
काठमाडौं – वि.सं. २०६० सालमा राम्रो कामका लागि मलेसिया पठाइदिने भन्दै सुनसरीका देवीप्रसाद दाहालसँग नेपाल डाइनेस्टी ओभरसिस प्रा.लि. नामको म्यानपावर कम्पनीले एक लाख रुपैँया माग्यो ।
राम्रो काम भनेपछि दाहालले साउन ६ गतेका दिन उक्त म्यानपावर कम्पनीका सञ्चालकद्वय गोपाल थापा मगर र जयराम पौडेलाई एक लाख बुझाए ।
कम्पनीले विदेश जाने योजनामा रहेका अन्य व्यक्तिलाई पनि ल्याएमा दाहाललाई छुट समेत दिने बतायो ।
विदेश पठाउन प्रोसेसिङका लागि शुरुमा २५ हजार चाहिने भन्दै कम्पनीले युवाहरूसँग २५/२५ हजार जम्मा गरेर ल्याउन भनेको थियो ।
दाहालले आफूले छुट पाउने आशामा गाउँका ५ जना युवासँग २५ हजारका दरले पैसा पनि उठाइसकेका थिए । तर उक्त म्यानपवार कम्पनीले दाहाललाई भनेको समयमा विदेश पठाएन ।
आफैंलाई समेत विदेश जान भिसा आउँदैछ भनेर म्यानपावरवालाले झुलाउन थालेपछि उनले गाउँका युवाहरूसँग उठाएको पैसा फिर्ता गरिदिए ।
‘मैले १ लाख भने अगाडि नै बुझाइसकेको थिएँ । त्यो म्यानपवारवालाले खाइदिए,’ दाहालले लोकान्तरसँग भने, ‘म आफैँलाई समयमा विदेश नपठाएपछि गाउँका पाँचजना भाइहरूको पैसा मैले म्यानपावरलाई नदिई उनीहरूलाई नै फिर्ता गरिदिएँ ।’ अन्ततः दाहालको पैसा फस्यो ।
विदेश पठाइदिन्छु भनेर नपठाएपछि दाहालले श्रम तथा रोजगार प्रर्वद्धन विभाग बानेश्वरमा २०६० साल माघ २६ गते निवेदन दिए । म्यानपावर कम्पनीलाई दिएको एक लाख रुपैँयाको बिलको प्रमाण दाहालसँग थियो ।

निवेदन दिएको करीब डेढ वर्षपछि विभागले आफूलाई पाँच हजार रुपैयाँ मात्रै दिलाएको उनले बताए ।
उनले भने, ‘मलाई त्यतिबेला ल तपाईले पाँच हजार रुपैयाँ पाउनुहुन्छ भनेर दिए । मैले त्यो पैसा लिएँ । पछि बुझ्दा म्यानपावरले खाएको मेरो पूरै पैसा फिर्ता पाउने रहेछु भन्ने थाहा पाएपछि मैले फेरि उजुरी गरेँ ।’
व्यजसहित ३ लाख तिरे ऋण !
२०६० सालमा दाहाल भर्खरै स्नातक तहको परीक्षा सकेर बसेका थिए । घरमा बुबा, आमा र हजुरआमा र उनी मात्रै थिए । स्नातकसम्मको पढाइसँगै घरको जिम्मेवारी पनि बढ्दै थियो ।
त्यही जिम्मेवारी पूरा गर्न दाहालले विदेश जाने योजना बनाएका थिए । विदेश गएर धन कमाउने आशामा दाहालले गाउँमा साहुसँग एक लाख रुपैँया ऋण लिएर म्यानपावर कम्पनीलाई बुझाएका थिए ।
तर म्यानपवार कम्पनी पैसा लिएर भागेपछि उनी विदेश जान पाएनन् ।
स्नातक तहको परीक्षा दिएर बसेका दाहालले नेपाल रेडक्रस सोसाइटीमा जागिर पाए । उनले नेपालमै गरेको जागिरबाट साहुसँग लिएको ऋणको ब्याजसहितको रकम तीन वर्ष लगाएर तिरेको बताए ।
‘साहुबाट विदेश जान लिएको ऋण ब्याज समेत गरेर तीन लाख तिर्नुपर्यो । मेरो तीन वर्षको कमाइ साहुको ऋण तिर्दैमा सकियो,’ उनले पछुतो मान्दै भने, ‘त्यो बेलामा एक लाखमा काठमाडौंमा चार आना जग्गा आउँथ्यो । त्यतिबेला काठमाडौंकै जग्गामा लगानी गरेको भए अहिले म दुई करोडको मालिक हुन्थेँ । यसरी दैनिक विभाग धाउनु पर्ने पनि थिएन ।’
१५ वर्षमा २० पटक धाए विभाग
दाहालले १५ वर्षको समयअवधिमा उक्त म्यानपावर कम्पनीविरुद्ध चारपटक उजुरी दिइसकेका छन् । उनी २० पटकभन्दा बढी वैदेशिक रोजगार विभाग धाइसकेका छन् । दाहालले विभागलाई म्यानपवार सञ्चालकलाई कारवाही गर्ने/नगर्ने जानकारी दिनुस् भनेर समेत निवेदन दिए । तर विभागका कर्मचारीले हुँदैछ भनेर टार्ने गरेको उनको गुनासो छ ।
‘मैले चारपटक निवेदन दिइसकेको छु । विभागले म्यानपवारलाई कारवाही गर्ने मनसाय नै राख्दैन । भरसक आलटाल मात्रै गर्ने नियत राखेको छ,’ उनले गुनासो गरे, ‘केही दिनअघि पनि गएको थिएँ । खोज्दैछौं, गर्दैछौं मात्रै भन्छन् ।’
म्यानपावर कम्पनीको धरौटी रकम वा सञ्चालकको सम्पत्तिबाट पीडितको रकम दिलाउनु पर्ने भएपनि विभागले पीडितलाई बेवास्ता गरेको उनको आरोप छ । उनले आफूले वैदेशिक रोजगार विभागमा लिएको निवेदन र म्यानपावरको फाइल नै गायव गरिएको र आफूलाई झुलाउने मात्रै गरेको गुनासो गरे ।
यता वैदेशिक रोजगार विभागले भने उक्त म्यानपवार कम्पनी खारेज भइसकेको जनाएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिपकुमार चापागाइँ म्यानपवार कम्पनीको धरौटी रकमबाट ठगीमा परेकाहरूको रकम फिर्ता गरेपछि मात्रै कम्पनी खारेज गरिने बताउँछन् ।
सुनसरीका दाहालले क्षतिपुर्ति नपाएको विषयमा प्रश्न गर्दा उनले भने, ‘हामीले पीडितलाई क्षतिपुर्ति भराएर मात्रै कम्पनी खारेजी गर्छौं । धेरै पुरानो केस रहेछ । यो विषयमा बुझ्न समय लाग्छ । म बुझेर जानकारी दिन्छु ।’