बहसमा लाइसेन्स : तर के नेपालमा पत्रकारको इज्जत छ ?

विमल गौतम
विमल गौतम

लोकान्तर डटकमका सम्पादक गौतम खोज समाचारमा विशेष रुचि राख्छन् ।

घटना १ -
लोकान्तर डट्कमका सहकर्मी गगन अर्याल सिधा–सिधा कुरा गर्छन् । उनले घरमा भएको एउटा पेचिलो प्रसङ्ग (जहाँ उनी स्वयंलाई नराम्ररी होच्याइएको भान हुन्थ्यो) विना हिच्किचाहट हामीलाई सुनाए ।

गगनका ३ भाइ र एउटी बहिनी छन् । विवाहको निम्तो मान्न गगनका बुवा केही समय पहिले नातेदारसहित गुल्मीबाट काठमाडौं आउनुभएछ । भेटघाटका क्रममा बुवाले गगन र उनका भाइ एवं बहिनीलाई नातेदारसँग चिनाउन थाल्नुभएछ । 


Advertisement

‘उ कान्छो, नेपाल सरकारको अधिकृत छ । यी मेरी छोरी, उनी पनि अधिकृत हुन् । अनि यो चाहिँ माइलो, यसले पनि राम्रो गर्‍यो, कोरिया उड्दैछ । उनी चाहिँ जेठी बुहारी (गगनकी पत्नी) र यो चाहिँ मेरो जेठो छोरा गगन (निधारभरि गाँठा पार्दै), पत्रकार हुँ भन्छ ।’ परिचय सकियो ।

शुरूमा कान्छो, दोस्रोमा बहिनी, त्यसपछि माइलो र आाफ्नी पत्नी अनि अन्तिममा अमिलो मुख लगाउँदै आफूलाई परिचय गराएको देखेर गगन ट्वाँ परेछन् । परिचय त जेठो छोराबाट गराएको भएपनि हुने । किन यस्तो गर्नुभयो बुवाले ? छट्पटीमा परेका गगनले आफन्त कोठाबाट बाहिरिनासाथ ‘किन मलाई ‘लास्ट’मा परिचय गराउनुभयो ?’ भनेर बुवालाई सोधेछन् । 


Advertisement

‘नेपाल सरकारको अधिकृत र विदेशमा गएर टन्न पैसा कमाउन लागेको माइलो छोराको दाँजोमा पत्रकारको के इज्जत छ र हत्त न पत्त तँलाई चिनाउनु त ? न तेरो पेशाको ठेगान छ न पैसा कमाउँछस्, जे ठीक लाग्यो त्यसैगरी चिनाएँ ।’

यो प्रसङ्ग विना संकोच गगनले हामीलाई सुनाएनन् मात्र, बाउको मेख मार्नकै लागि म पनि अधिकृत हुन्छु भनेर राष्ट्र बैंकको परीक्षामा समेत सहभागी भए, हामीलाई थाहा दिएरै । एकताका गगन निकै हतास देखिन्थे । आजकाल चाहिँ सम्हालिए जस्तो लाग्छन् । उनी अहिलेसम्म पत्रकारितामै छन् । 

घटना २ -

गएको मंसिरमा व्यक्तिगत कामले म २ नम्बर प्रदेशमा पर्ने तराईका जिल्ला पुगें । निजी काम सकिएपछि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने स्थान हेर्न र त्यस वरपरका स्थानीयसँग कुराकानी गर्न मन लाग्यो । मसँगै रहेका सहकर्मी शुशील पन्त मेरो प्रस्तावमा सहमत मात्र भएनन्, अझ बढी इच्छुक देखिए । हामीबीच सल्लाह भयो – यहीँ मौकामा एउटा रिपोर्टिङ पनि गर्ने ।

रिपोर्टिङको जिम्मा सुशीलले लिए । हामीले निजगढस्थित जंगलको बीचमा रहेको कच्ची बाटो छिचोल्दै राजमार्गबाट १० किलोमिटर जतिभित्र पुगेपछि गाउँ र स्थानीय भेट्यौं, अनि त्यहीँ रोकियौं । सुशील रिपोर्टिङमा लागे । म चाहिँ हेर्दा पढेलेखेका जस्तो देखिने एक जना स्थानीय युवालाई लिएर अलि अगाडि बढें । 

‘विमानस्थलले कहाँसम्मको जग्गा ओगट्छ, यहाँका वासिन्दाको के भनाइ छ, विवाद के छन्, तपाईंको धारणा के छ ?’ ती युवासँग संवाद शुरू गरें ।   

करीब ५ सय मिटर पर पुगेपछि उनले सोधे, ‘दाइ तपाईं पत्रकार होइन ? हो नि !’

‘किन ? कसरी ? किन सिधै पत्रकार होइन भनेर सोधेको ? म शिक्षक, वकिल, सादा पोशाकको सुरक्षाकर्मी या कर्मचारी पनि त हुन सक्छु नि !’

उनी मुसुक्क हाँसे र भने, ‘होइन के दाइ, तपाईंलाई मैले कान्तिपुर टीभीमा देखेको थिएँ । जनआन्दोलनका बेला म काठमाडौंमै थिएँ । तपाईं गृह मन्त्रालयबाट पक्राउ परेपछि टीभीले देखाएको थियो ।’ 

कति भयो हामीले पेशा बर्बाद भयो भनेर गुनासो गर्न थालेको ? अनि खै सुधार्न सकेको ? के गर्‍यो भने बिग्रँदै गरेको पत्रकारिताको छवि सुध्रन्छ ? खै बहस भएको ?

