भालुको आक्रमणबाट वृद्ध गम्भीर घाइते

भालुको आक्रमणबाट उत्तरी रसुवाको टिमुरेमा एक वृद्ध बिहीबार गम्भीर  घाइते भएका छन्।

जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भालुको आक्रमणबाट गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरेगाउँ निवासी ७० वर्षीय दुप्ले तामाङ  घाइते भएका हुन्।


Advertisement

टिमुरे तातोपानीदेखि पूर्वतर्फ च्यार्नावान खर्क क्षेत्रस्थित गाईगोठको हेरचाह गरी बसिरहेकै  स्थानमा तीन बच्चासहित आएको जङ्गली भालुले आक्रमण गरी तामाङलाई गम्भीर घाइते बनाएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए । घटनास्थल टिमुरे तातोपानी खण्डको  राजमार्गभन्दा ५०० मिटरमाथि रहेको बताइएको छ । 

 टाउकामा गम्भीर चोट परेका कारण उहाँलाई स्थानीयस्तरमा उपचार हुन नसकेपछि समिट एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 


Advertisement

लाङटाङ रास्ट्रिय निकुञ्जका जङ्गल क्षेत्रमा भालुले आक्रमण गरेका कारण उपचारका लागि सरकारी अस्पतालको बिलबमोजिम रू दुई लाखसम्म भुक्तानी दिने व्यवस्था भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताए। जिल्लामा भालुको आक्रमण दिनप्रतिदिन बढ्दै जाँदा गाउँबासी त्रसित भएकाले भालुको व्यवस्थापन गर्न सरोकार निकायसँग आग्रह गरिएको टिमुरेका कामीनुर्पु तामाङले बताए।
 

कमेन्ट गर्नुहोस्