२२ जेठ २०८३, शुक्रबार

७ वर्षपछि उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ

जेठ २२, २०८३
काठमाडौं
७ वर्षपछि उत्तर कोरिया जाँदै चिनियाँ राष्ट्रपति सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाली नेता किम जोङ उनको निमन्त्रणामा यही जुन ८ देखि ९ सम्म उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् । चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार शुक्रबार भ्रमणको औपचारिक घोषणा गरिएको हो।

प्योङयाङले रुससँगको सम्बन्धलाई निकै बलियो बनाउँदै लगेका बेला बेइजिङले उत्तर कोरियासँगको आफ्नो सम्बन्धलाई पुनः सुदृढ र सुमधुर बनाउन खोजेको रूपमा भ्रमणलाई हेरिएको समाचारमा उल्लेख छ । राष्ट्रपति सीले हालै मात्र रुस र संयुक्त राज्य अमेरिकाका नेताहरूसँग पनि भेटवार्ता गरेका थिए । 

चिनियाँ राष्ट्रपतिको रूपमा सी जिनपिङको यो सात वर्षपछिको पहिलो प्योङयाङ भ्रमण हुनेछ। यसअघि उनले सन् २०१९ मा उत्तर कोरियाली नेता किमसँग भेट गरेका थिए । सन् २०१९ को भ्रमणभन्दा अगाडि, सन् २००५ देखि कुनै पनि चिनियाँ शीर्ष नेताले उत्तर कोरियाको भ्रमण गरेका थिएनन्।

कोभिड–१९ महामारीका कारण दुई देशबीचको आपसी संवाद र आदानप्रदान ठप्प बनेको थियो। महामारीपछि चीनले आफ्नो एकमात्र औपचारिक सन्धि साझेदार उत्तर कोरियालाई पुनः आफ्नो नजिक ल्याउने प्रयास गरिरहेको छ । अर्कोतर्फ, उत्तर कोरियाली नेता किम पनि आफ्नो देशको सबैभन्दा ठूलो व्यापारिक साझेदार र सहायता दाता राष्ट्र चीनसँगको सम्बन्ध सुधार गर्न प्रयासरत छन् । 

यो भ्रमण राष्ट्रपति सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङमा स्वागत गरेको केही समयपछि हुन लागेको हो। सी र पुटिनबीचको भेटवार्तामा अमेरिकी गठबन्धन र इरानबीचको युद्धका विषयमा छलफल भएको थियो।

महामारी र युक्रेनमाथिको आक्रमणपछि पुटिनले उत्तर कोरियाली नेता किमसँगको सम्बन्धलाई थप मजबुत बनाउन सफलता पाएका छन् । यही कूटनीतिक सामीप्यताका कारण उत्तर कोरियाले रुसको सैन्य अभियानका लागि आफ्ना सैनिक र हतियारहरू उपलब्ध गराउन तयार भएको थियो।

रुसी राष्ट्रपति पुटिनलाई भेट्नुभन्दा ठीक अघि सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेइजिङमा स्वागत गरेका थिए । उक्त भ्रमणका क्रममा चिनियाँ नेता सीले चीन र अमेरिकाले साझेदारका रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्