उनको कुरा सुनेपछि अनुमान लगाएँ उनी काठमाडौंमै पढेर फर्किएका हुन् । २०६२/०६३ को जनआन्दोलन ताका म कान्तिपुर टीभीमा काम गर्थें । जनआन्दोलन दबाउन तल्लिन शाहीकालीन गृहमन्त्री कमल थापाविरुद्ध गृहका कर्मचारीले उनकै कार्यकक्ष अगाडि नाराबाजी गरेको समाचारको रिपोर्टिङ गरेको निहुँमा म र सहकर्मी राजु तिमल्सेना (हाल अमेरिका) लाई मन्त्रालय परिसरबाट पक्राउ गरेर हनुमानढोका पुर्‍याएपछि हामी आफैं समाचार बनेका थियौं ।     

निजगढमा भेटिएका ती स्थानीय युवाको संकेत त्यहीँ घटनातर्फ थियो । उनको सम्झनाशक्ति राम्रो छ, भन्नेमा शंका रहेन ।

हामी करीब डेढ किलोमिटर जति पर पुग्यौं । उनले निजगढ विमानस्थलको क्षेत्रफल देखाए । स्थानीयका पीडा, सरोकार सुनाए । यत्तिकैमा केही स्थानीय हामी उभिएको ठाउँमा आइपुगे ।

तपाईं को हो ? किन आउनुभएको ? फेरि के उपद्रो गर्न लाग्नु भो ? केहीले आक्रोशित हुँदै सोधे । मैले चाहिँ आफू सामान्य नागरिक भएको, बाटो परेर निजगढ विमानस्थल बन्ने स्थान हेर्न छिरेको बताएँ । स्थानीयसँग करीब २० मिनेट कुराकानी भयो । अनि हामी फर्कियौं । 

फर्कंदै गर्दा सँगै गएका स्थानीय युवाले मसँग गम्भीर गुनासो गरे । ‘तपाईं पत्रकार हो तर यहाँका स्थानीयलाई सामान्य नागरिक भनेर किन झूट बोल्नुभयो ? किन आफ्नो वास्तविक परिचय लुकाउनुभयो ?  

रिपोर्टिङ मेरा साथी सुशीलले गरिरहेका छन्, त्यसैले मलाई पत्रकारको परिचय दिन मन लागेन, दिइनँ भनें । थप प्रस्ट पार्दै भनें, ‘मलाई हत्तपत्त आफू पत्रकार भनेर चिनाउन मन पर्दैन । अझ तराईको भ्रमणमा रहँदा त पत्रकार हुँ भन्न मन लाग्दैन ।’

‘किन दाइ ?’ उनले सोधे । ‘तपाईं काठमाडौं पढेर फर्केको व्यक्ति, आफैं भन्नुस् न तराईका जिल्लामा केही पत्रकारका कारण समग्र पत्रकारहरूको छवि कस्तो छ ?'

बल्ल ती भाइ खुल्न थाले । ‘दाइ शुरूमै नराम्रो कुरा गर्दा तपाईंलाई अप्ठ्यारो लाग्ला भनेर नभनेको । खासमा म तपाईंसँग शतप्रतिशत सहमत छु । म काठमाडौंमा पत्रकारिता पढेर फर्किएँ । पढाइ सकाएपछि जिल्लामै बसेर पत्रकारिता गरौं कि भनेर काठमाडौं छोडें तर जिल्लामा पत्रकारको चर्तिकला देखेपछि मलाई इमान बेच्न मन लागेन । मलाई पत्रकारिताको खोल ओढेर तस्करीमा रमाउन मन लागेन दाइ । त्यसैले अहिले यहीको एक विद्यालयमा पढाउँछु ।’

उनको गुनासो यत्तिमै रोकिएन । थप्दै गए, ‘दाइ हाम्रो छिमेकी गाउँका एक अंकलका २ वटा ट्रक छन् । उनीहरू राम्रो पैसा कमाउँछन् । त्यहीँ गाउँमा अर्का एक जना अंकलको छोरा ड्राइभिङ लाइसेन्सको परीक्षामा ३ पटक फेल भएपछि २ वर्षअघि पत्रकार बने । उनी दिउँसो पत्रकारिता गर्छन् । पत्रकारिता त के भन्नु दाइ, दिउँसो खुलेयाम ‘उठाउकारिता’ गर्छन् । राति तिनै छिमेकी अंकलको ट्रकको कन्डक्टर बनेर तस्करी गर्छन् । मैले तलब र ट्युसन पढाएर महिनामा त्यस्तै ५०/६० हजार जति कमाउँछु होला । दिउँसो उठाउकारिता र राति ट्रकको कन्डक्टर बनेका छिमेकी भाइले महिनामा २/३ लाख सजिलै कमाउँछु भन्छन् । संसारमा यस्तो हुन्छ त दाइ ? तपाईंले त बीबीसीमा पनि काम गर्नुभयो, यस्तो हुन्छ अरू देशमा ?’ 

आदरणीय पाठकवृन्द !

बाराका तिनै युवाले ३ दिनअघि फोन गरेर ‘दाइ पत्रकारले पनि अब लाइसेन्स लिनुपर्ने कुरा आएछ, अब चाहिँ पेशा सुध्रिन्छ कि ?’ भन्ने जिज्ञासा राखेपछि मलाई यो आलेख तयार गर्ने जाँगर चलेको हो ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले हालै पारित गरेको मिडिया काउन्सिल विधेयकको एउटा दफामा नयाँ पत्रकारले लाइसेन्स लिनुपर्ने (परीक्षामा सामेल हुनुपर्ने) प्रावधान समेटिएपछि त्यसको पक्ष र विपक्षमा बहस जारी छ । धेरैले (लगभग सबैले) त्यस्तो प्रावधान उचित नहुने भनाइ राखेका छन्, त्यसको विरोध गरेका छन् । 

म गलत पनि हुन सक्छु तर यो आलेख तयार गर्दासम्म पत्रकारले लाइसेन्स लिने व्यवस्था सम्पूर्ण हिसाबले गलत होइन भनेर लेखै लेख्ने सम्भवतः म नै पहिलो व्यक्ति हुँला । लेख लेख्दै गर्दा मलाई के भ्रम छैन भने लाइसेन्ससम्बन्धी उक्त बुँदा पास हुनेवाला पनि छैन र यसको पक्षमा थप कोही बोल्नेवाला पनि छैनन् ।   

पत्रकारका लागि लाइसेन्सको व्यवस्था गर्ने हो ड्राइभिङ लाइसेन्सको परीक्षामा ३ पटक फेल भएको एउटा गवाँर विना रोकटोक सहजै पत्रकारितामा प्रवेश गर्ने, राति–राति ट्रकको खलासी पनि गरेर त्यहीँबाट तस्करी गर्ने काम चाहिँ सम्भव हुने छैन । यति सामान्य कुरा हामीले किन मनन नगर्ने ?

