के कालापानी पनि बिर्सिइएला ? (कविता)

तिर्थराज अर्याल
तिर्थराज अर्याल

अर्याल समसामयिक विषयमा कलम चलाउँछन् ।

तीर्थराज अर्याल 

म बोल्न सक्दिन, 
म बहिरो छु 
म देख्न सक्दिन, 
म लाटो छु !
मेरा आँसु बगेको उसले देख्दैन, 
मेरो पेट कराएको उसले सुन्दैन ! 
सायद उ पनि अन्धो छ, उसको कान छैन ! 
बोल्न मुख छैन, दर्द छैन !
छ त केवल चार वटा किड्नी,
तिनवटा मरिसके, 
एउटैले दिल, दिमाग र किड्निको काम १८ घण्टा एकैसाथ गरिरहेछ  ।


Advertisement

हिजो तराइ र  सुस्ता रुँदा  
उसले बोलेन,
आज लिपु(कालापानी छुँदा
उसले देखेन !
सायद उ पनि चाँडै बिर्सिन्छ !
हामी पनि हेर्छौँ, बोल्छौ, थाक्छौँ अनि बिर्सिन्छौँ,
हिँजोको तराइ र सुस्तामाथिको आक्रमण बिर्सियौँ,
अब लिपु र कालापानी पनि बिर्सिने त होला ?
उसको हातमा डाडु पन्यु छ, 
बोल्नै पर्छ अब !
सतलज देखि टिस्टा सम्म बोल्नुपर्छ। 

निर्मला पन्त लाई सम्झनुहुन्छ?
केही एनजिओ सम्झिदा हुन्, डलर खाएको भएर, 
केही पुलिस सम्झिदा हुन्, दोषी बचाएको भएर । 
म सम्झिरहेछु, 
न्याय नपाएको उनको आत्माले पोलेर ! 
 
बिर्सिसक्यो नेपाली 
लोकप्रिय राजा बिरेन्द्रको परिवार सर्वनास भएको !
प्रत्यक्ष अप्रत्यक्ष खेल्नेले अहिले नाङ्गो नाच गरिरहेछ !
तर पनि हामी सहन्छौँ !
याद छ? वाइड बडि, ३८ किलो सुन, बालुवाटार? 
केही सम्झिदा हुन्, अलि अस्ति सामान तस्करी गरेको,
२(३ तोलाका सिक्री र श्रीमतीलाई हार भेट पाएकाले,
देशप्रती गद्दारी गर्दा पनि उपहार पाएकोले,
लुटेको पर्दाफास भएपछी बल्ल बल्ल जग्गा फिर्ता गरर्नुपरेकोले !
तर मलाइ सम्झना छ,  
मेरो गास काटेर केही भ्रष्टले आफ्नो खल्ती भरेको छ, 
बारम्बार मेरो विश्वास र आशा उपर बुलडोजर चलाएको छ ।


Advertisement

हामी  बिर्सिइ रहन्छौँ, 
उसले आफ्नै श्रीमानको बलि चढाएर आफू कुर्सिमा चढेको,
तर म सम्झन्छु, 
उदाउँदै गरेको जन बोली बुझ्ने दुई सहकर्मी नेताको हत्या लुकाएको !
हामी बिर्सिसक्यौँ, 
उसले १० वर्ष देशलाई अँध्यारो बनाएर देशको आत्मासम्म खोक्रो बनाएको,
देशको संस्कृति, परम्परा, आफ्नोपन र अस्तित्वसित हतियार साटेको,
शान्ति, अमनचयन र भतृत्त्व संग सत्ता साटेको कुरा !

हामी बिर्सिन्छौ
उसले हाम्रो सनातन धर्मसंग कोरियन विर्य साटेको कुरा !
हामी बिर्सिन्छौँ, 
छोराको हत्याको कारण खोज्दै सत्याग्रह गर्दा
अनसनस्थलमै मर्नुपरेको कुरा !
अस्पतालको आइसियुमा मृत्यु कुर्नुपरेको पीडा !
जनताको स्वास्थ्यसंग खेलवाड भयो भन्न पनि सत्र पटक अनसन बस्नुपर्ने पीडा !

अब हामिले बिर्सिनुपर्ने धेरै छ !
एउटै जुवामा नारिएर देश जोतिरहँदा 
बूढो गोरु जता जता जान्छ,
तन्नेरी गोरु त्यतै त्यतै लम्किरहेछ ! 
तन्नेरी गोरु आफ्नै मेलो बनाउन अल्छी मानिरहेछ । 
बूढो गोरुले खाएको घाँसको पछि पछि दौडिइरहेछ !
तयार बसौँ, 
अलि दिन पछि हामीले यिनका लुट पनि बिर्सिदिनु छ, 
र फेरि सत्ताको बागडोर यिनैलाई सुम्पिएर
बोल्नु छ, कराउनु छ अनि थाकेर बिर्सिनु छ । 

तर मलाई खट्काइरहन्छ सम्झनाले,
राम शाह, पृथ्वीनारायणको र भिमसेन हरुको,
विपि ,महेन्द्र, विरेन्द्र, मदन, किशुनजि गणेशमान हरुको !
जो आफु होइन देश र जनता बन्नुपर्छ भनी मरिमेटेका थिए !
सम्झना छ, हर्क गुरुङ, यदुनाथ र रेवतिरमण हरुको !
जसले एक पटकको विदेश भ्रमण र छोराको छात्रवृत्तिमा देश बेचेनन् !

म बिर्सिन्न ती सहिदहरुलाई !
तर बिर्सिन्छु, 
पोल मा झुन्डिएका फोटोहरु, 
केही छिन अघि बोलेर, बोलिन भनेका शब्दहरु,
र त नयाँ उखान सुन्नेबित्तिकै गडड ताली पिट्छु । 
तर अब म बिर्सिने छैन, 
अन्याय अत्याचार गर्नेहरुलाई 
देश लुट्नेहरुलाई 
अपराध गरेर पनि बिना सजाय छुट्नेहरुलाई ! 
म माफि दिन्न, 
छल कपटले जनता झुक्याएर सत्ता र कुर्सी वरिपरि ढुक्नेहरुलाई !
तर अझै डर लाग्छ, 
कि हाम्रो बिर्सिने बानिले
यी फटाहाहरुका कुकर्म संगै 
लिपुलेक र कालापानी पनि बिर्साइदिने हो ? ? 

बुटवल
 

तिर्थराज अर्याल
तिर्थराज अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्