
बुटवल उप–महानरगपालिकाले उप–महानगरअन्तर्गत रहेका संस्थागत (निजी तथा आवासीय) विद्यालयका लागि शुल्कको दररेट निर्धारण गरेको छ । शिक्षा समितिको हालै बसेको बैठकले सर्वपक्षीय छलफलका आधारमा शुल्क निर्धारण गरेको हो ।
उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार बुटवलका १९ वटै वडामा सञ्चालित संस्थागत विद्यालयलाई वर्गीकरणका आधारमा उनीहरुले विद्यार्थीबाट उठाउने शुल्क निर्धारण गरी लागूसमेत भइसकेको छ । उनले यहाँका सबै विद्यालयहरुले उप–महानगरले तोकेबमोजिमको शुल्क समायोजनासमेत गरिसकेको बताए ।
चालू शैक्षिक सत्र २०७६ मा शुल्क निर्धारण शुल्क निर्धारण सिफारिस समितिबाट सिफारिस भएबमोजिम तोकी कार्यान्वयन समेत भइसकेको उप–महानगरका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले जानकारी दिए ।
बुटवलमा संस्थागत विद्यालयहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । जसअनुसार क, ख र ग श्रेणीका विद्यालयले कक्षागत आधारमा अलग–अलग शुल्क उठाउन पाउने छन् । विद्यार्थी भर्नाको शुल्क भने एउटै तोकिएको छ ।
महाशाखा प्रमुख खनालका अनुसार ‘क’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार आठ सय ४५, प्राविमा दुई हजार ५० तथा निमाविमा दुई हजार चार सय ४३ र माविमा तीन हजार एक सय ८० रुपैयाँ मासिक शुल्क उठाउने छन् । योभन्दा धेरै शुल्क उठाएको पाइएमा कानूनी कारवाही गर्नेगरी उप–महानगरले संयन्त्रसमेत बनाइसकेको छ ।
यस्तै ‘ख’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार पाँच सय आठ, प्राविमा एक हजार छ सय ७६ तथा निमाविमा एक हजार नौ सय ७० र माविमा दुई हजार पाँच सय ९७ रुपैयाँ मासिक शुल्क निर्धारण गरिएको छ ।
‘ग’ श्रेणीको विद्यालयले पूर्वप्राविमा एक हजार तीन सय ३०, प्राविमा एक हजार चार सय ७८ तथा निमाविमा एक हजार सात सय ४९ र माविमा दुई हजार तीन सय २५ रुपैयाँ मासिक शुल्क निर्धारण भइ कार्यान्वयन भइसकेको छ । बुटवलले कम्प्युटर कक्षाका लागि पनि शुल्क निर्धारण गरेको छ । जसमा बढीमा तीन सय ७५ रुपैयाँ र कक्षा शिक्षण सिकाइमा डिभाइस जडान गरी उपयुक्त सफ्टवेयरमा दुई विषयसम्म पढाउँदाको बढिमा एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रचलित शिक्षा ऐन तथा नियमावलीअनुसार संस्थागत विद्यालय वर्गीरण प्रक्रिया अगाडि बढाइ नियमानुसार आवश्यक निर्णयका लागि पेश गर्न संस्थागत विद्यालय वर्गीकरण सिफारिस समितिलाई निर्देशन दिइएको महाशाखा प्रमुख खनालले बताए । यसअघि जिल्ला शिक्षा कार्यालयले संस्थागत विद्यालयको श्रेणी निर्धारण गरेको थियो । त्यसमा पुनर्विचार गर्दै नयाँ संवैधानिक मापदण्डअनुरुप वर्गीकरण गर्ने काम भइरहेको छ ।
बुटवलमा बालविकास देखि कक्षा १२ सम्म सञ्चालनमा रहेकोसमेत गरी ५६ वटा संस्थागत विद्यालयहरु सञ्चालनमा छन् । यी सबै विद्यालयमा पूर्व प्राथमिक, आधारभूत तह (कक्षा १–५), आधारभूत निमावि (कक्षा ६–८), मावि तह (कक्षा ९–१०) र मावि तह (कक्षा ११–१२) मा गरी ३६ हजार दुई सय ९२ विद्यार्थीहरु अध्ययनरत रहेको उप–महानगरका शिक्षा शाखाका अधिकृत टीकाराम पन्थीले जानकारी दिए ।
बुटवलमा सामुदायिक विद्यालयको संख्या ३८ रहेको छ । यहाँ मदरसा तीन, गुरुकुल एक, खुला विद्यालय एक, सामुदायिक सिकाइ केन्द्र पाँच र बाल विकास केन्द्र ६१ रहेका छन् । सामुदायिकतर्फका सबै तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या भने २१ हजार दुई सय १५ रहेको छ ।