म चाहिँ पत्रकारिताको विद्यार्थी हुँ । मैले स्नातकोत्तर पत्रकारितामै गरें तर मलाई पत्रकारिता पढाउनुभएका गुरुहरू नै पत्रकारले परीक्षामा सहभागी हुनुपर्ने विषयको विपक्षमा हुनुहुन्छ । त्यसैले मलाई यसको पक्षमा लेख्न अलि अप्ठ्यारो पनि लागिरहेको छ तर विचार दबाएर म किन बसुँ ? विचार दबाएर नबस्नु भनेर गुरुहरूले नै सिकाउनुभएको हो । कसैको विचारमा सहमत हुन पनि सकिन्छ, नहुन पनि ।  

जस–जसले लाइसेन्स लिने विषयको विरोध गर्नुभएको छ, उहाँहरूलाई म विनम्रपूर्वक सोध्न चाहन्छु – ड्राइभिङ लाइसेन्सको परीक्षामा ३ पटक फेल भएपछि पत्रकारिता पेशामा प्रवेश गर्न योग्य भइन्छ ? छूट हुन्छ ? मिल्छ ? सुहाउँछ ? त्यसले पत्रकारिताको गरिमा बढाउँछ ? त्यस्ता पत्रकारले सही पत्रिकारिता गर्छन् ? विश्वसनीय पत्रकारिता गर्छन् ? पत्रकारिताको मूल मर्म बुझेर समाचार लेख्छन् ? बाराका ती पत्रकार जो रातिमा ट्रकको कन्डक्टर बनेर तस्करी गर्छन्, उनी र उनीजस्तै अरू धेरैलाई यो पेशामा छिराइरहने कि रोक्ने ? नेपाली पत्रकारिताको जुन बद्नामी छ, त्यसका पछाडि बाराका ती पात्र जस्तै गैरपत्रकारको भूमिका छ कि छैन ?

(नोट : बारामा पक्कै असल पत्रकारहरू पनि हुनुहुन्छ । सबैलाई खराब भनेको होइन । त्यस्तो अर्थ नलागाइयोेस् । पोखरीमा १–२ भ्यागुता कुहिएपनि पूरै पोखरीमा गन्हाउँछ ।)

ठीक छ, लाइसेन्स आवश्यक छैन रे ! त्यसो भए अर्को विकल्प के हो ? किनभने अहिलेकै स्थितिमा त पत्रकारिताको छवि नसुध्रने भयो । कति भयो हामीले पेशा बर्बाद भयो भनेर गुनासो गर्न थालेको ? अनि खै सुधार्न सकेको ? के गर्‍यो भने बिग्रँदै गरेको पत्रकारिताको छवि सुध्रन्छ ? खै बहस भएको ? छवि सुध्रनेभन्दा किन बिग्रदो छ ? 

कसैलाई लाग्ला, लेखक आफूले पत्रकारिता पढेको रहेछ, त्यसैले लाइसेन्स लिनुपर्ने कुराको समर्थन गर्दैछ, फूर्ति छाँट्दैछ । मलाई पत्रकारिता पढेकोमा घमण्ड पटक्कै छैन, त्यति धेरै गर्व पनि छैन किनभने समाजले पत्रकारिता पढेको र नपढेकोलाई उस्तै व्यवहार गर्छ । म स्पष्ट छु कि लाइसेन्स लिएर वकालती पेशामा प्रवेश गरेका वकील, मेडिकल काउन्सिलको परीक्षा पास गरेका सबै चिकित्सक इमान्दार वा सफा छैनन् । लोकसेवा पास गरेर निजामती सेवामा प्रवेश गरेका कर्मचारी पनि भ्रष्टाचार गरेर जेल गएका छन् । लाइसेन्स लिएर पत्रकार हुँदैमा उत्तरदायी र विश्वसनीय पत्रकारिता हुन्छ र नलिइकन गर्दैमा खत्तमै हुन्छ भन्ने पनि होइन तर एउटा फरक पक्का हो – पत्रकारका लागि लाइसेन्सको व्यवस्था गर्ने हो ड्राइभिङ लाइसेन्सको परीक्षामा ३ पटक फेल भएको एउटा गवाँर विना रोकटोक सहजै पत्रकारितामा प्रवेश गर्ने, राति–राति ट्रकको खलासी पनि गरेर त्यहीँबाट तस्करी गर्ने काम चाहिँ सम्भव हुने छैन । यति सामान्य कुरा हामीले किन मनन नगर्ने ?

कस्तो व्यक्ति पत्रकार बन्न पाउने ? पत्रकार बन्नलाई न्यूनतम योग्यता वा प्रवेशद्वार हुने कि नहुने ? के–के कुरामा योग्य ठहरियो भने पत्रकार हुन पाइने अन्यथा नपाइने भन्ने विषयमा बहस हुनुपर्छ कि नाइँ ? कि चोर, तस्कर, ठेकेदार, दलाल, बिचौलिया सबै पत्रकार हुन पाउने ?

वर्षौंदेखि पत्रकारितामा संलग्न अग्रजहरूको भनाइ आयो – संसारमा कतै पनि पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था छैन । त्यसैले नेपालमा पनि यो आवश्यक छैन । के संसारमा कसैले शुरू नगरेको अभ्यास नेपालले शुरू गरेर उदाहरणीय बन्न सक्दैन ? असल कामको अभ्यास अरूले गरेका रहेनछन् भने नेपालले शुरू गरेर विश्वलाई देखाउन सक्दैन ? के नेपालले शुरू गरेको असल कामको सिको संसारका अरू देशले गर्नु हुँदैन ?
पत्रकारिता पढेका मात्र होइन, नेपाली बजारमा राम्रै छवि बनाएर बसेका अग्रज पत्रकारले समेत लाइसेन्स लिनुपर्ने प्रावधानको विरोध गर्नुभयो । विरोध गर्दैगर्दा तपाईंहरूले भनिदिनुपर्‍यो – बाराका ती भाइ (उनी जस्ता सयौं अरू पनि) ड्राइभिङ लाइसेन्सको परीक्षामा पटक–पटक फेल भएपछि पत्रकारितामा चाहिँ कसरी योग्य भए ? पत्रकारले पनि लाइसेन्स लिनुपर्ने या अन्य कुनै न्यूनतम तहको प्रवेशद्वार पार गर्नुपर्ने व्यवस्था भएको भए उनी पत्रकारितामा प्रवेश गर्न सम्भव हुन्थ्यो ? 

तपाईंहरू नै भनिदिनुस् ‘प्लीज’ – गगनका बुवाले किन उनलाई अन्तिममा मन अमिलो पार्दै चिनाउनुपर्‍यो ? के निजामती कर्मचारी सबै असल छन् ? तै पनि किन गगनका बुवाले पत्रकार छोरोलाई मन नलागी नलागी चिनाउनुपर्‍यो अनि अधिकृत छोरालाई चाहिँ छाति फुलाउँदै परिचय गराउनुपर्‍यो ? के कारणले यस्तो अवस्था पैदा भयो ? किन आज तमाम समस्याका बाबजुद निजामती कर्मचारी, चिकित्सक, वकिल, न्यायाधीश, प्राध्यापक र इन्जिनीयरको पेशाको महत्त्व छ । यी पेशामा पेशाकर्मीको तुलनामा किन पत्रकारहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक छ ? माथि उल्लेख गरिएका यी पेशामा जो पायो त्यहीँ प्रवेश गर्न सम्भव छैन । यी पेशामा प्रवेश गर्नका लागि सम्बन्धित विषयमा मिहिनेतका साथ अध्ययन पूरा गरेर लाइसेन्स लिनुपर्ने वा जाँचपास गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । त्यसैले यी पेशामा प्रवेश गर्नेबीच व्यापक प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाबाट छनौट हुने उम्मेदवारको समाजमा बेग्लै महत्त्व र सान हुन्छ तर पत्रकारितामा प्रवेश गर्न कुनै छेकवार छैन । त्यसैले कन्डक्टर भाइहरू पनि प्रवेश गरेका हुन् र पेशा बद्नाम बनेको हो ।

मैले बारामा भेटेका ती भाइले सुनाएको पीडा प्रतिनिधिमूलक घटना हो । योभन्दा भयानक, सुन्दै लाज लाग्ने गतिविधि पत्रकारबाट भएका थुप्रै घटना छन् । कुनै–कुनै जिल्लामा पत्रकारलाई ‘सीडीयोे’ भन्ने गरिन्छ रे ! अर्थात कतै–कतै पत्रकारले आफूलाई सीडीयो जत्तिकै शक्तिशाली ठान्छन् रे ! आफूलाई सीडीयो नै भनेर परिचय गराउँछन् रे ! जिल्लाको एउटा पत्रकार पत्रकारिता मात्र गर्दैन । उ पार्टीको कमिटीमा पनि बसेकै छ, एनजीओ, आईएनजीओ, मानव अधिकार सम्बन्धी संस्था, घरजग्गा कारोबार गर्ने संस्था र स्थानीय ठेकेदारको प्रतिनिधि पनि बनेकै छ । दुनियाँमा कहाँ छ यस्तो अभ्यास ? पत्रकारिता पेशा प्रवेशका लागि आधारभूत कुनै द्वार खडा गरिएको भए यस्तो हुन्थेन कि ? यति छाडा दुनियाँको कुन पत्रकारितामा छ होला जहाँ जग्गा दलाल, ठेकेदार, बिचौलिया, तस्करको घाँटीमा पनि पत्रकारको परिचयपत्र झुण्डिएको होस् । पत्रकारिता बद्नाम गर्न दुनियाँमा कतै नभएका विकृत अभ्यास समेत गरिरहेका हामीले सुधारका लागि लाइसेन्सको नयाँ अभ्यास चाहिँ गर्नै नहुने किन ? 

के चिकित्सक, निजामती कर्मचारी, पाइलट वा इन्जिनीयरभन्दा पत्रकारिता पेशा कम संवेदनशील छ ? कम जिम्मेवार पेशा हो ? के पत्रकारिता समाजप्रति उत्तरदायी हुनु नपर्ने पेशा हो ? केवल लेख्न, बोल्न, विश्लेषण गर्न जानेकै भरमा, रुचि भएकै भरमा पत्रकार हुन पाइन्छ ?

गल्ती लाइसेन्स लिएकाबाट पनि हुन्छ, नलिएकाबाट पनि 

कतिपयले तर्क गरीरहेका छन् – चिकित्सक हुन मेडिकल काउन्सिलबाट लाइसेन्स लिनुपर्छ तर के चिकित्सकबाट गल्ती हुँदैन भन्ने ग्यारेन्टी छ ? के तालिमप्राप्त अर्थात् कोर्स गरेको पाइलटले उडाएको प्लेन दुर्घटनामा पर्दैन भन्ने ग्यारेण्टी छ ? हो, गल्ती सबैबाट हुन्छ । लाइसेन्स लिएकाबाट पनि हुन्छ, नलिएकाबाट पनि हुन्छ तर सवाल यो हो कि चिकित्सक, शिक्षक, इन्जिनीयर, कर्मचारी, प्रहरी, पाइलट हुन चाहिँ निश्चित तहका परीक्षा पास गर्नुुपर्ने, आवश्यक जाँचपास गरेर लाइसेन्स लिनुपर्ने तर पत्रकारिता गर्न चाहिँ केही पनि नचाहिने ? के चिकित्सक, निजामती कर्मचारी, पाइलट वा इन्जिनीयरभन्दा पत्रकारिता पेशा कम संवेदनशील छ ? कम जिम्मेवार पेशा हो ? के पत्रकारिता समाजप्रति उत्तरदायी हुनु नपर्ने पेशा हो ? केवल लेख्न, बोल्न, विश्लेषण गर्न जानेकै भरमा, रुचि भएकै भरमा पत्रकार हुन पाइन्छ ? के पत्रकारितामा सामाजिक उत्तरदायित्व सम्बन्धि सिद्धान्तको गुञ्जायस हुँदैन ? इजाजतपत्र लिएको वकिल, चिकित्सक, पाइलटले गल्ती गर्‍यो भने उसको लाइसेन्स खारेज हुन्छ । उसलाई पेशामा अयोग्य ठहराइन्छ र कारवाही गरिन्छ । अनि पत्रकारले गल्ती गर्दा उसमाथि कारवाही हुनु नपर्ने ? लाइसेन्स नै नभएपछि कुन चाहिँ पत्रकार डराओस् ? लाइसेन्स लिएको भए पो गल्ती गरे भने मेरो लाइसेन्स खारेज हुन्छ र पेशाबाट अलग हुनुपर्छ भनेर पत्रकार पनि डराउँछ ।  

मलाई पी खरेल, लाल देउसा राई र बद्री पौडेल जस्ता सरहरूले पत्रकारिताको ‘सोसियल रेस्पोन्सीबिलीटी थ्योरी’ (सामाजिक उत्तरदायित्व सिद्धान्त) पढाउनुभयो । लाइसेन्स चाहिँदैन भन्ने गुरुहरूलाई नै सोध्न चाहन्छु – त्यसो भए मलाई पत्रकारिताको सोसियल रेस्पोन्सीबिलिटी थ्योरी किन पढाउनुभएको ? उक्त सिद्धान्तभित्रका त्यति गहन विषयमा किन महिनौंसम्म अध्ययन, विश्लेषण गर्न लगाएको ? प्रयोगात्मक अभ्यास गराएको ? तपाईंलाई लेख्न, बोल्न, विश्लेषण र तर्क गर्न आउँछ भने पत्रकारिता पढिरहनुपर्दैन भनेर उहिल्यै किन नभनेको ? के मैले पढेको पत्रकारिताको कुनै मूल्य छैन ? कि नयाँ पत्रकार बन्न खोज्नेलाई पढ्न पर्दैन, बोल्न, लेख्न जाने पुग्छ भनेर भन्न सक्नुहुन्छ ? 
पत्रकारिताको पढाइ किन चाहियो ? पढाइ र लाइसेन्सको सम्बन्ध के ?

