आमना खातुनको बेदना : पतिलाई इँटाभट्टामा फालियो, सासुलाई गोली हानियो !

– गगन अर्याल/अजय अनुरागी 

गौर – २०६४ चैत्र २७ गतेको दिन बिहान आमना खातुन आफ्नो घरमा चुलो चुलेसीमा लागेकी थिइन् । रौतहटको तत्कालिन साबिकको सरुवठा गाविस–९ तथा हाल यमुनामाई गाउँपालिका–४ स्थित घरमा उनी आफ्नो काजधन्दामा थिइन् ।


Advertisement

वैदेशिक रोजगारीमा दुबई गएका उनका पति मोहम्मद ओशी अख्तर २ महिनाको बिदामा घर फर्किएका थिए । त्यहीबेला उनका पति अख्तरलाई नेपाली कांग्रेस रौतहटका नेता मह्ताब आलमले बाहिरबाट बोलाएको उनले सुनेकी थिइन् ।

नयाँ बुहारी भएकाले घरभित्र केही मानिस आएको उनले देखेकी थिइन् । १० मिनेट जति समय बितेपछि उनका पतिले खातुनलाई भनेछन् – मोहम्मद आफ्ताब आलमको चुनाव प्रचारमा लैजान आफ्ताबका भाइ मह्ताब आएका छन्, मलाई जानैपर्छ भन्दैछन् ।

खातुनका अनुसार त्यतिबेला आमाबुवा सबै खेततिर गएका थिए । उनले ‘नजानुस्’ भनेर रोक्ने प्रयास गरेपनि अख्तर चुनाव प्रचारमा गए ।

बुवा रुक्साना खातुन र आमा जोहैर मियाँ घर आउँदा छोरा अख्तर नदेखेपछि चुनाव प्रचारमा गएकोप्रति असन्तुष्टि जनाएका थिए ।

चुनाव प्रचारमा गएका अख्तर रातिसम्म घर फर्किएनन् । अख्तर घर नफर्किएको कुरा उनको ससुरालीसम्म पुग्यो । अख्तरको ससुराली त्यही गाउँमा हो । ससुरा समसुल हक पनि ज्वाइँको खोजीमा लागे ।
आफ्ताब आलमको टोल राजपुर जाँदै गर्दा बाटोमै रहेका बेला समसुलले बम बिस्फोटको ठूलो आवाज सुने । उनी घटनास्थलसम्म जान खोजेका थिए तर मान्छेको भागाभाग भइरहेकाले उनले त्यहाँ जान सकेनन् ।

‘उता नजाउ भन्दै कतिपयले हल्ला समेत गरिरहेका थियो,’ आमनाका बुवा समसुलले लोकान्तरसँग भने, ‘डरले गर्दा आफ्नो गाउँ फर्किने वातावरण पनि थिएन, बाध्य भई गहुँ खेतमै डर र त्रासको बीच रात काटें ।’
भोलिपल्ट चैत्र २८ गते संविधान सभाको चुनाव थियो । गाउँबाट बाहिर कतै जाने अवस्था थिएन तर उनी छोरीको सम्पर्कमा थिए, ज्वाइँ घर फर्किएका थिएनन् ।

भिखारीको भेष बनाएर समसुल घटनाबारे बुझ्न आलमको टोल राजपुर पुगे । त्यहाँ स्थानीय आइमाईसँग कुरा गर्दा आलमका काका शेख इद्रिसको घरमा बम बिस्फोट भएको कुरा उनले थाहा पाए । ‘त्यति मात्र होइन, जिउँदै रहेका मानिसलाई इन्जेक्सन दिएर बेहोस बनाएको र आलम आफैंले समेत गाडी चलाएर तत्कालीन सशस्त्र प्रहरीका एसपी कृष्ण लामाको स्कोर्टिङमा बेहोस मानिसलाई बोरामा प्याक गरेर लगेको जानकारी समेत गाउँका मानिसले दिए,’ समसुलले भने, ‘आलमको आफ्नै भान्जा मुस्ताख राजाले सञ्चालन गरेको राजा इँटा उद्योगमा मान्छेलाई बन्चरोले काटेर जिउँदै चिम्नीमा हालेर खरानी बनाएको कुरा सुनियो ।’

समसुलले घटनाबारे थाहा पाएपछि घटनामा मारिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंहका बुवा श्रीनारायण साहसँग सम्पर्क गरे । अख्तरकी आमा रुक्साना र पिन्टुका बुवा श्रीनारायणले आफ्ताब आलम, मह्ताब आलम सहितको किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा उुजरी दर्ता गराउन पुगे तर तत्कालीन एसपी लक्ष्मण न्यौपानेले जाहेरी दर्ता गर्न मानेनन् ।

त्यसपछि पीडितले हुलाकमार्फत पनि जाहेरी पठाए तर दर्ता भएन । पीडितहरू काठमाडौं पुगेर रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरे । त्यसपछि नेपाल बार एसोसिएसन, राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक समेतको टोली आफ्ताब आलमको गाउँ राजपुर फरहदवामा आयो ।

टोली गाउँ पुग्दा समसुल, समसुलकी सम्धिनी रुक्सना खातुन, पिन्टुका बुवा श्रीनारायण पनि थिए । ‘त्यहाँ पुग्दा शेख इद्रिसको घरमा बम बिष्फोट भएको प्रमाणहरू त्यतिकै देखिएको थियो,’ समसुलले भने, ‘बिस्फोटबाट उडेको खपडाको छाना समेतको भाग मर्मत गरिएको थियो ।’

अनुगमन टोली पुगेर स्थलगत निरीक्षण गर्दा आफ्ताब आलमका भाइ मह्ताब आलमले ती टोलीमाथि हातपात गर्नुका साथै दुर्व्यवहार समेत गरेको समसुल बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थिएन भने जिल्ला सरकारी वकीलको कार्यालयले २०६५ असार ९ गते मुद्दा दर्ता नगर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई सदर गर्दै पुनरावेदन सरकारी वकिलदेखि महान्यायाधिवक्ताको कार्यालयसम्मले मुद्दा दर्ता नगर्ने निर्णय गरेका थियो । 

त्यसपछि रुक्साना र श्रीनारायणले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान गराई पाउँ भन्दै रिट दायर गरे । २०६९ जेठ १६ गतेमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय शुशिला कार्की र डा. भरतबहादुर कार्कीको इजलाशले मुद्दाको गम्भीर रुपले अनुसन्धान गरी थप प्रमाण बुझी प्रचलित कानून बमोजिम कारबाही गर्ने/गराउने र सोको जानकारी अदालतलाई समेत दिनू भनी महान्यायाधीवक्ता कार्यालयको नाउँमा आदेश गरेको थियो ।

तर प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थिएन । पछि फैसला कार्यान्वयनका लागि सर्वोच्चले अर्को आदेश गरेपछि मात्र हालका एसपी भुपेन्द्रबहादुर खत्रीले मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छन् । अनुसन्धानका क्रममा हत्याका मुख्य प्रतिवादी आफ्ताब आलमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरी स्रोतका अनुसार हिरासतमा रहेका आलमले हालसम्म प्रहरीमा बयान कागज गरेका छैनन् । बिरामीको बहाना देखाएर उनले बयान गर्न मानेका छैनन् । प्रहरीको अनुसन्धानमा उनले असहयोग गरेका छन् ।

अख्तर हत्याको प्रमाण ‘जुत्ता मोजा’

घटना भएपछि मिलापत्र गर्नका लागि मह्ताब आलमले समसुललाई अत्यधिक दबाब दिन थाले । त्यसपछि समसुलले पनि रणनीति अनुसार सहमति जनाए । समसुलले ‘खुदा कसम’ खाए । ‘मुद्दा दर्ता गर्दिनँ’ भनेर मह्ताबलाई आश्वस्त पारे ।

‘तर मेरो ज्वाइँलाई कब्रमा कफन राखेर दफ्नाउनुपर्ने ठाउँमा कसरी इँटाको चिम्नीमा जलाइदिनुभयो भनेर मह्ताबलाई मैले प्रश्न गरें,’ समसुलले लोकान्तरसँग भने, ‘होइन, तपाईंको ज्वाइँलाई खुदा कसम कब्रमा नै दफन गरेको भनेर उनीहरूले जवाफ दिए ।’ कुन कब्रमा दफ्नाएको भन्ने प्रश्न गर्दा अनुत्तरित हुने गरेको समसुलले बताए ।

