०५ साउन २०८३, मंगलबार

ब्रिक्स बैठकमा इरान र यूएईबीच तीखो विवाद : दुई देशबीच आरोप-प्रत्यारोपले साझा घोषणापत्रमै संकट

जेठ १, २०८३
काठमाडौं
ब्रिक्स बैठकमा इरान र यूएईबीच तीखो विवाद : दुई देशबीच आरोप-प्रत्यारोपले साझा घोषणापत्रमै संकट

ब्रिक्स राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकमा इरान र संयुक्त अरब इमिरेट्स (यूएई)का प्रतिनिधिबीच तीखो विवाद भएको छ । इरानले यूएईमाथि आफ्नो देशविरुद्ध भएको सैन्य आक्रमणमा प्रत्यक्ष संलग्न रहेको गम्भीर आरोप लगाएपछि भारतको नयाँ दिल्लीमा दुई देशबीचको तनाव खुला रूपमा देखिएको हो ।

बीबीसी हिन्दीका अनुसार इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले बिहीबार ब्रिक्स बैठकका क्रममा यूएईले इरानमाथिको हमलामा सहयोग गरेको आरोप लगाए । उनले इजरायलसँगको ‘मिलेमतो’को हिसाब गरिने चेतावनीसमेत दिए ।

यो विवाद त्यतिबेला चर्किएको हो, जब एक दिनअघि मात्रै इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धकै बीचमा यूएईको गोप्य भ्रमण गरेको दाबी गरेको थियो । यद्यपि यूएईले उक्त दाबी अस्वीकार गरिसकेको छ ।

ब्रिक्स समूहका सदस्य रहेका इरान र यूएई दुवैका प्रतिनिधि नयाँदिल्लीमा उपस्थित थिए । बैठकका क्रममा दुवै पक्षबीचको तनाव स्पष्ट देखिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अराघचीले यूएईको प्रतिनिधिको टिप्पणीको जवाफ दिँदै भने, 'ब्रिक्सभित्रको एकता जोगाउन मैले आफ्नो प्रारम्भिक वक्तव्यमा यूएईको नाम लिइनँ । तर वास्तविकता के हो भने यूएई इरानविरुद्धको आक्रमणमा प्रत्यक्ष सहभागी थियो । हमला शुरू हुँदा उनीहरूले त्यसको निन्दासमेत गरेनन् ।'

भारतस्थित इरानी दूतावासले आफ्नो आधिकारिक एक्स खातामार्फत घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ । दूतावासका अनुसार, ब्रिक्स विदेशमन्त्रीहरूको बैठकको दोस्रो सत्रमा इरानका कानुन तथा अन्तर्राष्ट्रिय मामिला उपविदेशमन्त्री काजेम घारिबाबादीले यूएईकी विदेश राज्यमन्त्रीको आरोपको कडा प्रतिवाद गरेका थिए ।

घारिबाबादीले यूएईमाथि अमेरिकासँग मिलेर इरानविरुद्धको सैन्य अभियानलाई समर्थन र सहजीकरण गरेको आरोप लगाए । उनले भने, 'यूएईले इरानविरुद्धको सैन्य आक्रमणलाई सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको थियो । तनाव सिर्जना गर्ने र त्यसलाई बढाउने पक्षलाई इरानविरुद्ध राजनीतिक आरोप लगाउने कुनै नैतिक वा कानुनी अधिकार छैन । हामी शक्तिशाली र महान राष्ट्र हौँ । हाम्रो जनतामाथि र पूर्वाधारमाथि हमला हुँदा, विशेषगरी छिमेकी देश यूएई त्यसमा संलग्न हुँदा, हामी चुप लागेर बस्न सक्दैनथ्यौँ ।'

इरानले युद्धका क्रममा यूएईस्थित अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाएको स्वीकार गरेको छ । 

इरानले यूएईलाई युद्ध शुरू हुनुअघि नै चेतावनी पठाइएको दाबी गरेको छ ।

गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हमला शुरू गरेका थिए । त्यसपछि केही सातासम्म युद्ध चलेको थियो । जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र अन्य संरचनामाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो ।

अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ले सोमबार प्रकाशित गरेको रिपोर्टमा यूएईले अप्रिलको शुरूआतमा इरानविरुद्ध सैन्य अभियान सञ्चालन गरेको दाबी गरिएको थियो । पश्चिमा र इरानी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा साउदी अरबले पनि इरानविरुद्ध केही गोप्य हमलाहरू गरेको उल्लेख गरिएको छ ।

इरानी सञ्चारमाध्यमहरूले ब्रिक्स बैठकबाट साझा वक्तव्य निकाल्नसमेत कठिन हुने संकेत गरेका छन् । इरानका उपविदेशमन्त्री घारिबाबादीलाई उद्धृत गर्दै प्रकाशित समाचारमा यूएईको उपस्थितिका कारण स्थिति जटिल बनेको उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्