निर्मला प्रकरणमा प्रहरी अनुसन्धान : फेरि पनि हात लाग्यो शून्य !

प्रशान्त ओझा
प्रशान्त ओझा

लोकान्तरका विशेष संवाददाता प्रशान्त ओझा अदालत, प्रशासन र संवैधानिक निकायको रिपोर्टिङ गर्छन् ।

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सोमवार पत्रकार सम्मेलनमार्फत् मनको ‘भडास’ पोखे । 

कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा एकपछि अर्को विवादमा पर्दै गएको प्रहरी संगठनका प्रमुखले ‘मिडियाको भूमिका’बारे केही समय सञ्चारकर्मीलाई नै ‘पाठ’ पढाए ।


Advertisement

निर्मला प्रकरणको अनुसन्धान ‘शून्य’मा रहेको भन्ने खालका समाचारप्रति आईजी खनालको आपत्ति थियो । प्रहरीको अनुसन्धान या त पूर्ण हुने नभए प्रक्रियामा रहने भन्दै आईजी खनालले अनुसन्धान कहिल्यै पनि शून्यमा नरहने जिकिर गरे । सञ्चारमाध्यममा आउने कतिपय समाचारले आफूहरूको अनुसन्धान नै प्रभावित हुने गरेको उनको भनाइ थियो । 

निर्मला प्रकरणमा प्रहरीको अनुसन्धान अहिले कहाँ पुग्यो त ? सञ्चारकर्मीले सोधेका यस्तैखाले प्रश्नमा आईजी खनालले स्पष्ट जवाफ दिन सकेनन् । बरु, अनुसन्धानका नाममा ‘निर्दोष’ व्यक्तिलाई यातना दिएको ‘दोष’बाट उम्कन खोजे, माफी मागेर । हतारमा नतिजा खोज्दा केही गल्ती भएको उनको भनाइ थियो । 


Advertisement

अनुसन्धानका नाममा के–केसम्म गर्ने ? निर्मलाको बलात्कारपछि हत्या भएको एक महिना पुग्न लाग्दा प्रहरीले भीमदत्तनगरकै दिलीपसिंह विष्टलाई पक्राउ गर्‍यो, भदौ पहिलो साता । दिलिपलाई ‘अपराधी’ करार गर्न प्रहरीले आफ्नो हद नै पार गर्‍यो । घरमा गएर दिलिपले लगाउने सर्टको खल्ती च्यातेर घटनास्थलमा फाल्ने, घटनास्थलमा गएर प्रमाण भेटिएको भन्दै मुचुल्का उठाएर उनलाई निर्मलाको हत्यारा करार गर्न खोजियो । अन्नतः डीएनए नमिलेको भन्दै उनी रिहा भए । 

पहिलेदेखि नै मानसिक स्वास्थ्य ठीक नभएका दिलिप हिरासतमा रहँदा प्रहरीले दिएको यातनाका कारण अहिले झन् गम्भीर रूपमा विक्षिप्त भएका छन् । 

घटनाको अनुसन्धानका नाममा एकपटक ‘गल्ती’ गरिसकेको प्रहरीले पुनः उही प्रकारको गल्ती दोहोर्‍याएको छ । भीमदत्तनगरकै विशाल चौधरीलाई हिरासतमा लिएर प्रहरीले पुनः दिलिप विष्टलाईजस्तै अपराध सकार्न यातना दिएको घटना बाहिरिएको छ । 

पछिल्लो समय सरकारका मन्त्रीदेखि प्रहरीका अधिकारी समेतले निर्मला प्रकरणका दोषी पत्ता लागिसकेको बताइरहँदा विशाललाई यातना दिएर अपराध स्वीकार्न लगाएको घटना बाहिरिएको छ । 