‘अब ठीकै छ जे हुनु थियो त्यो भइहाल्यो, मेरो ज्वाइँले लगाएको लुगा कपडा, जुत्ता आदि सामान दिनुस् भनेर भनेपछि मह्ताबले मेरो ज्वाइँको जुत्ता र मोजा भने घरबाट ल्याएर दियो,’ समसुलले भने,’ त्यो जुत्ता मोजा पाए लगत्तै मैले जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटका तत्कालीन असई साहेब रामबहादुर यादवलाई बुझाई दिएँ । तैपनि कुनै अनुसन्धान प्रक्रिया भने अगाडी बढेन ।’

त्यतिबेला असई यादव केही दिन अरु ठाउँमा सरुवा भएपनि हाल सई पदमा बढुवा भएर फेरि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमै कार्यरत छन् । २ महिनाअघि समसुलले जुत्ता मोजाबारे सई यादवलाई प्रश्न गर्दा ‘खोई कहाँ छ ?’ भनेर जवाफ दिएको समसुल बताउँछन् । ‘अहिले पनि त्यो सई यादवलाई सोध्नुभयो भने प्रमाण पाउन सकिन्छ,’ उनले जिकिर गरे ।

जाहेरवाली रुक्सानाको हत्या

छोरा गुमाएकी रुक्साना आफ्नो गाउँ नजिकै रहेको माइती दुर्गा भगवती गाउँपालिकाको छतौनाबाट फर्किरहेकी थिइन् । २०६७ माघ ९ वा १० गते (समसुलले यकिन गर्न सकेनन्) उनलाई केही मुकुन्डोधारीले कन्चटमा गोली हानेर हत्या गरे । ‘संयोग के थियो भने त्यो दिन मेरो सम्धिनी रुक्सानासँगै उनका बुवा र मेरी श्रीमती शारजहाँ खातुन पनि आइरहेकी थिइन्,’ समसुलले भने, ‘मेरो श्रीमती र रुक्सानका बुवामाथि समेत हातपात गर्दै बन्दुक देखाएपछि उनीहरू भाग्न बाध्य भए । अनि रुक्सानालाई गोली हानेर हत्या गरे ।’

समसुलकी पत्नीले हत्या घटना देखेको भएपनि कसैलाई चिन्न सकिनन् । रुक्सानाका बुवाको समेत निधन भएकाले अपराधीको स्पष्ट किटान हुन सकेन । रुक्सना तत्कालीन माओवादीको भोजपुरा राज्य कमिटी सदस्य समेत थिइन् । समसुलका अनुसार प्रहरीले अलि मोहम्मद नाम गरेका १ व्यक्तिलाई हिरासतमा लिएको थियो तर उनलाई त्यसै छाडिदिएको थियो ।

आमनाका बुवा समसुल सम्धिनी रुक्सनाको गोली हानी हत्या भएको ठाउँ देखाउँदै

रुक्सानको हत्या भएपछि उनका पति जोहैर मियाँले अर्को बिहे गरे । ‘सासु जिउँदै हुँदा सासु–ससुराले राम्रैसँग पाल्नुभयो,’ रौतहट नरसंहारमा मारिएका अख्तरकी पत्नी आमनाले भनिन्, ‘तर ससुराले अर्को बिहे गरेपछि भने ससुराले देखभाल गर्न छाड्नुभयो ।’ त्यसपछि आमना घर छाडेर माइती घरमा बसेकी छन् । 

पति अख्तरको हत्या हुँदा आमनासँग साढे २ वर्षको छोरा हैदर अलि थिए भने गर्भमा २ महिनाको बच्चा  थियो । कान्छो छोरा अब्दुल साहिल र जेठो छोरा हैदरलाई लिएर उनी माइतीमा बस्दै आएकी छन् । जेठो छोरा हैदरलाई ३ कक्षासम्म पढाएको भएपनि हाल विद्यालय जान छाडिसकेका छन् । 

‘अब के गर्ने छोरालाई पनि काम गर्न लगाउनुपर्छ, नत्र के खाने ?’ आमना भन्छिन्, ‘मेरा श्रीमान र सासुको हत्या गर्ने आफ्ताब आलमलाई जन्मकैदभन्दा पनि फाँसीको सजाय हुनुपर्छ ।’

रुक्सानाकी २० वर्षीय छोरी रुबी खातुन पनि आफ्नो आमा र भाईको हत्यारालाई जन्मकैद वा त्योभन्दा पनि कडा सजाय हुनुपर्ने बताउँछिन् ।

कमेन्ट गर्नुहोस्