त्रिपाठीको पहिचानवादी हृदय

रणधीर चौधरी
रणधीर चौधरी

चौधरी समसामयिक राजनीतिक घटनाक्रम र मधेस मामलामा कलम चलाउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको मन्त्रिमण्डलमा भएको फेरबदलपश्चात विभिन्न किसिमका टीकाटिप्पणी भइराख्दा नवनियुक्त मन्त्रीले शपथ समारोहमा लगाएका पोशाकबारे समेत चर्चा भएको देखिएको छ ।

खासगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले मधेशी पोशाक र चप्पल लगाएर शपथ ग्रहणमा सहभागी हुँदाको चर्चा अलि बढी नै भएको छ ।


Advertisement

प्रधानमन्त्री ओलीले त्रिपाठीजीलाई ‘के यो रङ्गीचङ्गी पोशाक लगाएको’ भनेर रमाइलो पारामा व्यंग्य समेत गर्नुभयो भन्ने खबर सामाजिक सञ्जालमा पढ्न पाइएको छ । त्यसैगरी मधेशी समुदायले शपथ ग्रहणमा त्रिपाठीजीको पहिरनप्रति गर्व महसूस गरेका छन् भने अर्का मन्त्री रामेश्वर राई यादवजी, जो कि सद्भावना पार्टीको स्थापनाकालदेखि राजनीतिमा आएयता दाउरा सुरवाल कहिल्यै लगाउनुभएको थिएन । शपथ ग्रहणमा सहभागी हुँदा लगाएको पोशाकको तस्वीर बाहिरिँदा आफ्नो पहिचानको कदर नगरेको भन्दै टिप्पणी पढ्न पाइएको छ ।

हृदयेश त्रिपाठीजी राजनीतिक कौशलले भरिपूर्ण एक कुशल नेता हुन् भन्ने कुराबारे चर्चा गर्नुको आवश्यकता छैन । उहाँ सन् १९७४ मा वामपन्थी आन्दोलनमा होमिएको बेला उहाँले राजनीतिमा हाम्फालेको इतिहास छ तर आमलोकको नजरमा जब उनले तत्कालीन सद्भावना आन्दोलन/परिषद् हुँदै तराई मधेशको समृद्धि विना देशको समृद्धि सम्भव छैन भनी राजनीतिमा आफ्नो अग्रसरता बढाउनुभयो, त्यसबेलादेखि उनको राजनीतिक यात्राको कालजयपथ अगाडि बढेको बुझिन्छ ।


Advertisement

सम्भवतः त्यहीबेलादेखि नै हो त्रिपाठीजीको पहिरन, कुर्ता, पैजामा र गम्छाले निरन्तरता पायो । लवाइखवाई मानिसको आफ्नो व्यक्तिगत रुचिभित्र पर्छ तर त्रिपाठीजीले पहिचानको राजनीतिको थालनी गर्दा उहाँले आफ्नो मौलिकता वा भनौं उहाँले प्रतिनिधित्व गर्ने समुदायको पहिचानलाई राष्ट्रिय राजनीतिको ‘डिस्कोर्स’मा प्रवेश गराउने यत्नको पनि उपज हुनसक्छ, उहाँको पहिरनको पृथक एवं मौलिक छनोट ।

मौलिक पोशाकको मोह भएका अर्का १ जना नेता हुनुहुन्थ्यो, गजेन्द्रनारायण सिंह । उहाँले नेपाली कांग्रेस छाडेर नेपाल सद्भावना पार्टी खोल्दा समेत धोतीकुर्ता निरन्तर लगाइ नै रहे । जतिबेला नेपालको संसदमा दाउरा सुरवाललाई बाध्यात्मक पोशाकको रुपमा घोषणा गरिएको थियो, त्योबेला समेत गजेन्द्र नारायण सिंहजीले संसदमा समेत धोतीकुर्ता लगाएर नै जानुहुन्थ्यो । जसको कारण उहाँले विरोधी दलका सांसदबाट विरोधको सामना गर्नुपर्थ्यो । सिंहसँगै मधेश मुक्तिको आन्दोलनका प्रखर नेता हुन् हृदयेश त्रिपाठी । 

