पीएचडीको अवमूल्यन !

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनका रूपमा बुझ्ने बुझाउने गरेको देखिन्छ । तर आजकल शिक्षा सामाजिक तथा व्यावहारिक भन्दा पनि प्रचारात्मक र व्यावसायिक बन्दै गएको कुरा शायदै कसैबाट छिपेको छ । शिक्षा विशुद्घ प्रमाणपत्रको संकलन र प्राप्तिमा केन्द्रित बन्दैछ ।

यस्तो प्रकृतिको शिक्षामा विद्यावारिधि समेत भनिने पीएचडीे औपचारिक अध्ययनको सबैभन्दा उपल्लो शैक्षिक उपाधि हो । सामान्यतया यो उपाधिधारीलाई ज्ञान तथा सचेतनाको वितरक मानिन्छ । समाजको सामयिक परिवर्तन र पुर्ननिर्माण गर्न पीएचडीधारीहरूको अध्ययन, अनुसन्धानकोे विशिष्ट योगदान रहन्छ भन्ने अवधारणा छ । तसर्थ यसप्रकारको महत्त्व भएको मानक उपाधि लिन खोज्नु पनि शायद मानवीय स्वभाव नै होला । 


ADVERTISEMENT

तर नेपालमा अहिलेसम्म कतिजना व्यक्तिहरू उक्त उपाधिबाट विभूषित छन्  भन्ने प्रस्ट आँकडा छैन । उक्त उपाधि लिने पहिलो नेपाली नागरिक को थिए भन्नेमा पनि फरक फरक नामहरू देखिएका छन् । तर त्यो संख्या मननयोग्य रूपमा उच्च हुँदै गइरहेको भने अवश्य छ । अहिले नेपालका पाँचवटा विभिन्न विश्वविद्यालयहरूले पीएचडी उपाधि प्रदान गर्छन् । केही मानिसले प्राविधिक तथा चिकित्सा अध्ययन सम्बन्धी संस्थान अथवा निकायहरूबाट पनि उपाधि लिन्छन् । विदेशबाट यसप्रकारको उपाधि लिनेहरूको संख्या समेत बढ्दैछ । सम्बन्धित विषयमा ज्ञान तथा दर्शनको राजा बराबर मानिने यो उपाधि प्राप्त मानिसहरूले त्यही आदर्श बराबरको योगदान समाजलाई पुर्‍याएका छन् वा छैनन् ? उनीहरूले त्यो योगदान पुर्‍याउने क्षमता राख्छन् वा राख्दैनन् ? विचार पुर्‍याउनुपर्ने पक्ष बन्दैछ । तर पीएचडी मोह चाहिँ  धेरैको आकांक्षा बन्दैछ, थुप्रै मानिस त्यसलाई पाउन अहोरात्र दौडदैँछन् । 

विदेश गएर उपाधि हासिल गर्नेकोे संख्या पनि निकै छ । विद्वत्वृत्तिमा विदेश गई उतै बसी पीएचडी गर्नेहरूको बारेमा टिप्पणी गर्ने हतार गरिहाल्नु अलिक स्वाभाविक हुदैन । तर छिमेकका विभिन्न विश्वविद्यालयमा शोध प्रस्ताव दर्ता गर्दै विदेश गएको औपचारिकता देखाउने र यहीँ बसेर ती उपाधि लिएको दाबा गर्नेहरू अझ धेरै छन् । त्यसरी प्राप्त उपाधिमाथि समाज विश्वस्त बन्न सकिरहेको छैन । अपवादबाहेक अधिकांश दीक्षितहरूले उपाधिको मानमर्यादा कायम राख्नेगरी कार्यसम्पादन गर्नसकेका छैनन् । त्यही भएर होला विश्वविद्यालय अनुदान आयोगले विद्यावारिधि शोधार्थीलाई दिने विद्वद्वृत्तिमा निवेदन दिन केही वर्ष पहिलेदेखि अनिवार्य रूपमा स्वदेशकै विश्वविद्यालयमा शोध प्रस्ताव दर्ता भएको हुनु आवश्यक हुने नियम अंगीकार गरेको छ । विदेशी विश्वविद्यालयमा विद्यावारिधि शोध प्रस्ताव दर्ता गर्नेलाई त्यस्तो ग्रान्ट दिइँदैन । आयोगको यस्तो कदमसँगै बजारमा यहाँ पीएचडीको थेसिस लेखिन्छ भन्ने ब्यानरहरू पनि कतैकतै देखिनुले उपाधिमाथि शंकास्पद नजरलाई अझ सहयोग पुग्दैछ । 

