कोरोनाको डरले अपाङ्ग छोरीलाई घरमा ‘प्रवेश निषेध’, बुवाविरुद्ध मुद्दा हाल्ने तरखर !

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

देशभर लकडाउनको १५ औं दिन । दिउँसो १ बजेको समय । पोखरा राष्ट्र बैंकचोक नजिक पोका–पन्तुरा बोकेकी एक अधवैशे महिला चौबाटोमा असिनपसिन भेटिइन् । 

‘प्रहरी कार्यालय जाने कताबाट हो ?’ उनले जिज्ञासा राखिन् । 


Advertisement

‘किन होला ?’ मैले उल्टै प्रश्न गरें । किनकि उनको हतास मनस्थितिले कौतुहल बनायो ।

बोकिरहेको गह्रो झोला भूइँमा अड्याउँदै उनले फेरि भनिन्, ‘भन्नु न ?’


Advertisement

नजिकै वडा प्रहरी कार्यालय बैदाम रहेको हुँदा त्यहीँ नै जाने होला भनी मैले दिशानिर्देश गरें । 

‘ए ।’ 

उनले मेरो जिज्ञासा मेटाउँदै अझै यसो भनिन्, ‘बाउलाई उजुरी हाल्ने हो ।’
............... 
कोरोना भाइरस संक्रमणबाट हुन सक्ने उच्च जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि लागू हुने गरी देशभर लकडाउन कायम राखेको छ । यसबीचमा दोस्रो पटक थप भएको ८ दिन सकिँदै गर्दा तेस्रो चरणको लकडाउन वैशाख ३ गतेसम्म कायमै छ । सरकारले लकडाउनका बेला घरबाहिर ननिस्कन भनेको छ भने बाहिर निस्किहाले सर्वसाधारणलाई सुरक्षाकर्मीले केरकार पार्छन् । 

तर जताततै झोला बोकेकी यी महिला कसरी सरकारको आह्वान, सुरक्षाकर्मीको उच्च निगरानी छल्दै निस्फिक्री सडकमा आइन् ? अझ प्रहरी कार्यालयमै गएर आफ्नै बुवामाथि मुद्दा हाल्नुपर्ने के त्यस्तो परेछ ? थप जानकारी लिने हुट्हुटी चल्यो । 

‘मलाई घरमा आउन नदिने ? छोरी भेट्न पनि नपाउने ? त्यसलाई अब छोड्दिनँ,’ उनी फेरि बोलिन् ।

उनी शारीरिक अपाङ्गता भएकी महिना रहिछन् । उनको खुट्टामा अपाङ्गता रहेछ । कोरोनाको त्रास रहेका बेला सामाजिक दूरी कायम गर्दै उनले दुःख सुनाइन् ।
.......................
मेरो नाम विष्णु ढकाल हो । म अहिले २९ वर्षकी भएँ । कास्कीको बेगनास (हंशपुर–५, हाल मादी) मेरो माइतीघर हो । बाबुआमा भने पोखरामै बस्छन् । जन्मिँदै अपाङ्ग थिएँ । बायाँ खुट्टा कमजोर छ । जति उपचार गरेपनि निको भएन । अहिले खुच्याउँदै हिँड्नुपर्छ ।

घरबाट अपहेलित भएपछि काम खोज्दै जाँदा काठमाडौं ठमेलको १ होटलमा वेट्रेस काम पाएँ । काम गर्ने बेलामा १ जना शेर्पासँग लभ पर्‍यो । घर ओखलढुंगा हो । सँगै काम गर्ने होटलमा कूक थियो ऊ । म त्यतिबेला १५ वर्षकी मात्र थिएँ ।

बिहेपछि सँगै एउटै कोठामा भाडामा बस्थ्यौं । हाम्रो छोरी जन्मिइन् । छोरी जन्मेको अर्को वर्ष उसले मलाई छोड्यो । बेपत्ता भयो । म झनै सहाराविहीन भएँ ।

उसले छोडेको पनि ८ वर्ष जति भयो होला । छोरी हुर्काउँदै ज्यान पाल्न केही समय त त्यहीँ होटलमै काम गरें । पछि बुवाआमाले छोरीलाई मबाट छुटाएर ल्याउनुभयो । ऊ बुवाआमासँगै पोखरामा बसेर ७ कक्षा पढ्छे । ४ भाइ र २ बहिनीमध्ये मलाई भने परिवारमा हेला गर्नुहुन्छ । अपाङ्ग भएको भएर होला ।

मैले ठूलो–ठूलो काम गर्न सक्दिनँ । त्यसपछि माग्दै हिँड्न थालें । यसरी सहाराविहीन भइ मगन्ते भएको २ वर्ष भो । कसैले दयाले दिन्छन्, कसैले ढोकाबाटै लखेट्छन् ।

माग्दै जाने क्रममा गत चैत ८ गते बागलुङ बुर्तिबाङ गएकी थिएँ । त्यही मागेर बसें । चैत ११ गते लकडाउनले झनै समस्यामा पार्‍यो । खान केही पाइएन । होटलको नजिकै रात काटें । अनुनय विनय गरेपछि नगरपालिका (बागलुङ) को गाडीले आज पोखरा बसपार्क ल्याएर छाडिदियो ।

बुवालाई फोन गरेको उठाउँदैनन् । माइतको दैलो टेक्न दिँदैनन् । म के गरुँ ?  