पत्रकारिताको पढाइ र लाइसेन्स लिने विषय फरक–फरक हुन् भन्ने तर्क गर्न सकिएला । के त्यसो भए एलएलबी वा एलएलम नपढी बार काउन्सिलको परीक्षामा सहभागी हुन पाइन्छ ? के एमबीबीएस वा एमडी नगरी मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन पाइन्छ ? के स्नातक वा स्नातकोत्तर नगरी लोक सेवाको परीक्षामा सामेल हुन पाइन्छ ? शिक्षक हुनलाई पनि शिक्षक सेवा आयोगबाट जाँचपास गर्नुपर्ने र लाइसेन्स लिनुपर्ने व्यवस्था शुरू भएको छ । अरु पेशामा प्रवेश गर्न सम्बन्धित विषयको निश्चित तहको पढाइ पूरा गरेर इजाजत प्राप्त गर्नुपर्ने तर पत्रकारिता पढ्दै नपढी पनि पेशा प्रवेश गर्न पाइने ? पत्रकारिता विषय पढिहाले पनि लाइसेन्स लिन नपर्ने ? शुरूमै जसले यस्तो नियम बसाल्यो त्यो नै गलत परिपाटी थियो । यसलाई सच्चाउन किन नहुने ? शुरूमा शिक्षकलाई पनि लाइसेन्स अनिवार्य थिएन । हालैका वर्षमा आएर शिक्षक लाइसेन्स अनिवार्य गराइयो नेपालमा । यस्तै अभ्यास पत्रकारितमा लागू गर्न किन नहुने ? 

तर्क उठ्ला – पत्रकारिता पढ्नु र लाइसेन्स लिनु फरक विषय हुन् । मेरो विचारमा ती फरक विषय होइनन् । ती एकअर्कामा अन्तरनिहीत/अन्तरसम्बन्धित छन् । किनभने नपढी कुनै पनि विषयको लाइसेन्स लिने परीक्षामा सहभागी हुन सकिँदैन ।   

यदि पत्रकारिता नपढी पनि गर्न सकिन्छ भनेर तर्क गर्ने हो भने संसारका विभिन्न देशमा किन यतिधेरै पत्रकारिता पढाउने विश्वविद्यालय सञ्चालनमा छन् ? पत्रकारितामा किन यतिधेरै अध्ययन, अनुसन्धान र बहस आवश्यक परेको ? किन यतिधेरै विद्वानले पत्रकारिताका बारेमा यतिधेरै गहन अध्ययन, अनुसन्धान र विश्लेषण गर्नुपरेको ? कतिपय साथीहरूले भन्नुभएको छ – पत्रकारिता पढे पुग्छ, लाइसेन्स लिन पर्दैन किनभने सरकारले दास बनाउन सक्छ । के लाइसेन्स लिएर पेशामा लागेका सबै वकिल, इन्जिनीयर, चिकित्सक, शिक्षक सरकारका दास हुन् ? कि सबै निजामती कर्मचारी दास हुन् ? के ठीक के बेठीक भनेर छुट्याउँदैनन् ?

अर्को तर्क पनि छ – विदेशमा पनि त पत्रकारिताको पढाइ हुन्छ तर पत्रकारले लाइसेन्स नै त लिनुपर्दैन नि ! मैले बुझेसम्म इटली र स्पेनमा पत्रकारका लागि लाइसेन्सको व्यवस्था गरिएको छ । ल मानौ अमेरिका, युरोपी मुलुकमा पत्रकारिताको पढाइ हुन्छ तर लाइसेन्सको अभ्यास छैन । त्यहाँको समाज नेपाली समाजभन्दा धेरै सृदृढ, विधि, पद्धतिमा चल्छ नि त ! ती देशमा खराब व्यक्ति पत्रकारितामा प्रवेश गर्ने सम्भावना लगभग शून्यप्रायः छ । ती देशमा रातिराति ट्रकको खलासी गरेर तस्करी गर्नेहरू पत्रकारितामा प्रवेश गरेका घटना छन् भने कृपया यो पंक्तिकारलाई अवगत गराइदिनुहोला । 

वर्षौंदेखि गलत काम गरिरहेका सञ्चारमाध्यम र त्यहाँ काम गर्ने खराब पत्रकारले किन निरन्तरता पाइरहेका छन् ? किन पेशामा टिकिरहेका छन् ? किन उनीहरूमाथि कारवाही भएन ?

जवाफ आउला – पत्रकारिता नपढेरै पनि पत्रकार भइन्छ, धेरै बकबक नगरौं । ल मानौं पत्रकारिता गर्न पत्रकारिता पढ्न पर्दैन । पत्रकारिता नपढेका धेरै पत्रकार नेपालमा, अन्य देशमा पनि होलान् । ती सक्षम पनि होलान् । पढेका जति सबै असल, नपढेका खराब भन्न खोजेको होइन र त्यस्तो अवस्था पनि होइन तर पत्रकारिता पढ्दाखेरि जुन कुरा सिकिन्छ, जुन गहिरो ज्ञान प्राप्त हुन्छ, नपढेकाले त्यो प्राप्त गर्न सम्भव छैन । यसमा जति पनि बहस गर्न सकिन्छ । पढेकासँग नपढेकाको तुलना हुँदैन हजुर, यो घाम जत्तिकै छर्लङ्ग विषय हो ।

