
काठमाडौं- ललितपुरको पाटनढोका नजिकै छ- 'ललित भोजनालय' ।
अफिस आवर अर्थात् लगभग १० बजे भोजनालयको बाहिरैसम्म मानिसहरूको भीड थियो । बाहिरमात्रै होइन भोजनालायभित्र पनि चाप उत्तिकै थियो ।
यहाँ मानिसहरूको भीड हुनुको कारण हो- सस्तोमा स्वादिष्ट खाना ।
हामी त्यहाँ पुग्दा मानिसहरूको संख्या बाक्लो नै थियो । होटलका स्टाफहरूलाई बोल्नेसमेत फुर्सद थिएन ।
हामीले सोध्यौं- फोटो खिच्न मिल्छ ?
'फोटो चाहिँ खिच्नु, अहिले बोल्ने फुर्सदनै हुँदैन । कुरा गर्न दिउँसोतिर आउनु । हामी खाली हुन्छौं ।'
उनले हाम्रो कुरा बुझे । हामी फर्क्यौं ।
दिउँसो लोकान्तरकर्मी त्यहाँ पुग्दा कुमार तामाङ (३१) स्कुस ताछ्दै थिए । उनकी श्रीमती बिना तामाङ भने फर्सी पखाल्दै थिइन् । 'बेलुका र भोलि बिहानका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्यो नि !' कुमारले भने ।
यसरी खोलियो भोजनालय
ललितपुर गोटीखेलका कुमार तामाङले पाटन ढोकामा खाना बेच्न थालेको ८ वर्ष भयो । उनको होटलमा शुरूको दुई वर्ष खाजा मात्र पाइन्थ्यो । शुरूमा त्यतिसारो मान्छे आउँदैनथे । तर पछि उनलाई लाग्यो- पाटन क्याम्पस आसपासमा कुनै पनि खाना होटल छैन । अफिसहरू पनि टन्नै छन् । एउटा भोजनालय खोल्न पाए चल्थ्यो कि !
बजारमा बेच्ने रेटमा खाना दिँदा हाम्रोमै मान्छे किन आउने भन्ने उनलाई लाग्यो । सोचे- केही त फरक गर्नैपर्छ ।

त्यसपछि कुमारले अन्तभन्दा केही सस्तोमा स्वादिष्ट खाना दिने निर्णय गरे । उनले शुरूका दिनहरूमा सादा खानाको ४० रुपैयाँमै दिन थाले । तर अन्य भोजनालयतिर ६०-७० रुपैयाँ पर्थ्यो ।
शुरूआती दिनलाई उनी यसरी सम्झिन्छन्, 'पहिला दिनमा २०- ३० जना मात्रै खाना खान आउँथे । त्यहाँबाट बढ्दै गएर १०० पुगे । अनि डेढ सय हुँदै अहिले बिहानमात्रै ३५० जनाले खाना खान्छन् । बेलुका भने लगभग १५० जनाले खान्छन् ।'
बजारमा सामानको मूल्य बढ्दै गएपछि आफूहरूले खर्चअनुसार रेट बढाउँदै ७० पुर्याएको उनी बताउँछन् ।
उनका अनुसार सस्तो रेटमै गुणस्तरीय खाना खुवाउन सकिन्छ । उनी भन्छन्, '७० रुपैयाँमै थोरैलाई खुवायो भने त पुग्दैन । अलि धेरै अथवा ३५० जति मान्छेलाई खुवायो भने मज्जाले पुग्छ । धेरैलाई खुवाउँदा सस्तोमा पनि राम्रो खाना खुवाउन सकिन्छ ।'
अचम्मको कुरा के भने उनको व्यवसायमा परिवारका सबै सदस्यहरू सहभागी छन् । आठ जनामा सात जना परिवारकै छन् भने एक जना कुकलाई पारिश्रमिक दिएर राखेका छन् । उनी भन्छन्, 'उनी शुरूआती दिनदेखि नै हामीसँगै काम गरेको भएकाले उनी परिवारका सदस्य जत्तिकै छन् । हजुरआमा, बाआमा, बहिनी, श्रीमतीलगायत यसमा खटिएका छौं ।'
कुमार आफ्नो व्यवसायप्रति पूर्ण सन्तुष्ट छन् । उनको भनाइलाई मान्ने हो भने व्यापारको ४० प्रतिशत नाफा हुन्छ । भन्छन्, 'हिसाब गर्दा खेरी दिनको १५/१६ हजार रुपैयाँ बच्छ ।'
जब उज्यालो हुन्छ, उनलाई सटर खोल्न हतार हुन्छ । ६ नबज्दै उनले सटर तानिसकेका हुन्छन् ।
बिहान ९ बजे खाना तयार गर्नका लागि उनको टीम जोडतोडले खटिन्छ । नातिको काममा हजुरआमाले पनि सकेको सघाउँछिन् । उनी नातिको पौरखमा मख्ख छिन् । त्यस्तै बाआमादेखि बहिनीसम्मलाई ९ बजेदेखि १२ बजेसम्म फुर्सद हुँदैन ।
काम गर्दागर्दै तामाङ परिवार आफ्नै घर जानसमेत भ्याउँदैन र त नजिकै फ्ल्याट भाडामा लिएर बसेका छन् । कुमार भन्छन्- ९ बजे सटर लगाउँछौं । १० बजेसम्म भोलिका लागि तयारी थाल्छौं । '
'मानिसहरू कुरेरै भएपनि खाना खान्छन्, खुशी लाग्छ,' उनले सन्तुष्टि व्यक्त गरे ।

