०३ साउन २०८३, आइतबार

साठी दिनमै बुझाउनुपर्ने सम्पत्ति विवरण अझै बुझाएनन्, १७ हजार कर्मचारी अख्तियारको फन्दामा

जेठ १९, २०७६
साठी दिनमै बुझाउनुपर्ने सम्पत्ति विवरण अझै बुझाएनन्, १७ हजार कर्मचारी अख्तियारको फन्दामा

काठमाडौं – सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष सकिएको ६० दिनभित्रै सम्बन्धित निकायमा सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी प्रावधान छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको प्रत्येक व्यक्तिले तोकिएको निकायमा आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्छ ।

सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको सम्पत्ति अध्यावधिक विवरण आव सकिएको ६० दिनभित्र हरेक वर्ष पेश गर्नुपर्छ ।

तर, आर्थिक वर्ष २०७४/०७५ सकिएको एक वर्ष बितिसक्दा पनि अझै १७ हजार सरकारी कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित निकायमा सम्पत्ति विवरण पेश नगरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनबाट १७ हजार १ सय २७ कर्मचारीले सम्पत्ति विवरण पेश नगरेको पाइएको हो ।

आर्थिक वर्ष २०७४/०७५ सकिएको ६० दिनभित्रै कर्मचारीले सम्पत्ति विवरण बुझाउनु पर्ने भएपनि अझैसम्म सम्पत्ति विवरण पेश नगरेको सतर्कता केन्द्रले जानकारी दिएको हो ।

सतर्कता केन्द्रको अनुगमन प्रतिवेदन अनुसार निजामती तर्फका १ हजार ९ सय ३९ जना कर्मचारीले सम्पत्ति विवरण पेश गरेका छैनन् । सम्पत्ति विवरण पेश नगर्नेमा सबैभन्दा बढी शिक्षक रहेका छन् ।

२०७४/०७५ मा सम्पत्ति विवरण पेश नगर्ने ११ हजार १ सय ५७ कर्मचारी रहेका छन् । सो आर्थिक वर्षमा ४ सय ६६ जना सैनिकले  सम्पत्ति विवरण नबुझाएका र १ सय २६ जना प्रहरीले सम्पत्ति विवरण पेश नगरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्य करारमा रहेका विभिन्न क्षेत्रका कर्मचारी तथा स्थानीय तहका प्रतिनिधि सहित ९ सय ८१ जनाले सम्पत्ति विवरण पेश नगरेको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण पेश गरे/नगरेको अनुगमन गर्ने अधिकार राष्ट्रिय सतर्कता केन्द्रलाई रहेको छ । सोही ऐनको दफा ३८ मा राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्न सक्ने प्रावधान रहेको छ ।  अनुमगनका क्रममा सम्पत्ति विवरण पेश नगर्ने १७ हजार कर्मचारीमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।

सम्पत्ति विवरण नबुझाउनेको संख्या १४ हजार ६ सय ६९ जना संघीय सरकारबाट रहेको छ । त्यस्तै ४८ हजार प्रदेश सरकार र २ हजार ४ सय १० जना स्थानीय तहका कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण पेश नगरेको व्यक्तिले मनासिव कारण सहित म्याद थपका लागि अनुरोध गरेमा थप एक महिनाभित्र पेश गर्न सक्ने भ्रष्टाचार निवारण ऐनमा व्यवस्था छ ।

थप गरेको म्यादभित्र समेत सम्पत्ति विवरण पेश नगर्ने व्यक्तिलाई  पाँच हजार रुपैयाँ जरिवाना सहित सो व्यक्ति र उसको परिवारको नाममा गैरकानूनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकायले अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान रहेको छ ।

सोही अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान गर्ने सर्तकता केन्द्रका अधिकारीहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्