मुख्यतः अहिले देखिएका आम पीएचडीहरूलाई तीन विभिन्न समूहमा राखेर हेर्न सकिन्छ देखिन्छन् । पहिलो, निकै परिश्रमसाथ अध्ययन, अनुसन्धान तथा आवश्यक शोधसहित विभूषित हुन्छन् । गहिरो सुझबुझ निर्माण गर्छन् । समाजलाई आफ्ना खोज, अनुसन्धानमार्पmत निरन्तर सुसूचित गराउने पवित्र कार्यमा दत्तचित्त रहन्छन् । स्वदेश तथा विदेशमा प्रख्याति र प्रशस्तिसाथ जिउँछन् । आफ्नो र समाजको शैक्षिक उन्नयनमा उभार ल्याउन तल्लीन रहन्छन् र यसमा आनन्द समेत अनुभव गर्छन् । जीवनपर्यन्त सफलताको रूपमा ग्रहण गर्छन् । समाजले समेत उनीहरूमा ओज र ज्ञानको फराकिलो दायरा अनुभव गर्छ । 
दोस्रो, केही मानिस बजारमा मःमः पसल खुले जस्तै खुलेका ‘यहाँ थेसिस लेखिन्छ’ भन्ने पसलको सहयोगमा उपाधि लिन्छन् र त्यसलाई जागिरको बढुवामा प्रयोग गर्छन् । अनि केही समयपछि आप्mनो शोधको निष्कर्ष के थियो भन्नेमात्र हैन, कतिले त शोधको विषय समेत बिर्सन्छन् । 

तेस्रो प्रकार चाहिँ छिमेकबाट आमन्त्रित उपाधि लिन्छन् । देशको सबैभन्दा बढी पढिने भनेर आत्मप्रशंसाको पुलिन्दा बोक्ने र सबैभन्दा व्यावसायिक पत्रकारिता गर्ने भनेर आफैं उद्घोष गर्ने सञ्चारमाध्यमचाहिँ कोटेश्वरमा र डिल्लीबजारमा पीएचडीको विज्ञापन छापिदिन्छन् । उनीहरूलाई पैसा भए सामग्रीको विश्वनीयता तथा गहनता केहीसँग पनि सरोकार हुँदैन । कुनै बेला तिनीहरू भारतको प्रख्यात ज्योतिष फलना फलना होटलमा बसेको भनेर विज्ञापन छाप्ने गर्थे । नागरिकलाई त्यहाँ गएर भविष्य जान्न भन्दै आग्रह गर्थे । आफैंलाई ठूलो मान्ने छापा अखबारले विज्ञापन गरिदिने त्यस्ता अखडाहरू तेस्रो प्रकारका उपाधि लिनेलाई मन्दिर जत्तिकै पवित्र बन्छन् । के पीएचडी कुनै सांगीतिक/सांस्कृतिक कार्यक्रम हो, ठाउँ विशेषमा आयोजना हुने ? 

दोस्रो र धेरै हदसम्म तेस्रो खालका उपाधिहरू किनिएका छन् । स्वदेशी विश्वविद्यालयहरूले केही शोध लेखहरू माग्छन् । बेला/बेलामा प्रगतिको प्रतिवेदन सहित मौखिक परीक्षा सामना गर्नुपर्छ । शोध प्रस्ताव दर्ता भएपछि अन्तिम उपाधि प्राप्त गर्ने बेलासम्म कम्तीमा पनि पाँचपटक प्रस्तुतीकरण तथा दशौंपटक सुधार गर्नुपर्छ । शोध निरीक्षकदेखि अन्तिम भाईभा हँुदासम्म झन्डै दुई दर्जन विज्ञको सुझाव अनुसार शोधलाई निखार्नुपर्छ । तेस्रो प्रकारका उपाधि लिनेहरूले यस्ता चरणहरू अवलम्बन गरेको देखिँदैन । देशबाहिर पनि राम्रा विश्वविद्यालयबाट त्यहीँ बसेर अध्ययन अनुसन्धान गरी उपाधि लिएका केही संख्यालाई छाड्दा नेपालै बसी विदेशको कुनै विश्वविद्यालयमा दर्ता भई यहीँबाट उपाधि लिएकाहरू प्रति शंका हुनु स्वाभाविक देखिन्छ । ती उपाधि तस्करी पैठारी गरिएका अवैधानिक उपाधिहरू हुन् ।

अधिकांशमा उपाधिपछि आफ्ना निष्कर्षहरू पाठकसामु पुर्‍याउने अनि निरन्तर अनुसन्धान गर्ने बानी पीएचडीधारीमा देखिँदैन । सम्बन्धित विषयमा कसैले केही प्रश्न गर्‍यो भने आफ्ना कुरा प्रस्ट्याउनु भन्दा म पीएचडीका अगाडि फुर्ति लगाउने भनेर उल्टै जिज्ञासुको हुलहुज्जत लिने अभ्यास हुन्छ । उपाधिको महत्त्व त त्यतिखेर मात्र शोभनीय रहन्छ जब अरूले त्यसलाई बुझेका र मनन गरेका हुन्छन् । 

