
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थिति र जवाफ दिनुपर्ने विपक्षी दलको अडानले बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । विपक्षीको विरोधका कारण बुधबार प्रतिनिधिसभाको बैठक ३ पटक स्थगित भयो ।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा प्रधानमन्त्री बाहिरिएको विषयमा सरकारको जवाफ मागिरहेका विपक्षी दलले प्रधानमन्त्रीले संसद्लाई छल्न खोजेको भन्दै निरन्तर विरोध जनाएका हुन् । बालेनले संसदलाई महत्त्व नदिएको आरोप लागेको छ।
००००
सिंहदरबारभित्रै प्रधानमन्त्री वालेन्द्र शाहको आँखामा छारो हाल्ने काम भइरहेको छ भन्दा पत्याउनुहुन्छ ? नपत्याएर सुखै छैन, भइरहेको छ नै त्यस्तै ।
प्रसंग हो, सहसचिवभन्दा तल्लो दर्जाका कर्मचारीले नियमविपरीत चढ्दै आएका सरकारी गाडीको ।
कागजमा फिर्ता भएको भनिएका सरकारी गाडीहरू व्यवहारमा अझै पनि तिनै कर्मचारीको प्रयोगमा रहेको तथ्य खुलेको छ ।
हो, उपसचिवहरूले एउटा नयाँ ‘लुपहोल’ निकालेका छन्, ‘शेयरिङ’का नाममा गाडी चढिरहने ।
पहिले आफ्नै नाममा चढ्नेहरूले अहिले कार्यालय सहयोगी, नासु र अपरेटरको नाम समेत मिसाएर साझा भन्दै गाडी कब्जा गरेका छन् ।
००००
प्रतिनिधिसभाको सचिवमा संखुवासभाका प्रकाश अधिकारी नियुक्त भएका छन् ।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिव नियुक्त गरेका हुन् ।
००००
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक भट्टले बुधबार आफ्नो राजीनामा दिएका हुन् ।
उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका मन्त्रालयले जनाएको छ ।
००००
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार विपक्षी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पत्ति छानबिन आयोग र छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।
बुधबार मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्थाको पूर्ण रूपमा पालना गरी कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन र सेवाको तटस्थता, निष्पक्षता र विश्वसनीयता कायम राख्न सूचना जारी गरेको हो ।
००००
नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ ।
मंगलबार पराजुलीले प्रतिनिधिसभा बैठकमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति बारले आपत्ति जनाएको हो ।
बारले यस विषयमा बुधबार सभामुख डोलप्रसाद अर्याललाई ध्यानाकर्षणपत्र समेत पठाएको छ । संसद्मा न्यायालयको मानमर्दन हुने गरी हुने छलफल र टिप्पणी रोक्न आग्रह बारको आग्रह छ ।
००००
राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८१–०८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।
केन्द्रका सचिव सरजु कुमार वैद्यले बुधबार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् ।
००००
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले संघीय संसद् सचिवालयमा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराएका छन् ।
नेकपा एमालेले ८ वटै अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ भने नेपाली कांग्रेसले संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ ।
००००
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय सङ्ख्या घटाउने तयारी सुरु गरिएको बताएका छन् ।
प्रदेश विकास समस्या समाधान समितिको आजको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय सङ्ख्या घटाउने प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन् ।
००००
प्रहरीले वादी अभियन्ता डा रोशनी वादीलाई नियन्त्रणमा लिएको छ ।
बुधबार सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
००००
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।
पोखरामा वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतदानमा सिटौलाले एक हजार ३० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरे ।
००००
श्रम संस्कृति पार्टी र सुदन किराँती समूहबीच एकता भएसँगै नवप्रवेशीलाई जिम्मेवारी दिइएको छ ।
किराँतीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ । त्यसैगरी प्रकाश विकल्पलाई उपाध्यक्ष र टीकाराम राईलाई सचिवको जिम्मेवारी तोकिएको छ ।
००००
प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ र्पुयाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो।
००००
लोक दोहोरी गीतमा अश्लीलता र छाडा शैली प्रयोग गरिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए ।
यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार सामान्य अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ ।
००००
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासँग सम्बन्धित प्रकरणमा मंगलबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।