....... 

अपाङ्गता परिचयपत्र देखाउँदै उनले सामाजिक सुरक्षा भत्ता पनि नपाएको भन्दै गहभरि आँशु पारिन् ।

उनको कुरा सुनेपछि एकफेर घरपरिवारसँग सम्पर्क गराइदिन मन लाग्यो । उनले आफ्नो बाबुको नम्बर भन्दै पुनः फोन गर्ने कोसिस गरिन् । सम्पर्क हुन नसक्ने संकेत आयो । बुवाले नै सम्पर्कमा आउन नचाहेको र मोबाइल पनि नलाग्ने गराएको शंका लागेपछि मैले आफ्नै मोबाइलबाट उनका बाबुको नम्बरमा फोन गरें ।

एकै घण्टीमा उठ्यो । 

‘हेलो को बोलेको ?’ एक पुरुषको आवाज आयो । 

‘तपाई भरतजी हो,’ मैले आफ्नो संक्षिप्त परिचय दिँदै जिज्ञासा तेस्र्याएँ ।

उनले आफ्नो नाम भरतराज ढकाल र पोखराको जनप्रिय क्याम्पस पछाडि बस्दै आएको भनी हुलिया दिए । 

छोरी पोखरामा अलपत्र परेको र उनको फोन किन नउठाएको भनी मैले जिज्ञासा राखें । 

मेरो जिज्ञासा सकिन नपाउँदै उनले तुरुन्तै जवाफ दिएँ, ‘कोरोना सर्छ नि हजुर !’ 

उनको भनाइ अनुसार छोरीलाई कोरोना लागेको पनि हुनसक्ने आशंका रहेछ ।

पर्याप्त सुरक्षा कवज विना सामान्य मास्कमै रहेकाले मलाई पनि उनका बुवाको कुराले कताकता डर लाग्यो । 

फोन होल्डमै राखेर ती महिला विष्णुलाई इङ्गित गर्दै भने, ‘तपाईंलाई कोरोना लागेको भन्छन् नि बाबुले त !’ 

हाम्रो वार्तालाप सुनिरहेकी उनले आश्चर्य मिश्रित स्वरमा भनिन्, ‘कहाँ हुनु । म अपाङ्ग भएर हेपेका ! तिनलाई मुद्दा नहालेर छाड्छु ?’ उनको रिस अझै मरेको छैन ।

सरकारले पनि बाहिरबाट आउनेलाई सोझै घरभित्र पस्न नदिने भनिरहेको छ । १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने प्रचारप्रसार सरकारले नै गरिरहेको छ ।

‘छोरीलाई कोरोना नै लागेको आशंका लागे पनि उपचार गर्नु पर्दैन त ?’ मोबाइल कुराकानीलाई निरन्तरता दिएँ ।

‘खै कता–कता गएर आई । बागलुङबाटै आएको भए झनै डर भो । धेरै दिन भो रे त्यतातिर गएको,’ उनले तर्क अघि सारे । बागलुङमा कोरोना भाइरस संक्रमित २ व्यक्तिको पुष्टि समेत भएको छ ।

कोरोनाको आशंका लागे स्थानीय तहमै क्वारेन्टाइनमै राख्न सकिने व्यवस्था छ, ल्याब टेस्ट गर्न सकिने मशिन पोखरामै आएको छ भनेर जानकारी दिएँ । 

उनले त्यतातिर पटक्कै ध्यान दिएनन् । प्रसङ्ग बदल्दै यसो भने, ‘त्यो (विष्णु) त्यस्तै हो । बिहे गरेपछि ज्वाइँले पनि छोडे । नातिनीलाई हामीले ल्याएर पाल्द्या छम् । कहिले कता जान्छे । कहिले कता । केही थाहा हुन्न । कोरोना हुन सक्छ कसरी भित्र छिर्न दिनू ।’ 

बाबुसँग यति कुराकानीपछि मैले ती महिलालाई प्रहरीमा जानुअघि एकफेर घरमै पुगेर आफ्नो कुरा राख्न र कोरोनाको आशंका लागे क्वारेन्टाइनमा बसी ल्याब टेस्ट गर्न सुझाएँ । 

उनले बाबुलाई भेट्दै नभेट्ने बरु आफ्नो अधिकारको लडाइँमा अघि बढ्ने दृढता पस्किन् र प्रहरी कार्यालयतिर मोडिइन् ।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्