कुनै समय थियो, संगीतकारमा आलोकश्रीको एकछत्र राज थियो । एकपछि अर्को गर्दैै उनका गीत बजारमा आइरहेका थिए । उनको संगीतमा विभिन्न गायकले आफ्नो स्वर दिएका थिए । उनको संगीतले आधुनिक सुगम संगीतमा इँटा मात्रै थपेन । बलियो पिलर नै खडा गरिदियो ।

भर्खरै बाटो एल्बमलाई बजारमा ल्याएका संगीतकार आलोकश्री नेपाली साहित्यका एक दरिला खम्बा हुन् । एल्बम ‘बाटो’ लाई भर्खरै मात्र बजारमा ल्याएका आलोक संगीतको नशामा यसरी डुबेका छन् कि, उनी अब सांगीतिक दुनियाँबाट शायदै बाहिर निस्किन सक्लान् । ‘यही क्षेत्रसँग माया बस्यो । मेरो अरू कुनै पनि कुरामा नशा छैन, नशा भन्नु नै संगीत भएको छ,’ उनी भन्छन् ।
दर्जनौं चलचित्र, गीत तथा आफ्नै एल्बममार्फत नेपालका कुनाकन्दरासम्म फैलिएर रहेका पात्रलाई आफ्नो संगीतको माध्यमबाट एकै समूहमा बाँधेका आलोकका गीत अहिले पनि दर्शकको मनमा गुञ्जिन्छ । ती गीतमा भरिएको संगीतले माहोललाई अझ सृजनात्मक बनाइदिन्छ ।
***
‘त्यसबेला अहिलेजस्तो संगीत पाठशाला थिएनन् । त्यसैले मैले संगीतको औपचारिक शिक्षा लिन पाइनँ,’ आलोकश्रीले लोकान्तरसँग भने ।
अर्थात्, उनले संगीतको औपचारिक शिक्षा लिएनन् । तर उनको संगीतले आममानिसको मनमा सहजै वास गर्न सफल भए ।
बालापनमा उनको सपना संगीततर्फ नै ढल्केको थियो । तर उनलाई संगीतको ज्ञान थिएन । उनका रहरहरू छ्याप्छ्याप्ती फैलिएका थिए । गाउँघरमा आमाले गाउने गीतका भाकामा उनी संगीतको धुन सुन्थे । खेतालाहरूले गाएका गीतमा उनी मनमनै संगीत भरिदिन्थे । उनी ती गीतमा लय भेट्टाउँथे । त्यही लय बिस्तारै संगीतको लय बन्यो ।
गोर्खाको बोहोरा गाउँमा रोधी तथा गीतको भाकासँगै हुर्केका आलोकश्री भाइबैनीलाई फकाउन गाइने लोरीमा पनि उनी संगीत भेट्थे । गाउँमुन्तिर बग्ने चेपेको दोभान र खोलाको सुसेलीमा पनि उनी संगीत भेट्थे ।
‘अहिलेको जस्तो समय भएको भए शायद म बच्चैदेखि संगीतमा लागिसकेको हुन्थें होला,’ उनी आफ्नो बालापनलाई स्मरण गर्दै भन्छन्, ‘तर त्यसबेला संगीत सृजनाको माहोल नै थिएन । सपना मात्र थियो ।’
गाउँमा सुनिरहने ‘रेडियो नेपाल’ नारायणगोपाल, गोपाल योञ्जन, प्रेमध्वज प्रधान लगायतका गीतहरू पनि सुनिरहन्थे । ती गीतले पनि उनको मन लुटेको थियो । ‘काठमाडौं जाँदा त्यो ठाउँ (रेडियो नेपाल)मा जान मन थियो, जहाँबाट बजेका गीत सुनेर हामी हुर्किरहेका छौं,’ आलोक सम्झन्छन् ।
कक्षा आठमा पढ्दा नै आलोकलाई काठमाडौं प्रवेश गर्ने अवसर मिल्यो । अर्थात्, २०४२ सालमा उनी रेडियो नेपाल हेर्न आए । उनलाई आवाजको दुनियाँसँग बडो गज्जबको प्रेम बसेको थियो त्यतिबेला ।
