०४ साउन २०८३, सोमबार

पुटिनको दाबी : रुस–युक्रेन युद्ध अन्त्यतिर पुगेको छ

बैशाख २७, २०८३
काठमाडौं
पुटिनको दाबी : रुस–युक्रेन युद्ध अन्त्यतिर पुगेको छ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस–युक्रेन द्वन्द्व अन्त्यतिर पुगेको बताएका छन् ।

दोस्रो विश्वयुद्धमा सोभियत संघको विजय दिवसका अवसरमा मस्कोमा आयोजित सीमित सैन्य परेडपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्  । 

‘मलाई लाग्छ, यो विषय अब अन्त्यतिर पुगिरहेको छ’, उनले युक्रेनमा भइरहेको रुसको विशेष सैन्य अभियानलाई संकेत गर्दै भने । साथै, उनले किभ सरकारलाई पश्चिमी देशहरूले दिएको समर्थनको आलोचना पनि गरे ।

सुरक्षा चिन्ताका कारण यस वर्षको वार्षिक सैन्य परेडमा सामान्यतया देखाइने ट्याङ्क र क्षेप्यास्त्र प्रदर्शन गरिएन । युक्रेनले ड्रोनमार्फत रेड स्क्वायरलाई निशाना बनाउन सक्ने आशंकामा रुसी अधिकारीहरू सतर्क रहेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा मस्को र किभबीच अन्तिम समयमा युद्धविराम सहमति भएपछि सम्भावित आक्रमणको जोखिम कम भएको थियो र परेड कुनै अवरोधबिना सम्पन्न भयो ।

पुटिनको टिप्पणी उनले विजय दिवसको भाषणमार्फत युद्धको औचित्य पुष्टि गरेको केही घण्टापछि आएको हो ।

उक्त भाषणमा उनले रुसले न्यायपूर्ण युद्ध लडिरहेको दाबी गर्दै युक्रेनलाई आक्रामक शक्तिको संज्ञा दिएका थिए । उनले युक्रेनलाई नाटो गठबन्धनको सम्पूर्ण समर्थन र हतियार प्राप्त भइरहेको पनि बताएका थिए ।

पछि पत्रकार सम्मेलनमा पश्चिमी मुलुकहरूले युक्रेनलाई सहयोग गरिरहेको विषयमा सोधिएको प्रश्नमा पुटिनले भने, ‘उनीहरूले सहयोग गर्ने वाचा गरे र त्यसपछि रुसविरुद्धको टकरावलाई बढावा दिन थाले, जुन आजसम्म जारी छ । मलाई लाग्छ, यो विषय अन्त्यतिर पुगिरहेको छ, तर यो गम्भीर विषय हो ।’

रुसले सन् २०१४ मा क्रिमिया र पूर्वी युक्रेनका केही भाग आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण शुरू गरेको थियो ।

पुटिनले दीर्घकालीन शान्ति सम्झौता भएपछि मात्र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्ने बताएका छन् ।

‘तेस्रो मुलुकमा भेट सम्भव छ, तर दीर्घकालीन ऐतिहासिक दृष्टिकोणसहितको शान्ति सन्धिमा अन्तिम सहमति भएपछि मात्रै । त्यस कार्यक्रममा सहभागी भएर हस्ताक्षर गर्न सकिन्छ, तर त्यो अन्तिम चरण हुनुपर्छ’, उनले भने ।

उनले युरोपका लागि नयाँ सुरक्षा व्यवस्था सम्बन्धी वार्ताका लागि आफू तयार रहेको र त्यसका लागि जर्मनीका पूर्व चान्सलर गेर्हार्ड श्रोडर आफ्नो रोजाइको वार्ताकार हुने बताएका छन् ।

पूर्व चान्सलर श्रोडर पुटिनका लामो समयदेखिका निकट मित्र मानिन्छन् । उनी रुसी सरकारी स्वामित्वका ऊर्जा कम्पनीसँगको सम्बन्धका कारण विवादमा पनि परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्