
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको निर्वाचनको नतिजा घोषणामा ढिलाइ भएको छ। बिहीबार दिउँसै ९९ केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको राति सवा १० बज्दासम्म अन्तिम मतपरिणाम सार्वजनिक हुन नसकेको हो ।
बरु मतपरिणाम सार्वजनिक गर्ने क्रममा प्राविधिक त्रुटि र व्यवस्थापकीय कमजोरी देखिएको भन्दै उम्मेदवारहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले मतपरिणाम सार्वजनिक गर्ने क्रममा खुल्ला तर्फको ३५ सिटका लागि भएको प्रतिस्पर्धामा डा. स्वर्णिम वाग्लेले सर्वाधिक २६०७ मत प्राप्त गरी पहिलो स्थान कायम गरेको जानकारी दिए।
वाग्लेपछि क्रमशः गणेश पराजुली (२०४५), मनिष झा (२२३७), र सोबिता गौतम (२५९४) लगायतका उम्मेदवारहरूले उच्च मत प्राप्त गरेका छन्। तर यसमा प्रवासको मत जोडिएकै छैन । सबै मिलाएर अन्तिम मतपरिणाम सार्वजनिक गर्ने भनिएपनि कतिबेला सार्वजनिक हुने भन्नेमा अन्योल छ ।
निर्वाचन आयोगले मतपरिणाम वाचन गर्ने क्रममा केही उम्मेदवारहरूको नाम नै छुटाएपछि उम्मेदवारहरूले 'सेटिङ' र 'डिजिटल धाँधली' भएको भन्दै विरोध समेत जनाएका छन्। विशेषगरी गण्डकी प्रदेशबाट उम्मेदवार बनेका सागर भुसाल र लुम्बिनी प्रदेशका उम्मेदवार भरत प्रसाद पनेरु लगायतका उम्मेदवारहरूको नाम नामावलीबाट हराएको वा मत परिणाममा नसमेटिएको भन्दै उनीहरूले निर्वाचन आयोगको कार्यक्षमतामा प्रश्न उठाएका हुन्।
उम्मेदवार भरत प्रसाद पनेरुले डिजिटल भोटिङ भनिए पनि निर्वाचन आयोगले आफ्नो नाम नै गायब पारेको र परिणाम सार्वजनिक गर्दा आफूलाई अन्याय भएको भन्दै आक्रोश व्यक्त गरे। कतिपय उम्मेदवारहरूले प्रारम्भिक नामावलीमा नाम भए पनि अन्तिम परिणाम घोषणा गर्दा नाम हटाइएको भन्दै निर्वाचन अधिकृतहरूसँग स्पष्टीकरण माग गरेका थिए।
निर्वाचन आयोगले भने प्राविधिक कारणले केही नामहरू छुटेको स्वीकार गर्दै त्यसलाई सच्याउने प्रतिबद्धता जनाएको छ। ३ दिनका लागि तय गरिएको महाधिवेशन ५-६ दिनसम्म लम्बिएपछि प्रतिनिधिहरू थकित र आक्रोशित समेत देखिएका छन् । व्यवस्थापनमा भएको कमजोरीप्रति पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी र अन्य नेताहरूले क्षमायाचना गर्दै आगामी दिनमा यस्ता त्रुटिहरू दोहोरिन नदिने बताएका छन्।
केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक भएपछि दोस्रो चरणमा पदाधिकारी चयनका लागि निर्वाचन हुने तयारी छ। जसमा सह-महामन्त्री, महामन्त्री लगायतका पदका लागि केन्द्रीय सदस्यहरू बीच प्रतिस्पर्धा हुनेछ।