बुवाको हत्या आरोपमा छोरा पक्राउ

प्रतिकात्मक तस्वीर

सर्लाहीको बसबरिया गाउँपालिकामा मंगलवार राति १ वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।

बसबरिया गाउँपालिका–५ धनगढा निवासी ७५ वर्षीय रामअधिन रायको धारिलो हतियार प्रहारबाट मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।


Advertisement

आफ्नै आँपको बगैंचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उनले बताए । घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्या गरिएको छ ।
 
बुबालाई हत्या गरेको आरोपमा मृतकका कान्छो छोरा ४० वर्षीय विनोद रायलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा खाटमुनि लुकेको अवस्थामा बुधवार बिहान विनोदलाई पक्राउ गरिएको बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिए ।

जग्गा जमिनको विषयलाई लिएर आफ्नो कान्छो भाइ मदिरा सेवन गरेर पटक–पटक बुबालाई गाली बेइज्जती र कुटपिट गर्दै आएको मृतका जेठो छोरा रामविश्वास रायले जानकारी दिए ।
 
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाको टोली पुगेर शवलाई जिल्ला अस्पताल मलङ्गवमा शव परीक्षणका लागि लगिने तयारी भइरहेको गापा अध्यक्ष रायले जानकारी दिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरलले जानकारी दिए ।


Advertisement

कमेन्ट गर्नुहोस्