक्तव्य उद्धृत गर्दै तीन अमेरिकी 'डिस्ट्रोयर' हरू हर्मुजबाट बाहिर निस्कने क्रममा आक्रमणमा परेको तर कुनै क्षति नभएको उल्लेख गरेका छन्। उनले इरानी आक्रमणकारीहरूका धेरै साना डुङ्गाहरू पूर्ण रूपमा नष्ट भएको र इरानले वार्ताद्वारा युद्ध अन्त्य गर्ने कुरालाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

पछिल्लो मुठभेडअघि अमेरिकाले औपचारिक रूपमा द्वन्द्व अन्त्यको प्रस्ताव पेस गरेको थियो। तर इरानले आफ्नो आणविक कार्यक्रम स्थगित गर्ने र विश्वको तेल तथा ग्यास आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने जलमार्ग पुनः खोल्ने अमेरिकी मागलाई अझै सम्बोधन गरेको छैन।

यसैबीच, लेबनानमा इरान समर्थित हिज्बुल्लाहसँग लडिरहेको इजरायलले बेरुतमा हवाई आक्रमण गरी हिज्बुल्लाह कमाण्डरको हत्या गरेको छ। गत महिना युद्धविराम भएयता लेबनानको राजधानीमा भएको यो पहिलो इजरायली आक्रमण हो। वासिङ्टनसँगको वार्तामा लेबनानमा इजरायली आक्रमण रोक्नु इरानको प्रमुख सर्त रहेको छ।

यो तनावको असर विश्व बजारमा पनि देखिएको छ। शुक्रबार एसियाली बजारमा अमेरिकी कच्चा तेलको मूल्य ३ प्रतिशतसम्म बढेको छ। फेब्रुअरी अन्त्यदेखि यता अमेरिकी पेट्रोलको मूल्य ४० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्