
इरान अमेरिकासँग सम्भावित नयाँ युद्धको तयारी गरिरहेको अल जजीराले दाबी गरेको छ । अल जजीराको रिपोर्टअनुसार, तेहरानले वासिङ्टनलाई अविश्वास गर्छ र हर्मुजको जलमार्गलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण रणनीतिक हतियारको रूपमा हेर्छ ।
रिपोर्टमा इरानी अधिकारीहरू तीन मोर्चामा काम गरिरहेको उल्लेख छ । सैन्य तयारी, घरेलु समर्थन र कूटनीति । वार्ताको बाटो खुला रहँदा सेना र इरानी क्रान्तिकारी गार्ड्स कोर्प्स (आईआरजीसी) उच्च सतर्कतामा छ।
इरानले हर्मुजलाई आफ्नो सबैभन्दा ठूलो रणनीतिक सम्पत्ति मान्दछ । विश्वको तेलको ठूलो हिस्सा यस समुद्री मार्गबाट गुज्रन्छ । त्यसैले, तेहरानले यसलाई अमेरिका र यसका सहयोगीहरूलाई दबाब दिने प्रमुख उपकरणको रूपमा हेरेको रिपोर्टमा उल्लेख छ ।
इरानी नेतृत्वले नयाँ द्वन्द्वको अवस्थामा अमेरिकी सैन्य अड्डाहरू, ऊर्जा पूर्वाधार र सम्बन्धित हितहरूलाई लक्षित गर्न सकिने बताएको छ। केही दिनअघि कुनै पनि नयाँ अमेरिकी आक्रमणले बढी हिंसात्मक परिणामहरू भोग्ने आईआरजीसीले पनि चेतावनी दिएको थियो ।
जारी तनावपूर्ण टकराव औपचारिक युद्धविरामतर्फ मोडिन खोजिरहेका बेला इरानभित्रै गहिरो अविश्वास, सैन्य चेतावनी र राजनीतिक ध्रुवीकरण चर्किएको रिपोर्टमा उल्लेख छ । कतारमा भएको उच्चस्तरीय वार्तापछि इरानी प्रतिनिधिमण्डल तेहरान फर्किएलगत्तै अमेरिकी सैन्य गतिविधि, ड्रोन प्रहार र होर्मुज क्षेत्रमा बढ्दो असुरक्षाले सम्भावित सम्झौतामाथि थप संशय उत्पन्न गरेको हो ।
इरानका वरिष्ठ सांसद अब्बास मोघतादाईले राज्य टेलिभिजनमार्फत 'अमेरिकाप्रति अविश्वास नै आधारभूत सिद्धान्त हो' भन्दै तेहरानको वर्तमान मनोविज्ञान स्पष्ट पारे। संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ नेतृत्वको प्रतिनिधिमण्डल कतारबाट फर्किएपछि यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । उक्त टोलीले करिब तीन महिनादेखिको युद्ध अन्त्य गर्न संयुक्त राज्य अमेरिकासँग समझदारी खोज्ने प्रयास गरिरहेको थियो।
यसैबीच इरानको विदेश मन्त्रालयले सोमबार राति दक्षिणी होर्मोज्गान प्रान्तमा अमेरिकी आक्रमण भएको आरोप लगाउँदै त्यसलाई अप्रिल ८ मा भएको अस्थिर युद्धविरामको स्पष्ट उल्लंघन भनेको छ। मन्त्रालयले अमेरिकाको कदमले इरानले राख्दै आएको गहिरो शंकालाई अझ पुष्टि गरेको दाबी गरेको छ।

आईआरजीसीले अमेरिकी निर्मित आरक्यु–४ ड्रोनलाई स्वदेशी अरश–ए कमंगिर वायु रक्षा प्रणाली प्रयोग गरेर खसालिएको जनाएको छ। राज्य टेलिभिजनले ड्रोनका भग्नावशेषको भिडियोसमेत प्रसारण गरेको छ।
अमेरिकी सेनाले भने इरानले समुद्री खानी बिछ्याउने र क्षेप्यास्त्र प्रक्षेपण तयारी गरिरहेको दाबी गर्दै रक्षात्मक कारबाही गरिएको जनाएको छ। तर आईआरजीसी कमाण्डरहरूले आफूहरूलाई प्रतिशोधको अधिकार रहेको चेतावनी दिएका छन्।
तनावबीच ओमानको राजधानी मस्कटबाट करिब ६० समुद्री माइल पूर्वमा एक तेल ट्यांकरमा बाह्य विस्फोट र इन्धन चुहावट भएको ब्रिटिश समुद्री गुप्तचर स्रोतले जनाएको छ। घटनाबारे इरानी अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्।
यसै समयमा अमेरिका र इरानबीच एउटा सम्भावित समझदारी ज्ञापनपत्रको अन्तिम रूपबारे छलफल भइरहेको बताइएको छ । उक्त समझदारीले होर्मुज हुँदै हुने अन्तर्राष्ट्रिय पारवहन सहज बनाउन सक्ने र इरानलाई अमेरिकी प्रतिबन्धका कारण रोकिएका आफ्ना केही विदेशी कोषमा पहुँच दिलाउन सक्ने अनुमान गरिएको छ । साथै भविष्यमा इरानको आणविक कार्यक्रमसम्बन्धी व्यापक सम्झौताका लागि बाटो खोल्ने सम्भावना पनि रहेको बताइन्छ।
