भौतिक सुखसुविधामा अल्झिएर भगवद्भक्ति गर्दैन मानिस, भक्तिमा छ परम आनन्द

जेठ ३०, २०७६

काठमाडौं – प्रख्यात सन्त रामकृष्ण परमहंसको जीवनका अनेकौं प्रसंगले हामीलाई सुखी जीवन जिउन प्रेरणा दिन्छन् । यस्तै एउटा प्रसंग यहाँ उल्लिखित छ ।

एक दिन रामकृष्ण परमहंस धर्म र ज्ञानका कुरा गरिरहनुभएको थियो । एक शिष्यले सोधे, ‘गुरुदेव, ईश्वरले मनुष्यलाई संसारमा किन पठाएका हुन् ?’


ADVERTISEMENT

उहाँले जवाफ दिनुभयो, ‘ईश्वरले मनुष्यलाई सृष्टि निर्माणका लागि पठाउनुभएको हो । यो संसार ईश्वरकै माया हो । भगवानले मानिसलाई भौतिक सुखसुविधामा अल्झाइरहनुभएको छ ।’

शिष्यले सोधे, ‘भगवानले मानिसलाई सुखसुविधामा किन अल्झाउनुभएको ? यो उहाँकै इच्छा हो त ?’

परमहंसले भन्नुभयो, ‘हो, यो भगवानकै इच्छा हो । मनुष्यले ईश्वरीय आनन्द प्राप्त गरेमा यो संसार नै रहँदैन । सबैजना भगवानको शरणमा पुगिहाल्छन् । यो सृष्टि प्रक्रिया नै बन्द हुन्छ । त्यसैले ईश्वरले मनुष्यलाई आफ्नो मायाजालमा अल्झाइराख्नुभएको हो ।’

शिष्यको जिज्ञासा अझै पनि शान्त नभएपछि परमहंसले एउटा उदाहरण दिँदै सम्झाउनुभयो । गोदामहरूमा चामलका बोरा हुन्छन् । मालिकलाई मुसा आएर चामल खाइदेलान् भनी पीर लागिरहन्छ । त्यसैले ऊ गादाम बाहिर सक्खर र खीर राखिदिन्छ । मुसा त्यसको मीठो स्वादमा भुलोस् र चामल खोज्दै गोदाम प्रवेश नगरोस् भनी मालिकले त्यसो गरेको हो । 

भगवानले पनि मनुष्यका लागि सुखसुविधाको व्यवस्था गर्नुभएको छ र व्यक्ति तिनैमा अल्झिएर भगवानको भक्तिबाट विमुख रहन्छ । तर वास्तविक आनन्द भगवानको भक्तिमा छ । कम मानिसले मात्र यो कुरा बुझ्न सक्छन् ।
 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस