२२ असार २०८३, सोमबार
शुभ दीपावली

देशभर झिलिमिली तिहार : लोडसेडिङ हुन नदिन कुलमानको टीम रातदिन ‘हाई अलर्ट’

कात्तिक ८, २०७६
देशभर झिलिमिली तिहार : लोडसेडिङ हुन नदिन कुलमानको टीम रातदिन ‘हाई अलर्ट’

काठमाडौं – वर्षाैंसम्म लोडसेडिङको मार खेपेका नेपाली त्यो पीडा अझै बिर्सिएका छैनन् । विगत केही वर्षदेखि नियमित लोडसेडिङ भने हटेको छ ।

विद्युत् बढी खपत हुँदा भने लोड धान्न नसकेको भन्दै आकस्मिक लोडसेडिङ हुने गरेको छ । आजदेखि शुरू भएर दिपावलीका बेला स्वाभाविक रुपमा विद्युत्को खपत बढ्ने नै छ । त्यसो भए तिहारमा लोडसेडिङ हुन्छ त ?

नेपाल विद्युत् प्राधिकरणले यसपालिको तिहारमा देशभर नै आवश्यकता अनुसार विद्युत् उपलब्ध गराउने र आकस्मिक लोडसेडिङ नहुने जनाएको छ । तिहारमा प्राधिकरणसँग भएका सबै उपकरण सञ्चालन गरेर झिलिमिली बत्ती बाल्न पाइने गरी बन्दोबस्त मिलाइएको विद्युत् भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले तिहारमा १ हजार २ सय मेघावाट विद्युत् खपत हुने अनुमान गरेर विद्युत्को व्यवस्था मिलाएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको लगानीमा सञ्चालित विद्युत् परियोजनामार्फत दैनिक करीब १ हजार ४७ मेघावाट विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । 

विद्युत् भार प्रेषण केन्द्र प्रमुख भट्टराईले प्राधिकरणले १ हजार ४ सय मेघावाटसम्म विद्युत् खपतको लागि व्यवस्था गरेको बताए । ‘नेपाल विद्युत् प्राधिकरणले भारतसँग आवश्यक विद्युत् खरिद वा बिक्री गर्र्न सक्ने समझदारी गरेको छ । जसअनुसार आन्तरिक रुपमा उत्पादन भएको विद्युत्ले देशभरको आवश्यकतालाई नपुग्दा भारतबाट थप आपूर्ति हुने व्यवस्था प्राधिकरणले गरेको छ,’ उनले भने, ‘यतिबेला नेपालका नदीमार्फत फूल फेजमा विद्युत् उत्पादन भइरहेको छ । आवश्यकता बढ्यो भने प्राधिकरणले आयात लाइनहरूलाई पनि प्रयोग गर्छ ।’

नेपाल विद्युत् प्राधिकरणले २४ सै घण्टा सबै प्लान्टमा मर्मत टीम खटाइरहने उनले बताए । ‘तिहार भनेको बत्तीको पर्व हो । यो पर्वमा औद्योगिक प्रयोजनभन्दा पनि घरायसी प्रयोजनमा विद्युत् खपत बढी हुन्छ । यो पर्वलाई ख्याल गरेर हामीले इन्जिनियरको नेतृत्वमा ‘इमर्जेन्सी मर्मत टीम’ बनाएर ‘हाई अलर्ट’ राखेका छौं,’ उनले भने ।

विद्युत् आपूर्तिमा कुनै समस्या हुन नदिने व्यवस्था प्राधिकरणले गरेकाले झिलिमिलीका साथ तिहार मनाउन सकिने प्रमुख भट्टराईले बताए । विद्युत् अपुग भएको अवस्थामा प्राधिकरणले टनकपुर–महेन्द्रनगर, रामनगर–नवलपरासी, रक्सौल–वीरगञ्ज, ढल्केवर–मुजफ्फपुर र दुहवी–कुशवा विद्युत् स्टेसनमार्फत आवश्यक विद्युत् खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । आवश्यक परेका बेला २४० देखि २९० मेघावाट विद्युत् ढल्केवर स्टेसनबाट नै लिनसक्ने व्यवस्था भएको नेपाल विद्युत् प्राधिकरणकी सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिइन् ।

गत वर्षको तिहारमा नेपाल विद्युत् प्राधिकरणले १ हजार ३ सय मेघावाट विद्युत् खपत हुने अनुमान गरेकोमा १ हजार १ सय मेघावाट मात्रै विद्युत् खपत भएको थियो । गत वर्षको तिहारमा विद्युत् प्राधिकरणले मशिन तथा औजार नचलाउन आग्रह गरेको थियो तर यसपालिको तिहारमा प्राधिकरणले मशिन, औजार चलाएर, झिलिमिली बत्ती बालेर नै दीपावली मनाउन सकिने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्