मसँगै पत्रकारिता पढेकै साथीहरूले पनि लाइसेन्स लिन हुँदैन, यो वाहियात विषय हो भनेर तर्क गरिरहनुभएको छ । मानौं कसैले तर्क गर्ला मलाई बिरामीको पेट चिर्न आउँछ, म चिर्छु । किन एबीबीएस, एमडी गर्नुपर्‍यो ? किन मेडिकल काउन्सिलबाट लाइसेन्स लिनुपर्‍यो ? कसैले त्यो दाबी गर्दैमा उसलाई बिरामीको पेट चिर्न दिने ? चिकित्सकले बिरामीको पेट चिर्नु र पत्रकारले खोज समाचारको चिरफार गर्नु बराबर हुन्, उत्तिकै संवेदनशील विषय हुन् ।
तर्क आइरहेका छन् – ‘पत्रकारको परीक्षा आम स्रोता, दर्शक र जनताले लिन्छन्, कुनै सरकारी निकायले होइन । यदि पत्रकारले गलत लेख्यो भने जनताले नै उसलाई बहिष्कार गर्छन्, उसको पत्रिका पढ्दैनन् वा रेडियो, टेलिभिजन सुन्दैनन, हेर्दैनन् । त्यसैले पत्रकारको परीक्षा लिइरहनु आवश्यक छैन ।’

यो तर्कसँग म सहमत छैन । यदि त्यस्तो हुन्थ्यो भने वर्षौंदेखि गलत काम गरिरहेका सञ्चारमाध्यम र त्यहाँ काम गर्ने खराब पत्रकारले किन निरन्तरता पाइरहेका छन् ? किन पेशामा टिकिरहेका छन् ? किन उनीहरूमाथि कारवाही भएन ? गलत गर्नेलाई त जनताले उहिल्यै बहिष्कार गर्नुपर्ने, तिनका मिडिया त धेरै अघि बन्द भइसक्नुपर्ने । फेरि यो जनता सडकमा उत्रेर मलाई फलानो पत्रकारले लेखेको मन पर्दैन भन्ने विषय हो र ? गुनासो गर्नेले गरिरहेका छन् तर खराब पत्रकारिता गर्नेले गरेको गर्‍यै छन् । त्यसैले यो तर्कमा खासै दम छैन । उक्त तर्कलाई अर्को तर्कले पनि काट्न सकिन्छ जस्तो मानौं कसैले भन्यो – मलाई सवारीसाधन चलाउन आउँछ । मैले सवारी राम्ररी चलाउन सक्छु कि सक्दिनँ भन्ने विषय मेरो बसभित्र बसेका यात्रुहरूले मूल्यांकन गर्ने विषय हो । त्यसैले मैले लाइसेन्स लिन आवश्यक छैन । पहिला मलाई चलाउन दिउ, हेर अनि मेरो मूल्यांकन गर । यो तर्कलाई मान्ने ? लाइसेन्स नै नभएको चालकलाई गाडीको चाँबी सुम्पने ? 

लाइसेन्स विनाको चालकलाई सवारीसाधनको चाँबी सुम्पनु र पत्रकारिताका आधारभूत सिद्धान्त बुझ्दै नबुझेको वा कुनै पनि तहको द्वार पार नगरी सोझै पत्रकारितामा प्रवेश गरेको पत्रकारलाई समाचार लेख्न दिनु भनेको उस्तै कुरा हुन् । दुवैबाट कुनै पनि बेला जुनसुकै किसिमको दुर्घटना हुने जोखिम रहन्छ ।  

चिकित्सा पेशा र पत्रकारिता उत्तिकै संवेदनशील

मेडिकल काउन्सिलबाट लाइसेन्स लिएर चिकित्सक बनेका विभिन्न रोगका विशेषज्ञ चिकित्सहरूको बिरामीलाई बचाउन जति महत्त्वपूर्ण भूमिका हुन्छ, त्योभन्दा कुनै पनि हालतमा पत्रकारिताको वा पत्रकारको महत्त्व कम छैन । एउटा चिकित्सकले गलत डायग्नोसिस गर्‍यो, गलत औषधि दियो, शल्यक्रिया गर्न नपर्ने बिरामीलाई पनि शल्यक्रिया गर्‍यो भने मान्छेको ज्यान जान्छ । त्यसैगरी एउटा पत्रकारले सत्य नबुझेर, तथ्य नकेलाइकन, आवश्यक कागजात र प्रमाण नजुटाइकन, सुनेकै भरमा, हल्लाका भरमा वा पत्रकारिताका न्यूनतम मूल्य मान्यताको ख्याल नगरी कसैको चरित्रहत्या हुने गरी, बद्नाम हुने गरी समाचार लेख्यो भने त्यसले समाज भ्रमित मात्र हुँदैन, मान्छेले आत्महत्याको बाटो रोज्न सक्छ । समाजमा बद्नाम भएको चिन्तै चिन्ताले उ सुक्छ । उ मनोरोगी हुन पुग्छ । समाजबाट पलायन हुनसक्छ ।  त्यसको उपचार छ ? अहिले नेपालमा यस्तै भइरहेको छ । काठमाडौंमा पत्रकारिता पढेर बारा फर्केको एउटा दक्ष ठिटो आफ्नो विषयगत पेशामा टिक्न नसकेर स्कूलको शिक्षक र ड्राइभिङ लाइसेन्सको परीक्षामा फेल भएको एउटा अनपढ व्यक्ति पत्रकार भएपछि कसरी असल पत्रकारिताको अपेक्षा गर्ने ? 

पत्रकारितामा रगत पसिना बगाएको र विश्वसनीय पत्रकारितामा राम्रो छवि कमाएको पत्रकार पनि यहीँ पेशामा, बाराको कन्डक्टर पनि दिउँसो–दिउँसो यहीँ पेशामा ? मिल्छ ? सुहाउँछ ? तुलना हुन्छ ?

जसरी कुन रोगको जरो के हो ? के कारणले के रोग लागेको हो ? के गर्‍यो भने यो रोग निको हुन्छ भनेर गहिरो अध्ययन, अनुसन्धान नगरी चिकित्सक बन्न सकिँदैन अनि बिरामीको जाँच गर्न पाइँदैन, त्यसैगरी कुनै गम्भीर वा संवेदनशील विषयमा खोजमूलक समाचार, विचार, विश्लेषण या टिप्पणी गर्दा तथ्य छ कि छैन, कुन गलत हो, कुन सही हो, कतिसम्म लेख्न मिल्ने हो, कतिसम्म मिल्ने होइन, समाचारसँग जोडिएको पक्ष विपक्षसँग सम्पर्क गर्न किन आवश्यक छ भनेर नबुझी समाचार लेख्न मिल्दैन । त्यसका लागि पत्रकारिताका आधारभूत सिद्धान्त सिक्नैपर्छ, पढ्नुपर्छ । न्यनूतम प्रवेशद्वार वा मापदण्डका आधारमा जाँचपासको सामना गर्नैपर्छ ।  

अनुभव ठूलो कि विद्या ?

