
नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
जेठ १३ गते बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिक समूहतर्फका अधिकारीहरूलाई बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालयले बिहीबार जनाएको छ ।
सिफारिस सूचीअनुसार जनपद समूहतर्फ जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एसपी अमरेन्द्र बहादुर सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
त्यसैगरी, प्राविधिक समूहतर्फ स्वास्थ्य उप-समूह (चिकित्सक) बाट नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. सेवक श्रेष्ठलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । यस्तै, इन्जिनियरिङ उप-समूह (सूचना प्रविधि) तर्फबाट सरोज शाक्य र मनिषराज सापकोटालाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी नियमावली २०७१ को नियम २७ को उप-नियम (४) अनुसार बढुवा समितिको बैठकले सो सिफारिस गरेको सदस्य-सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिए ।