
नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले जोड दिएका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल को पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता औँल्याइएको हो ।
आज गोरखपुर मा आयोजित भारत-नेपाल आर्थिक सहयोग मञ्च-२०२६ मा सहभागी वक्ताले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार, औद्योगिक लगानी र सीमापार व्यापारलाई प्राथमिकतामा राखेर द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय उडानको केन्द्रका रूपमा नियमित सञ्चालन र विकास गर्न भारतीय वायुसेवा कम्पनी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । विमानस्थल सञ्चालनले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखियो ।
छलफलका क्रममा भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा भारतीय उद्योग आकर्षित गर्न नीतिगत तथा व्यावसायिक सहकार्य आवश्यक रहेको विषय पनि उठाइएको थियो । सहभागीले सीमावर्ती क्षेत्रका औद्योगिक सम्भावनाको उपयोग गर्दै संयुक्त लगानी र उत्पादन विस्तार गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न भारतीय पर्यटन व्यवसायी र निजी क्षेत्रले थप भूमिका खेल्नुपर्नेमा पनि वक्ताले जोड दिए । बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतीय बौद्ध पर्यटक तथा अन्तरराष्ट्रिय पर्यटकको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न संयुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइयो ।
नेपालका लागि नेपाली दूतावास, भारतका सहसचिव तारानाथ अधिकारी ले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन व्यापार, पर्यटन, लगानी र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताए । उनले दुवै देशका निजी क्षेत्रबीचको साझेदारी आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उल्लेख गरे ।
दूतावासका इकोनोमिक काउन्सिलर रवीन्द्रजङ्ग थापाले नेपालमा लगानी, उद्योग, पर्यटन र व्यापारका प्रशस्त सम्भावना रहेको बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घ का उपाध्यक्ष कृष्णप्रसाद शर्माले व्यापार सहजीकरण, लगानीमैत्री वातावरण निर्माण तथा सीमावर्ती क्षेत्रको आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाल–भारत आर्थिक सम्बन्धलाई व्यवहारिक र परिणाममुखी बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
नेपाल-भारत आर्थिक सहयोग मञ्च का सचिव, उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कमलेस जैन ले नेपाल–भारत आर्थिक सहकार्यका सम्भावना, व्यापारिक सम्बन्ध र निजी क्षेत्रको भूमिकाबारे जानकारी गराउँदै दुवै देशबीचको साझेदारीलाई थप परिणाममुखी बनाउनुपर्ने बताए ।
अनुकुल भटनागरले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताए । उनले व्यापार, उद्योग, लगानी र वित्तीय सहकार्य विस्तारमार्फत दुवै देशले पारस्परिक लाभ लिन सक्ने धारणा व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेल ले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र उद्योग प्रवर्द्धनका लागि निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ ले सीमावर्ती क्षेत्रको आर्थिक विकास, पर्यटन र औद्योगिक सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।