भदौ ४ गतेदेखि गौरा महोत्वस आयोजना हुने

फाइल फोटो

महेन्द्रनगर – सुदूरपश्चिम क्षेत्रको कला, साहित्य र संस्कृति संरक्षणमा लामो सयमदेखि क्रियाशील रहेको महाकाली साहित्य सङ्गमले आगामी भदौ ४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा गौरा महोत्सवको आयोजना गर्ने भएको छ । 

भदौ ४ गते विरुडा पञ्चमीका दिनदेखि महोत्सवको आयोजना हुने भएको हो ।


Advertisement

गौरा महोत्सवलाई व्यवस्थितरूपमा आयोजना गर्न  सङ्गमका केन्द्रीय अध्यक्ष हरिशप्रसाद जोशीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

महोत्सवमा सुदूरपश्चिमको पहिचान झल्कने झाँकी, हुडकेली, छलिया र परम्परागत पहिरन प्रदर्शन गरिनेछन् । यसको व्यवस्थापनका लागि सङ्गमका उपाध्यक्ष चीना नेपालीको संयोजकत्वमा उपसमिति गठन गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।


Advertisement

गौरा महोत्सवमा ठाडोखेल (ढोल्ङया खेल) औल्याखेल डेउडा (पुरुष महिला) हुडकेली, छलिया, नृत्य गीत गायन (भगनेउला, रतेडा, चाचरी, बैरा) सगुन मङ्गलाचरणलगायतका लोक सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछन् ।

सुदूरपश्चिमको इतिहास झल्काउने पुरातात्विक वस्तुको प्रदर्शनीसँगै लोकबाजा, परम्परागत वेषभूषा, ताम्रपत्र, सुदूरपश्चिमको कला, संस्कृति, साहित्य र इतिहासका पुस्तक महोत्सवमा प्रदर्शनीमा राखिनेछन् । सङ्गमले प्रत्येक वर्ष गौरा पर्वका बेला लोक संस्कृति जगेर्ना गर्न महोत्सव अयोजना गर्दै आएको छ । 

कमेन्ट गर्नुहोस्