‘म रेडियो नेपाल पुग्दा नातिकाजीको संगीतमा तारादेवीले गीत गाइरहनुभएको थियो । म धेरैबेरसम्म त्यहीँ रमाएँ,’ उनी सम्झन्छन् ।
मनभरि आफ्ना दर्जनौं सपना र खल्तीमा २० रुपैयाँ बोकेर एसएलसीपछि काठमाडौं आए । त्यो समय २०४४ को थियो । त्यसपछि उनको जिन्दगीमा अर्को अध्यायको शुरू भयो । अर्थात् संघर्ष थपियो ।
बसभाडा बोकेर काठमाडौं आएका आलोकश्री आफ्ना काकासँग बस्न थाले । काकालाई काममा सहयोग गरेर अनि केटाकेटीलाई पढाएर उनले एसएलसीको रिजल्ट कुरिरहेका थिए ।
एसएलसीको रिजल्ट आयो । पास पनि भए । त्यसपछि जिन्दगी अझै व्यस्त बन्यो । बिहानमा क्याम्पस । दिउँसो स्कूलमा पढाउँथे । साँझ दुईचारजना केटाकेटीलाई ट्युसन पढाउँथे । कम्प्युटर सिक्थे । बचेको समयमा हार्मोनियम पनि बजाउँथे ।

‘सधैंभरि यही रुटिन चलिरहेको हुन्थ्यो ।’ उनी काठमाडौं आउँदाका आफ्ना शुरूवाती दिन सम्झँदै भन्छन्, ‘त्यसबेला त्यति धेरै समय त हुँदैनथ्यो, तर भएको समयलाई सदुपयोग नै गर्थें ।’ ‘अर्काको कोठामा लुकेर हार्मोनियम बजाउँदा अरूलाई अप्ठेरो पर्ला भनेर कपडाले छोपेर हार्मोनियम बजाउन सिकेको हुँ,’ कुरैकुरामा उनी थप्छन्, ‘मन भएपछि जसरी पनि सिकिँदो रहेछ ।’
काठमाडौं आएको दुई वर्षमै उनले पहिलो गीत रेकर्ड गराए । गीत थियो, ‘जति टाढा भएपनि...’
उनको पहिलो सांगीतिक गीत नै चर्चित भयो । एकातिर संगीतको सपना अर्कोतिर संघर्षरत जीवन । बाँच्नका लागि पेट पाल्नुपर्ने थियो । पेट पाल्नका लागि काम गर्नुपर्ने थियो । साथै पढ्नुपर्ने पनि थियो ।
‘मैले पनि काठमाडौंमा बाँच्नका लागि आम मानिसले जस्तै दुःख गरेको हुँ,’ मुसुक्क मुस्कुराउँदै उनी सुनाउँछन् ।
त्यतिबेलाका चर्चित गायक तथा संगीतकारका गीत सुनेर आलोक आफूलाई बिस्तारै परिष्कृत गर्दै गए । उनको संगीत सृजना अझ लयात्मक बन्दै गयो ।
२०५२ सालमा उनले रामकृष्ण ढकालले गाएको गीतमा संगीत दिए । जुन गीतले उनको सांगीतिक इतिहासलाई अझ व्यापक बनाइदियो । ‘त्यो गीत कालजयी मात्र बनेन, राष्ट्रको सम्पत्ति नै बन्यो,’ उनी सम्झन्छन् ।
‘म सपनाको कुरा गर्छु,’ ‘कहिले तिम्रो पछ्यौरीमा अल्झें,’ ‘वनमाराले वनै खायो,’ ‘म सपनाको कुरा गर्छु,’ ‘हीरा काट्ने हीरैमा’ राखेर लगायतका दर्जनौं गीत एकै समयमा सुपरहिट भएपछि नेपाली सुगम संगीतमा एक्लो नाम गुञ्जिन थाल्यो, उनको संगीतमा ।
आलोकको संगीतमा उदितनारायण झा, रामकृष्ण ढकाल, यम बराल मात्र होइन भारतीय गायक गायिकालाई समेत गीत गाउन लगाए ।
गायक रामकृष्ण ढकालसँग सहकार्य गर्दै जाँदा उनले आफ्नो नाम पनि परिवर्तन गरे । सांगीतिक नाम राखे – आलोकश्री ।