ललित भोजनालयमा एक लटमा लगभग २० जना अट्छन् । बिहानको समयमा सबै प्याक हुन्छ । मानिसहरू उभिएरै खानाका लागि कुर्छन् । उनी भन्छन्, 'हाम्रो सेवाकै कारण मानिसहरू कुरेरै भएपनि खाना खान्छन् । यस्तोमा को खुशी नहोला र ?'
उनको भोजनालयमा दिनमा ३ बोरा अर्थात् ७५ किलो चामलको खाना पाक्छ । उनी खुशी हुँदै भन्छन्, 'कहिलेकाहीँ तरकारी सकिँदा पनि मानिसहरू दालभात मात्रै भएपनि थपीथपी खान्छन् ।'
कुराकानीकै क्रममा बाटोमा हिँड्नेहरूले भनेको सुनियो, 'यहाँ खाना खानेहरूको लाइनै हुन्छ ।'
बजारमा तपाईंहरूप्रतिको छापलाई कसरी लिनुहुन्छ ?
उनी मुस्कुराउँदै भन्छन्, 'उहाँहरूले पनि यहाँ खाना खानुभएको होला कुनैबेला । यहाँ एकपटक आएको मान्छे दोस्रो पटक पनि आउँछन् । यस्तोमा म खुशी हुनु सामान्य हो ।'
चिकेन रस सित्तैमा
सादा खानामा उनी चिकेनको झोल सित्तैमा दिन्छन् । त्यसमा कुनै चार्ज लगाउँदैनन् । भन्छन्, 'मान्छेलाई खुशी पार्ने माध्यम हो यो । रस भनेको के नै हो र त्यस्तो लोभ गर्नलाई ।'
उनी प्रश्न गर्छन्, 'रस खाँदा मान्छे खुशी हुन्छन् भने किन नदिने ?'

खाना फाले जरिवाना !
उनलाई खाना खेर फाल्दा नमज्जा लाग्छ, राम्रो ठान्दैनन् । कुनैबेला खाना खेर फाल्नेहरूको संख्या बढ्न थाल्यो र उनले सोचे-यसलाई कन्ट्रोल गर्नैपर्छ ।
त्यसपछि उनले भित्तामा टाँसे- सकेसम्म खानेकुराहरू नफ्याल्नुहोला । फालेमा आवश्यकता अनुसार थप रकम लिइनेछ ।

नभन्दै उनको यो तरिकाले गज्जबको काम गर्यो । दिनानुदिन खाना फ्याल्ने क्रम कम हुँदै लगभग रोकियो ।
उनी भन्छन्, 'रेगुलरले नफ्याँके पनि नयाँ-नयाँले फाल्न थाले । यो टाँसेदेखि फ्याल्न कम भएको छ । अझ भनौं फाल्दै फाल्दैनन् । यस्तो लेख्दा केही हदसम्म कम हुन्छ कि भनेर गरेका हौं । सफल नै भयौं ।'
उनले खाना फालेकै निहुँमा धेरैलाई जरिवाना लगाएका भने छैनन् । थप रकमबारे उनी खुल्छन्, 'धेरै लिएका छैनौं । त्यही हो बढीमा १० रुपैयाँसम्म जरिवाना लगाएका छौं । त्यो पनि निकै कमसँग ।'
रोचक के भने, उनको होटलमा लगाइएको रेटबारे ग्राहकहरू पनि अचम्ममा पर्छन् । 'ग्राहकले मासुभात खान्छन् । कति हो भन्दा मैले १२० भन्छु,' ग्राहकका किस्सा सुनाउँदै उनी भन्छन्, 'ग्राहकहरूले होइन मैले मासु पनि खाएको हो भन्छन् । अनि उनीहरूले जिब्रो काट्दै यति सस्तोमा मासुभात ! भन्दै छक्क पर्छन् ।'
अझ केहीले सादा खाना खाँदा १०० तिरेर हिँड्न खोज्छन् । त्यस्तालाई उनले रोक्छन्, र भनिदिन्छन्- फिर्ता लिनुस् ।