
लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले सामूहिक राजीनामा छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।
नेपाली कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया केही समय रोकिएको थियो ।
पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
एमालेबाट सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारू मगर र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन् ।
एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ ।
खत्रीले यसअघि सामाजिक विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् ।
एमालेले दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको बताइएको छ ।
सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य भएकाले डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको स्रोतको दाबी छ । प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ कायम गर्ने निर्णय गरिसकेको छ । उक्त विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको छ । बजेटको मुखमा मन्त्री फेरबदल हुँदा सरकारलाई अप्ठ्यारो पर्ने देखिएको छ ।