मंसिर १९ गते पक्राउ परेका विशाल डीएनए नमिलेपछि छुटेका छन् । प्रहरीले विशाललाई परिवारको जिम्मा त लगायो, तर हिरासतमा रहँदा पाएको यातनाले उनको मानसिक अवस्था नै असमान्य बन्न पुगेको छ । परिवारले विशाललाई गैरकानूनी रूपमा थुनामा राखेर यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएको छ । 

प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको भन्दै भीमदत्तनगरकै प्रदीप रावललाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ । मंसिर १८ गते प्रदीपमाथि फरक–फरक मुद्दामा म्याद थपेर ‘अनुसन्धान’ भइरहेको प्रहरी दाबी छ । तर, प्रदीपको परिवारले भने उनलाई फसाउन खोजिएको आरोप लगाउँदै आएको छ । 

प्रहरीका अधिकारीले नै केही सञ्चारकर्मीलाई उनीसँग लिइएको बयान देखाएर निर्मला हत्याका ‘वास्तविक अभियुक्त’ पक्राउ परिसकेको भन्नेसम्मका प्रचार पनि गर्न लगाए । तर, प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाको रिपोर्टले प्रदीपको डीएनए निर्मलाको भेजिनाबाट संकलन गरिएको भनिएको ‘स्वाब’सँग नमिलेपछि प्रहरी नेतृत्व पुनः दबाबमा परेको छ । 

मंसिर १८ गते काठमाडौंबाट नियन्त्रणमा लिइएका प्रदीपको बयान लिन प्रहरी महानिरीक्षक खनाल आफैं केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कार्यालय पुगेका थिए । साबिती बयानका आधारमा प्रदीप निर्मलाको बलात्कारमा संलग्न रहेको भन्ने जसरी प्रचार पनि गरियो । तर अन्ततः उनको पनि डीएनए नमिलेपछि प्रहरीको असफलता छताछुल्ल भएको छ । 

अनुसन्धानको उपलब्धि : हात लाग्यो शून्य !

निर्मलाको बलात्कारपछि हत्या भएको ५ महिना पूरा भइसकेको छ । यस अवधिमा प्रहरीले ‘नक्कली अभियुक्त’ खडा गर्नेदेखि कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई बर्खास्त गर्नेसम्मका ‘काम’ भएका छन् । तर वास्तविक अभियुक्तबारे प्रहरीले सामान्य ‘संकेत’ समेत प्राप्त गर्न सकेको छैन । 

घटनाको प्रारम्भिक अनुसन्धाकै क्रममा प्रमाणहरू नस्ट गरिएकाले निर्मला प्रकरणको अनुसन्धान झन पेचिलो बन्दै गइरहेको छ । प्रहरीले निर्मलाको योनीबाट संकलन गरिएको भनिएको ‘स्वाब’लाई प्रमुख प्रमाणका रूपमा ‘सुरक्षित राखेको’ भनेपनि उक्त ‘स्वाब’माथि समेत पूर्ण रूपमा भर पर्न सकिने अवस्था छैन । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनाली नेतृत्वको अनुसन्धानन टोलीले पनि निर्मलाको योनीबाट संकलन गरिएको स्वाब ‘भरपर्दो’ नभएको संकेत गरेको छ । 

यस्तो अवस्थामा घटनाको अनुसन्धान ‘भनेजस्तो सजिलो’ त छैन । तर अनुसन्धानका नाममा ‘निर्दोष’ व्यक्तिलाई यातना दिएर अपराध सकार्न लगाउने र त्यसको प्रचार गरेर अभियुक्त पक्राउ गरिसकेको भनेर प्रचार गर्न लगाउनेजस्ता प्रहरीका गतिविधिले घटनाको अनुसन्धान अहिले नै निष्कर्षमा पुग्ने देखिँदैन । पीडित परिवार र सर्वसाधारणले प्रहरीका यस्ता गतिविधिलाई अभियुक्त जोगाउने ‘हरकत’का रूपमा बुझेका छन् ।

प्रशान्त ओझा
प्रशान्त ओझा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्