
काठमाडौं, १७ वैशाख– १४ दिनसम्म लम्बिएको कांग्रेस केन्द्रीय समिति बैठक चुनावी पराजयको समीक्षा र अन्य केही निर्णय गर्दै आइतबार सम्पन्न भयो ।
वाम गठबन्धन र मधेसी दलहरूको गठबन्धन तथा केही आन्तरिक कमजोरीका कारण चुनावमा अपेक्षित परिणाम ल्याउन नसकिएको निष्कर्ष निकालेको कांग्रेसले आगामी भदौमा महासमिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।
दुई साता चलेको कांग्रेस बैठकमा नेताहरूले विभिन्न प्रस्ताव पेश गरे । त्यसमध्ये गगन थापासहित ७ युवा नेताले पेश गरेको ५१ पृष्ठ लामो प्रस्ताव विशेष चर्चामा रह्यो ।
गगनसहित, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, जीवन परियार र रामकृष्ण यादवले पेश गरेको प्रस्तावमा तत्काल महासमिति बैठक बोलाउन माग गरिएको थियो । साथै उनीहरूले महाधिवेशनको प्रक्रिया पनि यथाशीघ्र शुरु गर्न माग गरेका थिए ।
बैठकले आगामी भदौमा महासमिति बैठक बोलाउने निर्णय गरेको छ । त्यसअघि जेठमा जिल्ला सभापतिहरूको भेला आयोजना हुनेछ ।
बैठकमा पेश भएका दर्जनौं प्रस्तावमध्ये सात भाइले पेश गरेको प्रस्तावले निर्णयमा तुलनात्मकरूपमा राम्रै प्रभाव राख्न सफल भयो । युवा नेताहरूको सेलिब्रेटी छवीका कारण मिडिया तथा सामाजिक सञ्जालमा पनि राम्रै चर्चा भयो ।
अब के गर्छन् ‘सात भाइ’ ?
‘अब हाम्रो (सात भाइ)को बैठक बस्छ, त्यहाँ हाम्रो माग र केन्द्रीय समितिले गरेका निर्णयमा कत्तिको तालमेल मिल्यो भन्ने समीक्षा हुन्छ,’ युवा नेता गुरुराज घिमिरेले लोकान्तरसँग भने, ‘हाम्रो प्रस्तावमा भएका कतिपय कमजोरी र भाषागत त्रुटीहरूलाई हटाएर यसलाई अझै समृद्ध बनाउँछौं र हरेक नगर, गाउँ तथा वडा–वडामा पुर्याउँछौं ।
‘यो प्रस्ताव आगामी महाधिवेशनबाट नेतृत्वमा पुग्न प्रयोग गरिएको कार्ड त होइन ?’ नेता घिमिरे सो कुरा मान्न तयार छैनन् । यसलाई आफूहरूले कार्डको रूपमा प्रयोग नगरेको उनको जिकिर छ । ‘यसलाई हामीले नेतृत्वमा पुग्ने कार्डको रूपमा प्रयोग गरेका होइनौँ,’ घिमिरेले भने, ‘हामीले त पार्टीलाई पुनर्जीवन दिन, कार्यकर्तामा नयाँ उत्साहको सञ्चार गराउन खोजेका हौं ।’
आफूहरू अहिले पनि नेतृत्वमै रहेको भन्दै घिमिरेले भावी दिनमा प्राप्त हुने नयाँ जिम्मेवारी बहन गर्न भने तयार रहेको बताए ।
यस्तै अर्का नेता चन्द्र भण्डारी महासमिति बैठक बोलाउने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेकाले अब आफूहरू त्यसैतर्फ केन्द्रित हुने बताउँछन् । ‘हामीले महासमिति बैठक र शीघ्र महाधिवेशनको कुरा गरेका हौं, महासमिति बैठक बोलाउने निर्णय भएको छ, त्यसपछि पार्टी स्वतः महाधिवेशनको प्रक्रियामा जान्छ, तल्लो तहदेखि नै अधिवेशन हुँदै महाधिवशेन हुन डेढवर्ष जति समय त लाग्छ नै,’ भण्डारीले भने, ‘अब हामी त्यसैमा केन्द्रित हुन्छौं ।’
आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा नै पुग्ने विषयमा छलफल नै त नभए पनि समय परिस्थितिअनुसार अघि बढ्ने उनको भनाइ छ । ‘हामीले त्यस विषयमा छलफल नै त गरेका छैनौँ,’ भण्डारीले भने, ‘समय परिस्थितिले माग गरे प्रतिस्पर्धाका लागि नयाँ दृष्टिकोण बनाउँदै जानेछौं ।’
देउवाको कार्डले फेरिए दुई भाइ !
चुनावमा अनपेक्षित पराजय भोगेपछि पार्टीको पुनर्संरचना र नेतृत्व परिवर्तनलगायतका माग राखेर कांग्रेसका ७ युवा नेता संगठित भएका थिए । त्यतिबेला गगन, धनराज, चन्द्र, गुरु र प्रदीपका अलावा विश्वप्रकाश शर्मा र बद्री पाण्डे मिलेर ‘सात भाइ’को समूह बनेको थियो ।
कांग्रेसका प्रभावशाली युवा नेताहरू संगठित भएपछि पार्टी नेतृत्वलाई चुनौती त थपिने नै भयो । त्यसबाट सशंकित भएका पार्टी सभापति शेरबहादुर देउवाले यो समूहलाई फुटाउन नयाँ कार्ड प्रयोग गरे, विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाएर । प्रवक्ताको जिम्मेवारी पाएपछि विश्वप्रकाश नेतृत्वविरुद्ध बोल्न छाडेका छन् । युवा नेताहरूको समूहमा अहिले उनको उपस्थिति छैन ।
देउवा त्यतिमै रोकिएनन्, उनले बद्री पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाए । राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएपछि पाण्डे पनि समूहबाट अलग भइसकेका छन् ।
७ मध्ये २ जनाले छाडेपछि युवा नेताहरूको समूह ५ जनामा सिमित बनेको थियो । तर केन्द्रीय समिति बैठकसम्म आइपुग्दा २ नयाँ सदस्य थपिएका छन्, फेरि बनेको छ, सात भाइको समूह । समूहका नयाँ २ सदस्य रामकृष्ण यादव र जीवन परियार हुन् ।
यस्तो छ सात भाइको प्रस्ताव :