
मानिसले जति धेरै संघर्ष गर्यो, उति धेरै उचाईमा चुम्न सक्छ । सफलता हाँसिल गर्नु प्रमुख लक्ष्य हो । तर कसैलाई जीवनमा सोच्दै नसोचेको सफलता हासिल गरेका उदाहरणहरू पनि भेटिन्छन् । तिनै मध्येका एक हुन्- रुपन्देहीका रूप कार्की । रूपले जीवनमा कहिल्यै सोचेका थिएनन् आफू अमेरिका पुग्छु भन्ने । आईपीएल इन्टरनेसनल पावर लिफटिङ प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन) मा वर्ल्ड च्याम्पियन हुन्छु भन्ने पनि उनले सोचेका थिएनन् ।
जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ भलवारी स्थायी घर भएका कार्की सन् २००३ मा ड्राइभरसिटी भिजा (डीभी) परेर अमेरिका छिरे । त्यो पनि आफ्नै घरमा डेरावाल भाइले भरिदिएको डीभी परेर । त्यहाँ पुगेको १४ वर्षपछि कार्कीले इन्टरनेसनल वर्ल्ड पावर लिफटिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपालको सान विश्वसामु पुर्याए ।
सन् २०१७ को नोभेम्बरमा भएको आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित प्रतियोगितामा कार्कीले २ सय २० पाउण्ड तौल समूहबाट स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा विश्वभरका दुई सय बढी देशबाट ७ सय बढी सहभागी थिए । कार्कीले आफ्नो तौल समूहका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व च्याम्यिपयन बनेका थिए ।
कार्कीले यसअघि सन् २०१७ मैं अमेरिकाको एट्लान्टामा भएको फस्ट मास्टर इन्टरनेसनल पावर लिफटिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जिते । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएको कार्कीको दाबी छ ।
यस्तो प्रतियोगिता युरोपमा प्रत्येक वर्ष हुने भए पनि एसियाका धेरै देशहरू छनोट चरणबाटै बाहिरिने गर्छन् । एउटा व्यक्तिले तीन प्रतियोगिता जितेमा बल्ल प्रतिस्पर्धा गर्न पाउँछ । ‘यो खेलको प्रतिस्पर्धामा पुग्नै कठिन छ । जसले ५९० किलोग्राम उठाउन सक्न त्यो बल्ल प्रतिस्पर्धाका लागि भाग लिन पाउँछ । खेलमा ‘रियल पावर चाहिन्छ । यो खेलमा खुट्टादेखि टुप्पीसम्म बलको आवश्यक पर्छ,’ कार्कीले भने । कार्कीको तौल अहिले १०५ केजी छ ।
अमेरिकाको भर्जिनिया परिवारसहित बसोबास गर्दै आइरहेका उनले त्यहाँको राष्ट्रिय स्तरको प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको कार्कीले बताए । सन् २००९ देखि भारत्तोलनको अभ्यास शुरू गरेका कार्की सन् २०१२ देखि पूर्ण रूपमा भारत्तोलन खेलमा सक्रिय छन् ।
‘सानैदेखि रूचि त थियो तर कुनै पनि प्रतियोगितामा भाग लिएको थिइनँ । वर्ल्ड च्याम्पियन हुन्छु भन्ने कल्पना पनि गरेको थिइनँ । यो उपाधि चुम्दा साँच्चै हो कि सपनाका छु जस्तो लागेको थियो,’ कार्की खुशी सुनिए, ‘भारात्तोलन खेल उच्चस्तरीय प्रतिष्पर्धा मध्येको एक हो । विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरू प्रतिस्पर्धामा रहने सो प्रतियोगितामा छनोट हुने म पहिलो अमेरिका बस्दै आएको नेपाली हुँ ।’
उनी एक महिना अगाडि एनआरएनबाट पावल लिफटिङको कार्यक्रमका लागि काठमाडौं आएका हुन् । काठमाडौं आएको बेला उनी आफ्नो गृहजिल्ला रुपन्देही आउँदा लोकान्तरकर्मीले उनलाई भेटेको थियो । मोटो जिउठाल । तन्दुरूस्त शरीर । जो कोही नजिकै पर्दा डराउलान् जस्तो देखिन्छ । उनी भारत्तोलनका लागि प्रशिक्षण दिन नेपाल आएका हुन् । नेपालका अन्य खेलाडीले पनि आफूले जस्तै उपाधि चुमेर देशलाई खेलको माध्यमबाट चिनाउन सकून् भन्ने उनको चाहना छ । राज्यले आफूलाई नचिने पनि आफूले नेपाललाई खेलकुदबाट चिनाउन लागिपरिरहने कार्कीको अबको लक्ष्य छ । ‘हबीप्रति चासो र रुचि भए पनि विश्वकृतिमान हुन्छु भन्ने सोचेको थिइने तर नियमित र निरन्तर अभ्यासले अन्य म जस्तै नेपालीले पनि त्यो सफलता प्राप्त गर्न सक्छन्,’ रूपले चासोका साथ भने ।
भारोत्तलन लगायत सबै खेलको विकासका नेपाली मूलका नेपाली अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । राज्यले आफूलाई भारत्तोलन खेल विकास गर्न लाग भने आफू अमेरिका छाडेर नेपाल आएर खेलको विकासमा लाग्ने उनको भनाइ छ । उनी सँधै 'जीम' जाने गर्छन् । विशेषगरी भारत्तोलनका खेलाडीले खानपिनमा विशेष ध्यान दिनुपर्छ । बिहान अण्डा, दिउँसो मासु र साँझ दूधसहितको खाना खानुपर्छ । कम्तीमा पनि १२ घण्टा सुत्नुपर्ने हुन्छ । उनले पाएको सफलतासँगै उनका छोरा रुपेश पनि भारत्तोलन खेलमा लागेका छन् । रुपेश पनि ‘स्टेट’ च्याम्पियन भइसकेका छन् ।