शुरूमा सूर्यकुमार खातीकै नाममा केही एल्बममा संगीत त भरेका थिए उनले । तर उनले आफ्नो सांगीतिक नाम पनि जुराए । उनको आफ्नै नाम बिस्तारै संगीतको पर्याय पनि बन्यो ।
‘दर्शकले मेरो वास्तविक नाम सूर्यकुमार खाती भन्दा आलोकश्रीको नामले चिन्नुहुन्छ । यही नै मेरो सफलता हो,’ उनी मुस्कुराउँछन् ।
‘त्यतिबेला ‘उपहार’ एल्बम नभएको कुनै घर हुँदैनथ्यो,’ उनी सम्झन्छन्, ‘जताततै उनै गीतहरू बजिरहेका हुन्थे ।’
एकपटक उनी नेपाली ताराको अडिसनको सिलसिलामा धरान पुगेका थिए । त्यसबेलामा उनलाई भेट्नकै लागि भनेर खोटाङ तथा दिक्तेलबाट नेपाली आएको उनी सम्झन्छन् । ‘श्रोताहरू मलाई भेट्न कोसौं टाढाबाट आउनुभएको थियो,’ उनी भन्छन् ।
‘विराटनगरबाट एक हुल विद्यार्थी मनकामना आएका थिए । विद्यार्थीले मलाई भेटे । चिने । खुशी भए,’ उनी सम्झँदै रमाइलो मान्दै सुनाउँछन्, ‘त्यसपछि मलाई जुरुक्क उचालेर सबैले सामूहिक तस्वीर खिचे ।’
तीस वर्षे सांगीतिक यात्रामा उनीसँग यस्ता तीसौं घटना भएको उनी बताउँछन् ।

पछिल्लो समयको बजार भने केही फरक भएको आलोकश्रीलाई लाग्छ । ‘अहिले बजार केही बदलिएको छ । हाम्रा दर्शक धेरै बाहिर हुनुहुन्छ,’ उनी थप्छन्, ‘नयाँ पुस्ताले नयाँ खालको प्रयोग गर्न खोज्नुभएको छ ।’
‘अहिलेका गीत तीनमहिने गीत हुन् । दर्शकले केही महिना सुन्छन्, केही महिनापछि नयाँ गीतको खोजी हुन्छन् । ती गीत संगीत हराउँछन्,’ उनको तर्क छ ।
आलोकश्रीलाई लाग्छ, ‘कालजयी गीत तथा संगीतको सृजना नै हुन छोड्यो । अहिले संगीतको स्तर खस्केको छ ।’
संगीत के हो ? ‘संगीत एक भावनात्मक अभिव्यक्ति हो जुन धुनको माध्यमबाट प्रस्फुटित हुन्छ,’ उनी भन्छन्, ‘संगीतमा शृंगार, वेदना, भावना र जीवनको समायोजन पाइन्छ ।’
संगीत सँगसँगै व्यवसायमा पनि आफूलाई उत्तिकै अब्बल साबित गरेका आलोक भविष्यमा भने गाउँमै बस्ने योजनामा छन् । गाउँका मान्छे शहरतिर बसाईं सर्ने क्रम बढिरहेका बेला उनी गाउँ फर्कनुको कारण आफू ‘प्रकृतिप्रेमी’ भएकाले हो गाउँमा बस्न चाहेको बताउँछन् ।
‘संगीतकारका लागि प्राकृतिक वातावरण पनि चाहिन्छ । गाउँमा पाइने जस्तो वातावरण शहरमा पाइँदैन,’ उनी भन्छन् ।
गोर्खामै ५२ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती थालेका आलोकश्री बजारमा शुद्ध र स्वच्छ तरकारी बजार व्यवस्थापन गर्न खोजेको बताउँछन् ।
मन्टेस्सोरी स्कूल तथा विद्यालयका संस्थापक समेत रहेका आलोकश्रीको भविष्यको योजना भने संगीतमै रमाउनेछ । ‘व्यवस्थापन विषय लिएर पढेकाले व्यवसायमा पनि सफल भएको छु कि,’ उनी भन्छन्, ‘संगीतमा रमाउँदै गाउँमै बस्ने मन छ । एउटा नशा भन्नु नै मेरो संगीत हो । प्रकृति मेरो घर हो ।’