नेपालमा पोशाकको राजनीतिको पनि आफ्नै कथा छ त्यतातिर नजाउँ अहिले । नेपालमा एक अमुक जातिको पोशाकलाई राष्ट्रिय पोशाकको दर्जा दिइयो । यो बहस धेरै पुरानो हो । यो बहस कम्तीमा ८० वर्ष पुरानो हो ।

हाल विश्वभर पहिचानको आन्दोलनको बिगबिगी छ । पहिचान एउटा यस्तो अवयव हो, जसको स्खलन कुनै समुदायको लागि युद्धमा पराजय हुनु सरह हो । मानिस जतिसुकै सबल र सफल भएपनि आफ्नो पहिचानमाथि कुनै किसिमको ह्रास आएको देख्न सक्दैनन् । नेपाल विविधताले भरिएको देश हो । नेपालमा कुनै अमुक चिजमा मात्र होइन की जहाँ खोजियो त्यहीँ विविधता झल्किन्छ ।

भूगोल, जातजाति, भाषा, पहिरन, खाना हरेक चिज विविधताले भरिएको छ । विविधता कुनै देशको लागि सम्पत्ति हो र चुनौती पनि । नेपालमा पहिचानको आन्दोलनको पनि आफ्नै गौरवपूर्ण इतिहास छ । पहिचानकै लागि दर्जनौं पटक दर्जनौं समुदाय आन्दोलित भएको हो । अप्रकटित रुपमै भएपनि नेपालका पहिचानको आन्दोलन अहिले पनि विद्यमान रहेको अवस्था छ । पहिचान जस्ता तत्वले आममानिसको मानसपटलमा अहिले पनि जरा गाडेको छ । त्यहीँ भएर होला त्रिपाठीको पहिरनले चर्चाको चौतारा पाइरहेको छ । 

माओवादी आन्दोलनताका नेताहरू खासगरी पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईले जनयुद्धपश्चात देशको राजनीति र सत्ताको बागडोर सम्हाल्दा दाउरा सुरवाल र ढाकाटोपी विना प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा विराजमान भएका थिए, जसले गर्दा गैरपर्वते समुदाय र दाउरा सुरवाल–ढाकाटोपी नलगाउने पर्वते समुदायले दाहाल र भट्टराई जस्ता नेताको प्रशंसा मुक्तकंठले गरेका थिए ।

राजा महेन्द्रले लादेको एकलभाषा र भेषले नेपालको विविधतालाई समेट्न नसकेको यथार्थ माओवादीका नेताले राम्ररी बुझेका थिए तर राजा महेन्द्रका भूतहरू जिउँदै रहेको समाजमा पोशाकमा राजनीति गर्न कतिलाई अहिले पनि प्रेरित गरिनै रहेको छ । 

पहिचान अस्तित्वको लडाइँ निरन्तर चलिरहने नै छ । अहिले सिंगो मन्त्रिमण्डलमा जसरी त्रिपाठीजीले आफ्नो मौलिक पोशाक लगाएर शपथ ग्रहण गरेका छन्, यसले मधेशी समुदायलाई उत्साहित गरेको छ । मधेश मुद्दाको सम्बोधन कसरी होला ? मधेश अधिकार सम्पन्न होला कि नहोला ? यी प्रश्नको जवाफ यो आलेखबाट अपेक्षा गरिएको छैन तर पहिचानको लडाइँको थोरै भएपनि राप रहिरहनुपर्छ । 

त्रिपाठी १ विद्वान र नेपाली राजनीतिको नालीबेली बुझेको नेता भएको हुँदा सीमान्तकृत समुदायको पहिचान जोगाउन र संरक्षणको निमित्त हरसम्भव लडाइँलाई अगाडि बढाउनुहुनेछ भन्नेमा शंका हुने स्थान छैन । 

रणधीर चौधरी
रणधीर चौधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्