तर तेहरानभित्र यो सम्भावित सम्झौताप्रति गहिरो आशंका देखिएको छ। साइन्स पोको सेन्टर फर इन्टरनेशनल रिसर्चकी सहायक प्राध्यापक निकोल ग्राजेव्स्कीका अनुसार इरानी नेतृत्वका धेरै सदस्य अमेरिका र इजरायलले ठूलो सैन्य कारबाहीअघि समय किन्ने रणनीति स्वरूप सम्झौता प्रयोग गर्न सक्ने भयमा छन्।
उनका अनुसार इरानले कम्तीमा सीमित संवर्धन क्षमता, आणविक भण्डारणमाथिको नियन्त्रण, केही प्रतिबन्ध राहत र क्षेत्रीय प्रभाव कायम राख्न खोज्नेछ।
इरानभित्रका मध्यमार्गी राजनीतिज्ञदेखि कट्टर सैन्य गुटसम्म सबैले आत्मसमर्पणजस्तो सम्झौता स्वीकार नगर्ने बताइरहेका छन्। राष्ट्रपति मसूद पेजेश्कियानले राज्य टेलिभिजनमार्फत इरान आणविक हतियारको खोजीमा नरहेको र क्षेत्रीय असुरक्षा नचाहेको दाबी गरे।
तर आईआरजीसीका प्रभावशाली एयरोस्पेस कमाण्डर माजिद मौसावीले पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई उद्धृत गर्दै शत्रुसँग वार्ता गर्नु शुद्ध क्षति हो भन्ने टिप्पणी गरेका छन्। उनले हालका सर्वोच्च नेता मोज्तबा खामेनीको आदेश पालना गर्ने बताए । मोज्तबाले ईद अल-अधाको अवसरमा दिएको सन्देशमा यस क्षेत्र अब अमेरिकी अड्डाहरूको ढाल बन्ने छैन भन्दै इजरायल १५ वर्षभित्र समाप्त हुने दाबीसमेत गरेका छन्।
युद्धकालीन प्रभावशाली कमाण्डर अली अब्दुल्लाहीले पनि सार्वजनिक रूपमा देखा पर्दै इरानी सेनालाई शत्रुको हार सुनिश्चित गर्न आग्रह गरेका छन्। उनले अमेरिकीहरू धेरै कुरा गर्छन् र क्षणभरमै आफ्नो कथा बदल्छन् भन्दै युद्धभूमिमै जवाफ दिने चेतावनी दिए।

मध्यपूर्व संस्थानका वरिष्ठ फेलो एलेक्स वाटाङ्काका अनुसार तेहरानभित्रको बहस अहिले वार्ता गर्ने कि नगर्नेबाट वार्तामा वास्तवमा के त्याग्ने? भन्ने बिन्दुमा सरेको छ। विशेषगरी कट्टरपन्थी गुटहरू होर्मुज, प्रतिबन्ध हटाउने प्रक्रिया र आणविक सहुलियतबारे गम्भीर रूपमा सशंकित छन्।
उनका अनुसार इरानले पराजित देखिन नदिने गरी पर्याप्त सैन्य निवारण, प्रतीकात्मक प्रतिष्ठा र वास्तविक प्रतिबन्ध राहत खोज्नेछ। तर अहिलेको उदीयमान समझदारी ऐतिहासिक शान्ति सम्झौताभन्दा पनि युद्ध व्यवस्थापनको अस्थायी संयन्त्रजस्तो देखिएको उनले टिप्पणी गरेका छन्।
यसबीच इरानी राज्यसमर्थक विश्लेषकहरूले वरिष्ठ नेताहरूको सुरक्षाबारे पनि चिन्ता व्यक्त गरेका छन्। आईबरुजीसी निकट विश्लेषक निमा अकबरखानीले अमेरिकाले वार्ताकैबीच सर्वोच्च नेतासम्म पहुँच पाए आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। अर्का विश्लेषक अली समदजादेहले सम्भावित अमेरिका–इरान सम्झौतालाई नेताहरूलाई फसाउने हनीपोट योजना हुन सक्ने दाबी गरेका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार युद्ध शुरू भएयता सार्वजनिक रूपमा नदेखिएका सर्वोच्च नेता खामेनी अज्ञात सुरक्षित स्थानमा रहेको र धेरै सरकारी अधिकारीहरूको पनि उनीसम्म पहुँच नभएको बताइएको छ । अमेरिकी अधिकारीहरूले यही कारण वार्ता प्रक्रिया सुस्त भएको जनाएका छन्।
विश्लेषक ग्राजेव्स्कीका अनुसार निकट भविष्यमा इरानका लागि सबैभन्दा ठूलो चुनौती आन्तरिक स्वीकृति प्राप्त गर्नु हुनेछ। कट्टरपन्थी गुटहरूले अमेरिकालाई दिइने हरेक सहुलियतको कठोर समीक्षा गर्नेछन्।