शहरका मुख्य निजी शैक्षिक संस्थाका अधिकांश प्रमुखहरू त्रिभुवन विश्वविद्यालयका स्थायी वेतनधारी विभिन्न तहका प्राध्यापक छन् । पछिल्लो समय ती शिक्षकहरूले छिमेकका विभिन्न नामधारी विश्वविद्यालयबाट उपाधि लिने प्रचलन सामान्य फेशन बन्दैछ । अलिक नाम चलेका संस्थाका पदाधिकारी चाहिँ शेन्जेन भनेर चिनिने नर्वे, पोल्यान्ड, डेनमार्क जस्ता देशमा पीएचडी दौडाहामा देखिन्छन् । 

नेपालमा कार्यक्षेत्र भएर यहीँ बसिरहँदा किन यहीँबाट उपाधिका लागि प्रयत्न नगरेको भन्दा चाहिँ उनीहरू यहाँ विभिन्न बाहानामा दुःख दिने, दर्ता गर्नुअघि नै शोध लेखहरू प्रकाशित हुनुपर्ने जस्ता अप्ठ्यारा बताउँछन् । उनीहरूको नजरमा यहाँभन्दा विदेशका विश्वविद्यालयहरू ग्ुाणस्तरीय लाग्छन् । तर उनीहरूले नै कम गुणस्तरीय भनेकोमा समेत उपाधिका लागि दर्ता नै गर्न योग्यता नपुगेका वा उक्त प्रक्रियालाई अवलम्बन गर्ने साहस नभएकाहरू राम्रा भनिएका ती विश्वविद्यालयबाट कसरी उपाधियोग्य बन्छन् ? कि उनीहरू रातारात सुधारिएका हुनुपर्‍यो कि उनीहरूले गुणस्तरीय भनेका ती विश्वविद्यालय चाहिँ जसो/जसो शोधार्थी उसो/उसो स्वाहा हुनुपर्‍यो । यसमा अनुसन्धान र अनुगमन दुवै आवश्यक छ । अन्यथा मैले समाजमा ज्ञानको कस्तो नयाँ आयाम स्थापित गर्दैछु, मेरो अनुसन्धानले देशको विकासमा कसरी सहयोग पुग्छ भन्ने बुझाउन नसक्ने विद्वत्ता मिसन नभएर फेशन मात्र हुन्छ । 

नेपाल पीएचडी संघले पछिल्लो समय विद्यावारिधि उपाधि लिनेहरूको संख्या ज्यामितीय हिसाबमा बढेको बताउँछ । किन ती अधिकांश चाहिँ उपाधि लिन्छन् अनि हराउँछन् ? आफूले ज्ञान लिएका छैनन् कि लिएको ज्ञान सार्वजनिक गर्न र समाज सुधारमा त्यसको उपयोग दर्ज गराउन चाहँदैनन्, प्रश्न पेचिलो बन्दैछ । 

अध्ययन मात्रै पूर्ण होइन, लेखन र आफ्नो ज्ञानको सार्वजनिकीकरण गर्दा मात्र ज्ञान जीवन्त रहन्छ । तर अधिकांश पीएचडीहरूले आफूहरूलाई स्थापित गराउन प्रयास गरेनन् वा सकेनन् ? त्यसको सोधखोज हुनुपर्छ । पीएचडी प्रौढ शिक्षा त अवश्य होइन । पीएचडी नभए अलिक अवमूल्यन हुँदोरहेछ भनेर हलुका हिसाबमा पीएचडी प्राप्त गर्न लालायितहरूको बढ्दो समूहले यो जिम्मेवार र ओजनदार उपाधिको धज्जी उडाउँदैछ । तसर्थ देशको शिक्षालाई व्यवस्थित र सार्थक बनाउन लागिरहेका नियामक संस्थाहरूले पीएचडी नाममा आएका अविश्वसनीय र शंकास्पद पैठारीको छानबिन गर्नुपर्छ । यो उपाधिलाई देश र समाजको मिसन बनाउनुपर्छ । यो व्यक्तिको सनक वा इच्छामा भर पर्ने नक्कली फेशन मात्र हैन । उपाधिको आयातले केहीलाई राहत दिए पनि देशको सम्पुर्ण शैक्षिक धरातल अनि तौललाई आघात गर्दैछ ।

विश्वविद्यालयहरू तथा विश्वविद्यालय अनुदान आयोगको ध्यान यता अविलम्ब पुग्नुपर्छ । सबैभन्दा पहिले यहीँ बसेर विदेशबाट आयात गरिएका माथि उल्लेखित तेस्रो प्रकारका पीएचडीहरूलाई एकमुष्ट बदर गर्दै दोस्रो प्रकारमाथि समेत छानबिन  थालिनुपर्छ ।

असार ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस