२७ असार २०८३, शनिबार

‘सरकारी मोटरबाटो खनेको ऋण लैनो भैंसी बेचेर तिरें, गणतन्त्र भ्रष्टाचारीलाई मात्र आएछ’ [भिडियोसहित]

कात्तिक २०, २०७४
‘सरकारी मोटरबाटो खनेको ऋण लैनो भैंसी बेचेर तिरें,  गणतन्त्र भ्रष्टाचारीलाई मात्र आएछ’ [भिडियोसहित]
पात्लेखेत (काभ्रे), १६ फागुन – काभ्रेपलाञ्चोक जिल्लाको पात्लेखेत गाउँ विकास समितिका अगुवा किसान केदारनाथ ओझा गाउँमा पुुगेको मोटर बाटोको स्तरोन्नति हुने खबरले तीन वर्षअघि जति खुशी थिए, उनकै शब्दमा त्यसभन्दा दशौं गुणा बढी दुःखित छन् अहिले । २०७० सालमा उनको गाउँमा पु–याइएको मोटरबाटोको स्तरोन्नति गर्न जिल्ला विकास समिति काभ्रेले तीन लाख ३६ हजार रुपैयाँ छुट्ट्याएपछि ओझा मात्रै होइन सिंगो गाउँका बासिन्दा दंग परेका थिए ।
गाउँमा खनिएको मोटरबाटोमा सवारी गुडाउन सम्भव भइरहेको थिएन । सडकको स्तरोन्नति अति आवश्यक भइसकेको थियो । स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दा जिविस धाएको धायै गरे । त्यही चाहनालाई सम्बोधन गर्दै जिविसले करीब साढे तीनलाख रुपैयाँ विनियोजन गरिदियो ।

बजेट परेपछि गाउँमा छलफल शुरु भयो – जतिसक्दो छिटो उपभोक्ता समिति गठन गरेर बजेट सदुपयोग गर्ने र गाउँमा मोटर कुदाउने । सबै गाउँले सक्रिय भए बाटो खन्न । उपभोक्ता समिति त बनाउने भइयो, तर अध्यक्ष को बन्ने ? गाउँका बासिन्दामाझ निकै लामो छलफल भयो । र गाउँमा वर्षौंदेखि सामाजिक काममा सक्रिय रहँदै आएको नाताले केदारनाथ ओझालाई उपभोक्ता समितिको अध्यक्ष बनिदिन धेरैले आग्रह गरे ।  

शुरुमा ओझाले अध्यक्ष बन्न त्यति जाँगर देखाएनन् । गाउँलेको दबाब र अनुरोध बढ्न थालेपछि उनले अध्यक्ष पद स्वीकार गरे । आर्थिक वर्ष २०७०/०७१ मा जिल्ला विकास समिति काभ्रेले अरनिको राजमार्गदेखि बीपी राजमार्ग जोड्ने पाँचखाल–पात्लेखेत–काभ्रे भञ्ज्याङ मोटरबाटोको स्तरोन्नतिको लागि परेको योजना पूरा गर्न स्थानीय बासिन्दा कम्मर कसेर लागिपरे ।

अध्यक्षको नाताले उपभोक्ता समितिमा रहेका केही जाँगरिला स्थानीय बासिन्दालाई साथमा लिएर ओझा बाटो खन्ने कामदारको खोजीमा जुटे । गाउँकै केही कामदारलाई मोटरबाटोको स्तरोन्नति गर्ने जिम्मा दिए । अर्थात् केही कामदारलाई बाटो खन्ने काममा लगाइयो ।

बाटो निर्धारित समयमै सम्पन्न भयो । जिम्मा दिएको काम पूरा गरेपछि कामदारले ज्याला माग्न थाले भने बाटो खन्दा प्रयोग गरिएका सामग्रीको बिल पनि तिर्नुपर्ने बेला भयो । कामदारहरू उपभोक्ता समितिका अध्यक्षा ओझाको घर धाउन थाले, ज्याला माग्दै ।

ओझाले शुरुमा जिल्ला विकास समिति र उक्त गाउँमा मोटरबाटोको निरीक्षणको जिम्मेवारी पाएका जिविसका सडक प्राविधिक हरिश्चन्द्र लामिछानेलाई सम्पर्क गरे । आफूहरूले बाटो खन्ने काम पूरा गरेको भन्दै रकम भुक्तानीका लागि निवेदन दिए । शुरुमा प्राविधिक लामिछानेले पनि प्रतिवेदन तयार पारेर भुक्तानी दिने जवाफ दिए ।

समय बित्दै गयो । ओझाको घरमा कामदारहरू ज्याला माग्दै धाउने क्रम बढ्न थाल्यो । ओझामाथि दबाब बढ्यो तर जिविसले ७६ हजार रुपैयाँ कटाएर मात्र भुक्तानी दियो । ओझा त्यतिबेला छाँगाबाट खसेझैं भए जतिबेला जिविसले पूरै भुक्तानी दिन अस्वीकार ग–यो ।

पूरै रकम भुक्तानी नदिनुको कारण खोज्दै ओझा जिविस कार्यालय त सयौंपटक धाए नै, जिल्लाका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरूलाई भेटेर आफूहरूले कुनै गल्ती नगरेको भन्दै पूरै रकम निकासाका लागि अनुनय विनय गरे ।

बाटो खन्दा आफूहरूले कुनै गल्ती नगरेको, एक सुको पनि तलमाथि नपारेको, भने अनुसार नै बाटो खन्ने काम सम्पन्न गरेको भन्दै पूरै रकम निकासका लाािग पहल गरिदिन आग्रह गरे ओझाले ।

‘जो जो नेतालाई भेटेर रकम निकासका लागि सहयोग गरिदिन आग्रह गरें, ती सबैले सहयोग गर्ने आश्वासन मात्र दिए,’ ओझाले गाउँमा पुगेको लोकान्तर टिमसँग भने, ‘कैयौं महिना रकम पाउने आशामा पर्खेर बसें । तर बाटो खन्दा लागेको ७६ हजार रुपैयाँ निकासाको पहल गर्न कोही तयार भएनन् । जिविसले ७६ हजार नदिने अड्डी लिएपछि माया मारें ।’

लैनो भैंसी बेचेर ७६ हजार ऋण चुक्ता

ओझा गाउँका गण्यमान्यमा पर्छन् । उनी पुरेत्याइँ पनि गर्छन् । गाउँमा पुरेत्याइँ गर्ने मानिसले झुटो नबोल्ने मान्यता राखिन्छ । तिनै ओझा उनको गाउँ पुगेको लोकान्तर टिमसँग चाहिँ निकै आक्रोशित मुद्रामा खरो उत्रिए । उनको पूरै गुनासो विना कुनै गल्ती सामाजिक काम गरेबापत ७६ हजार रुपैयाँ आफ्नो खल्तीबाट तिर्न परेकोमा केन्द्रित थियो ।
बाटो खन्दा लागेको रकममध्ये जिविसले ७६ हजार रुपैयाँ भुक्तान दिन नमानेपछि त्यसको भार ओझाको थाप्लोमा आइपरेको हो ।

‘यति प्रयास गरें, यति धाएँ, यति रोइकराइ गरें तर ७६ हजार रुपैयाँ निकासाका लागि कि कसैले पनि सुनुवाइ गरेन,’ ओझाले भने, ‘केही सीप नलागेपछि घरको लैनो भैंसी ७० हजार रुपैयाँमा गाउँकै एकजनालाई बेचें र बाटो खन्दा लागेको ऋण चुक्ता गरें ।’

उनले गाउँमा समाजसेवा गर्न अग्रसर भएबापत आफूमाथि ठूलो अन्याय भएको भन्दै गहभरि आँसु पारे ।
‘त्यो जिविसको सडक प्राविधिक हरिश्चन्द्र लामिछानेले हामीले खनेको बाटो ठीक थिएन भने समयमै बाटो खन्न किन रोकेनन् ?’ ओझाले प्रश्न गरे, ‘बाटो खनिञ्जेल ठीक, खनेर बजेट खर्च पनि भएपछि भुक्तानी दिने बेलामा चाहिँ गाउँका फटाहासँग मिलेर ७६ हजार भुक्तानी दिन मिल्दैन भनेर निर्णय गर्न मिल्छ ?’

लोकतन्त्र र गणतन्त्र गाउँका टाठाबाठा र ओझाकै शब्दमा भ्रष्टचारीलाई आएको उनको गुनासो छ ।

‘गणतन्त्र आएर मलाई के भो ? गणतन्त्रमा मैले सरकारी बाटो खन्दा लागेको पैसा लैनो भैंसी बेचेर तिर्नुपर्ने ?’ ओझाले थपे, ‘ममाथि यति साह्रो अन्याय गर्नेलाई कहिल्यै राम्रो हुनेछैन ।’

जिल्ला विकास समितिका इन्जिनियरहरूलाई खुशी पार्न नसक्दा आफूमाथि ठूलो अन्याय भएपनि कसैले वास्ता नगरेको ओझाको गुनासो छ ।


मोटरबाटोको स्तरोन्नतिका लागि जिल्ला विकास समितिले बजेट छुट्ट्याएसँगै गाउँलेहरूले दिएको जिम्मेवारीअनुसार आफू बाटो बनाउन बनेको उपभोक्ता समितिको अध्यक्ष भएको उनको भनाइ छ ।

ओझाका अनुसार १० किलोमिटिर मोटरबाटोको स्तरोन्नतिका लागि जिविसले बजेट छुट्ट््याएपछि गाविस सचिव विश्वनाथ दाहाल र गाउँलेहरूले पटकपटक उनलाई उपभोक्ता समितिको अध्यक्ष बन्न आग्रह गरेका थिए ।
अध्यक्ष बनेलगत्तै उनकै पहलमा मोटरबाटोमा तारजाली र ढुंगा छाप्ने कामहरू भएका थिए ।

‘हामीले बाटोमा छापेका एउटा मात्र ढुंगा उप्केको भए मलाई देखाइदिनुस्, म जस्तोसुकै सजाय भोग्न तयार छु,’ ओझाले लोकान्तरसँग भने, ‘गणतन्त्रमा यति साह्रो अन्याय हुन्छ भने यो व्यवस्था मलाई किन चाहियो ?’

असार मसान्तसम्ममा मोटरबाटोको काम सक्नुपर्ने निर्देशन दिइएकोमा आफूहरूले असार २६ गते नै मोटरबाटोको स्तरोन्नतिको काम सम्पन्न गरेर जिम्मेवारी पूरा गरेको उनले बताए ।

‘थोरै बजेटमा पनि गुणस्तरीय काम गरेर देखायौं हामीले,’ उनले भने, ‘गाउँको बजेटमा भ्रष्टाचार गर्न पल्केकाहरूले अब कुनै पनि बाटोको काम आफ्नो भागमा नआउने भन्दै इन्जिनियरलाई बजेट फर्छ्योट नगर्न दबाब दिए । मलाई फँसाइयो र लैनो भैंसी बेचेर ऋण तिर्न बाध्य पारियो ।’

इन्जिनियर रिझाउनका लागि अप्रत्यक्ष रूपमा आफूसँग रकम मागिएको दाबी पनि ओझाले गरे ।
राम्रो काम गरेकाले ओझा र बाटो उपभोक्ता समितिका सदस्यहरू बजेट पाउने आशमै थिए ।  

‘शुरुमा राम्रो काम गरेको तारिफ गर्ने जिविस काभ्रेले पछि मोटरबाटोको रकम फ्रिज गरिदियो,’ उनले थपे, ‘इन्जिनियरहरूलाई घुस खुवाउन सके नगरेको कामको पनि रकम भुक्तान हुन्छ, राम्रो काम गर्ने तर घुस नखुवाउनेहरू मजस्तै पीडित बन्नुपर्छ,’ ओझाले भने ।

लोकान्तरसँग कुरा गर्दै पात्लेखेत गाविसका स्थानीय बासिन्दाले राम्रो काम गर्नेले ओझाकै नियति भोग्नुपर्ने बाध्यता रहेको बताए ।

ओझाका अनुसार गाउँमा मोटरबाटो खन्न र अन्य विकास निर्माणको लागि आउने ४ लाख रुपैयाँको काम गर्दा तीन लाख भ्रष्टाचार हुने गर्छ ।

‘चारलाख रुपैयाँ बजेट आउँछ । एकलाखको काम गर्छन् वाँकी खान्छन्,’ ओझाले सुनाए ।

मूल्यांकन नपुगेर ७६ हजार रुपैयाँ रोकिएको हो : लामिछाने

जिल्ला विकास समितिका प्राविधिक हरिश्चन्द्र लामिछिानेले इस्टिमेट (अनुमान गरेअनुसार) उपभोक्ता समितिले काम सम्पन्न नगरेकाले ७६ हजार रुपैयाँ भुक्तानी नदिएको लोकान्तरलाई बताए ।

‘मैले पात्लेखेतमा गएर सडकको अनुमानित लागत अध्ययन गरेको थिएँ र सोहीअनुसार काम सम्पन्न गर्न भनेको थिएँ,’ लामिछानेले भने, ‘उहाँहरूले गरेको कामको मूल्यांकन गर्दा सन्तुष्टि जनाउने अवस्था थिएन । मूल्यांकन नपुगेका कारण ७६ हजार रुपैयाँ भुक्तान नभएको हो ।’

गाउँका टाठाबाटासँग मिलेर आफूले कुनै गलत काम नगरेको लामिछानेले बताए ।

‘आरोप त जसले जे लगायो पनि भयो,’ उनले थपे, ‘ममाथि लगाएका आरोप प्रमाणित गर्न सक्नुहुन्छ ? मैले त उतिबेलै सबैलाई जम्मा पारेर यो यो कारणले पूरै भुक्तानी दिन नसक्ने जानकारी गराएकै हो नि ।’

बाटो खन्दा प्रयोग गरिएका सामग्री, ढुंगा, जाली र कामदारको तलब महंगो परेको हुनाले पनि उपभोक्ता समितिको सोच र आफूहरूको मूल्यांकन फरक परेको हुनसक्ने लामिछानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्