अनुभव महत्त्वपूर्ण पाटो हो । यसमा विमति छैन । अनुभवी पत्रकार पत्रकारिता पढेको विद्यार्थीभन्दा सक्षम र परिपक्क हुन पनि सक्छ । अनुभवले मानिस खारिन्छ । अनुभवले उसले धेरै कुरा सिकेको हुन्छ । यति वर्ष काम गरेको अनुभवी पत्रकारका हकमा लाइसेन्सको व्यवस्था लागु नहुने तर यस्तो तहका पत्रकार वा नवप्रवेशीले एउटा द्वार पार गर्नुपर्ने व्यवस्था गरौं भन्दा त्यसले कसलाई कहाँ हानी पुर्‍याउँछ र ? लामो समयदेखि पत्रकारिता गरेको र गलत काम नगरेको पत्रकारलाई सम्मान स्वरुप मानार्थ लाइसेन्स दिँदा फरक पर्दैन तर धेरै वर्षदेखि पत्रकारिता गरेको, पत्रकारितामा रगत पसिना बगाएको र विश्वसनीय पत्रकारितामा राम्रो छवि कमाएको पत्रकार पनि यहीँ पेशामा, बाराको कन्डक्टर पनि दिउँसो–दिउँसो यहीँ पेशामा ? मिल्छ ? सुहाउँछ ? तुलना हुन्छ ? तर यस्तै त भइरहेको छ नि नेपालमा !

बैंकले कसरी हेर्छन् पत्रकारलाई ?

डेढ वर्षअघिको मेरो आफ्नो कथा–व्यथा उल्लेख गर्न सान्दर्भिक होला भन्ने लागेर यहाँ उल्लेख गरेको छु, आफ्नो ‘शो अपका’ लागि होइन । घरायसी प्रयोजनका लागि श्रण लिन पर्ने भयो । डेढ वर्षअघि मैले नयाँ बानेश्वर चोकमा रहेको स्ट्यान्डर्ड बैंकमा सम्पर्क गरें । मेरा एकजना मित्र सोही बैंकमा काम गर्ने भएकाले सबैभन्दा पहिले उनैलाई फोन गरें र उनले आउन भनेपछि गएँ । उनले लोन शाखाका कर्मचारीसँग परिचय गराइदिए र आफ्नो काममा लागे । 
लोन शाखाका कर्मचारीले मेरो बयान लिन थाले । तपाईंको पेशा, व्यवसाय के हो ? मैले भने – म पत्रकार हँु । अघिसम्म म देखेर खुशी भएका कर्मचारी एकैछिनमा अलि हच्किए जस्तो लाग्यो । आम्दानी कति छ ? पत्नी के गर्नुहुन्छ ? घर कहाँ छ ? जग्गा छ कि छैन ? आदि इत्यादि सोधे । मैले सबै विस्तृतमा बताएँ । शुरूमा त पत्नी र मैले काम गरेका संस्थाको नाम खुलाउन मन थिएन तर बैंकले लोन दिन विश्वसनीय संस्थाबाट आउने भरपर्दो आम्दानीको स्रोत खोज्छ भन्ने लागेर पत्नीजी रेडियो सगरमाथाको जागिरपछि अनमिन, त्यसपछि युनिसेफ, एडीबीको सहयोगमा सञ्चालित परियोजना अनि अहिले इयूको सहयोगमा सञ्चालित परियोजनामा काम गर्छिन् भनें । उनको कमाइ यति छ, ट्याक्स वार्षिक यति तिर्छिन् भनें । म १९ वर्षदेखि पत्रकारितामा छु । यो–यो ठाउँमा काम गरें । अहिले लोकान्तर डट्कम चलाउँछु । यी–यी संस्थामा कन्सल्ट्यान्सको काम गर्दै आएको छु । सबै तिरबाट मासिक यति कमाउँछु, १५ वर्षदेखि वार्षिक यति कर तिर्दै आएको छु । आदि इत्यादि । सोधेको सबै जवाफ दिएँ । एउटा अभियुक्तलाई जसरी मेरो बयान लिने काम भयो तर शिष्ट ढाँचामा । अनि मलाई १५ दिन पछि सम्पर्क गर्नुहोस् भनियो । सम्पर्क गरें । फेरि एक सातापछि आएर फलानोलाई भेट्नुस् भनियो । गएर भेटें । स्पष्ट जवाफ दिँदैनन् तर लोन स्वीकृत भयो पनि भन्दैनन् । 

कुरा बुझ्न सकिनँ । अनि निर्णय गरें – अब अति भयो, झुलाउनुको कारण सोध्नुपर्‍यो । सोधें – किन ढिला ? किन अलमल ? नदिने हो भने दिन्न भन्नुस् । त्यसपछि पो थाहा पाएँ ढिलाइको कारण त मेरो पेशा पत्रकारिता र मेरो परिचय पत्रकार पो रहेछ । बैंकका कर्मचारीले धुइँपत्ताल लगाएर मेरो कम्पनी सही हो कि होइन, म कस्तो पत्रकार हो ? ईएमआई तिर्न सक्ने पत्रकार हो कि तोर्पे पत्रकार ? भोलिका दिनमा लोन तिर्न अनुरोध गर्दा उल्टै धम्काउने पत्रकार हो कि होइन ? मैले कमाइरहेको सही हो कि होइन ? मेरो पत्नीको कमाइ सही हो कि होइन ? म कतै अरु बैंकबाट लोन लिएर नतिरेको, भागेको डिफल्टर पो हो कि भनेर सोधखोज गरिरहेका रहेछन् । सोधखोज गर्नु अन्यथा थिएन तर मलाई हेर्ने दृष्टिकोण चाहिँ पत्रकार भएका कारण ज्यादै शंकालु रहको स्पष्ट बुझिन्थ्यो । त्यहीँका कर्मचारीले घुमाउरो पाराले त्यो जानकारी पनि दिए । 

प्रेस स्वतन्त्रताको मूल मर्ममा असर नपुग्ने गरी लाइसेन्स वा यस्तै अन्य कुनै मापदण्ड लागू गर्न किन पछि हट्ने ?

