२२ जेठ २०८३, शुक्रबार

एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालसामु निरीह बन्यो कतार

जेठ २०, २०८३
काठमाडौं
एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालसामु निरीह बन्यो कतार

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ ।

प्रतियोगिताको पहिलो दिन बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा अलआउट हुनुअघि ७६ रन बनायो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १०.५ ओभरमै केवल दुई विकेट गुमाएर ७८ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

नेपाली टोलीको जितमा ओपनर विन्दू रावलले ३३ रनको योगदान गरिन् । उनले ३० बलको सामना गरी चार चौका पनि हिर्काइन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजा महतोले पनि टोलीको जितमा अविजित २८ रनको योगदान गरिन् । यसक्रममा उनले २६ बलको सामना गरी चार चौका प्रहार गरिन् ।

ओपनर सम्झना खड्का तीन रन बनाउँदै पेभेलियन फर्किइन् । कप्तान इन्दू वर्मा ६ रनमा अविजित रहिन् । नेपालले अतिरिक्त रूपमा आठ रन पायो ।

त्यसअघि, पहिले ब्याटिङ गरेको कतारलाई ठूलो लक्ष्य बनाउनबाट रोक्ने क्रममा नेपाली टोलीकी बलर रुविना क्षेत्रीले तीन विकेट लिइन् । उनले ३.५ ओभरमा केवल आठ रन खर्चिइन् ।

कविता कुँवर, रिया शर्मा र पूजा महतोले पनि एक–एक विकेट हात पारे । कतारले अतिरिक्त रूपमा पनि १४ रन पाएको थियो ।

कतारका लागि ओपनर गेट्रुड क्यान्डिरुले सर्वाधिक २५ रन बनाइन् । उनले १९ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरिन् ।

यो निकट भविष्यमा आयोजना हुने एसीसी महिला टी–२० एसिया कपको छनोट प्रतियोगिता पनि हो । प्रिमियर कपमा १८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल र कतार प्रतियोगिताको समूह ‘डी’मा परेका छन् ।

यो समूहमा भुटान र हङ्कङ पनि छन् । प्रतियोगिताको समूह ‘सी’मा इन्डोनेसिया, कुवेत, मलेसिया र सिंगापुर रहेका छन् ।

यसैगरी, समूह ‘बी’मा चीन, ओमान, फिलिपिन्स, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘ए’मा बहराइन, जापान, मंगोलिया, म्यानमार र थाइल्यान्ड परेका छन् ।

नेपाली टोलीले आफ्नो दोस्रो खेल जुन ४ तारिखमा भुटानसँग खेल्नेछ । नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल जुन ६ तारिखमा हङ्कङसँग खेल्नेछ ।

प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल जुन १० तारिख हुनेछ ।

त्यसपछि, जुन १२ तारिखमा दुबै सेमिफाइनल तथा जुन १३ तारिखमा तेस्रो स्थानका लागि र फाइनल खेल खेलाइने छ । यो प्रतियोगिताबाट चार टोली आगामी महिला एसिया कपमा छनोट हुनेछन् ।   

नेपाल र कतारको महिला टोलीबीच हालसम्म पाँचवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । पाँचवटै खेलमा नेपाली टोली विजयी भएको छ ।

यसअघि, सन् २०२१ को नोभेम्बर १६ मा खेलिएको खेलमा नेपालले कतारलाई एक सय १९ रनले हराएको थियो । सोही वर्षको नोभेम्बर १७ मा खेलिएको खेलमा नेपाल ६१ रनले विजयी भएको थियो ।

सोही वर्षको नोभेम्बर १८ मा खेलिएको खेलमा नेपाल एक सय नौ रनले विजयी भएको थियो । सन् २०२३ को सेप्टेम्बर ४ तारिखमा खेलिएको खेलमा नेपालले कतारलाई नौ विकेटले हराएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्