पत्रकार, वकिल र प्रहरीलाई सहजै लोन  दिन नसकिने प्रसङ्ग पनि निस्क्यो । कर्मचारीले रुखो र अशिष्ट व्यवहार गरेनन् तर राम्रैसँग केरकार गरे । सहजै विश्वास गरेनन् । त्यहीँबीचमा मैले मेरा अन्य बैंकर साथीहरूलाई पनि सम्पर्क गरें र सोधें – पत्रकारलाई लोन दिन बैंकहरू हिच्किचाउँछन् हो ? जवाफ आयो – हो । अनि थाहा पाएँ – फलानो बैंकबाट फलानो मिडिया र पत्रकारले यति सालमा लगेको लोन तिरेन । तिर भन्दा उल्टै धम्काउँछ । फलानो बैंकको सीईओलाई फलानो पत्रकारले लोन तिर्ने विषयमा भनाभन हुँदा झण्डै हातपात गरेन । आदि इत्यादि । ३ महिना लगाएर बल्ल–बल्ल मेरो लोन स्वीकृत त भयो तर मासिक १० प्रतिशत ब्याजमा लोन निकाल्दा पनि मलाई ठूलै युद्ध जितेजस्तो भो । सित्तैमा पाए जस्तो भो !

आदरणीय पत्रकारिताका गुरु र गन्यमान्यज्यूहरू, 

पत्रकारको यति नाजुक छवि बन्नुमा आज को दोषी छ ? पत्रकारिता त पेशा न हो । यो आफैंमा खराब पेशा हुँदै होइन । यो खासमा समाज बदल्न सक्ने सशक्त पेशा हो तर यो पेशामा रहेका केही खराब पात्रका कारण हामीमाथि यति ठूलो अविश्वास, तल्लोस्तरको अमर्यादित व्यवहार भएको होइन ? अनि हामीप्रतिको यहीँ अविश्वासलाई थप मौलाउन दिने कि यो पेशालाई थप मर्यादित, विश्वासिलो र भरपर्दो बनाउन केही न केही पहल गर्ने ? पत्रकारले पेशा प्रवेश गर्नुअघि एउटा परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गर्दा कसरी अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ ? कसरी प्रेस स्वतन्त्रता हरण हुन्छ ? खराब मानिसहरू यो पेशामा प्रवेश गरेर पेशालाई नै दुर्गन्धित, अविश्वसनीय बनाउनुभन्दा त केही न मापदण्ड बनाएको राम्रो होइन र ? हामी खुला समाजमा छौं, उत्तर कोरियामा होइन । त्यति सहजै शासकहरूले हाम्रो स्वतन्त्रता हरण गर्नसक्ने स्थिति छैन, होइन । हामी किन यतिधेरै शंकालु ? प्रेस स्वतन्त्रताको मूल मर्ममा असर नपुग्ने गरी लाइसेन्स वा यस्तै अन्य कुनै मापदण्ड लागू गर्न किन पछि हट्ने ?

यसो गरे कसो होला ?

लाइसेन्सका लागि पत्रकारको परीक्षा कसले कसरी लिने ? लिने व्यक्ति को ? निकाय को ? सरकार वा सरकारले नियुक्त गरेका व्यक्तिले परिक्षा लिने कि साँच्चिकै अब्बल, पाका, परिपक्क, पत्रकारितामा लामो योगदान र अनुभव भएकाले लिने ? हो यो बहस, छलफल र निचोडमा पुग्नुपर्ने सवाल हो । पत्रकारको परीक्षा लिनका लागि एउटा स्वायत्त निकाय बनाउन सकिन्छ वा प्रेस काउन्सिल नेपाललाई नै थप जिम्मेवार र नयाँ स्वरुपमा लान सकिन्छ । यदि नयाँ स्वायत्त संस्था बनाउने हो भने त्यहाँ निजी क्षेत्रका, समाजले पत्याएका, अहिलेसम्म विवादमा नआएका, पत्रकारितामा सैद्धान्तिक र व्यावहारिक ज्ञान भएका, अनुभवी, परिपक्क व्यक्ति नियुक्त गर्न सकिन्छ । ती व्यक्तिलाई सरकारी अधिकारीले होइन, प्रधान्यायाधीशले शपथ खुवाउने व्यवस्था गर्दा राम्रो हुन्छ । तटस्थता कायम हुन सक्छ । त्यो निकाय र त्यहाँ जाने पदाधिकारीलाई पूर्ण रुपमा स्वतन्त्र छोडिदिनुपर्छ । हो त्यस्तो निकाय र त्यस्ता पाका अग्रज पत्रकारले स्वतन्त्र ढंगले अनुभवीका हकमा यस्तो व्यवस्था गर्ने, कम अनुभवीका हकमा यस्तो व्यवस्था गर्ने, नवप्रवेशीका हकमा यस्तो व्यवस्था गर्ने भनेर निर्णय लिन सक्छन् । 

परीक्षामा सोधिने प्रश्न, त्यसको परीक्षण, नतिजा निकाल्ने सबै काम त्यहीँ स्वायत्त संस्थाले गर्नुपर्छ । त्यो निकायले जारी गरेको पत्रकार परिचयपत्र (इजाजतपत्र मात्र आधिकारिक हुने व्यवस्था मिलाउनुपर्छ । त्यो निकायबाट जारी भएको प्रेस पासलाई मात्र मान्यता दिने निर्णय गराउनुपर्छ । यति हुन सक्यो भने सवारी लाइसेन्सको परीक्षामा फेल भएका कन्डक्टर भाइहरू पत्रकारितामा प्रवेश गर्न सम्भव हुन्थेन कि ? त्यसपछि पत्रकारिता पेशा र पत्रकार पनि चिकित्सक, वकिल, निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, इन्जिनीयर, न्यायाधीश जत्तिकै इज्जतिलो दर्जामा गनिन्थे कि ? अनि गगनका बुवाले सबैभन्दा पहिला आफ्नो पत्रकार छोरालाई परिचय गराउने दिन आउँथ्यो कि ? वा पत्रकार छोरोलाई सबैभन्दा पहिला परिचय गराउँदा आफ्नो इज्जत बढेको ‘फील’ हुन्थ्यो कि ? नत्र भने नेपालमा पत्रकारको इज्जत त यस्तै उस्तै हो, पेशा चाहिँ यसैगरी वर्षौं चलिहाल्छ, जसरी अहिले चलिरहेको छ । 

विमल गौतम
विमल गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्