दक्षिण कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने

प्रतिकात्मक तस्वीर

कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मंगलवारदेखि मास्क अनिवार्य गरिएको छ ।

‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।


Advertisement

मास्क प्रयोग नगरी यात्रा गरे/गराएमा कारवाही हुने रोग नियन्त्रण महाशाखा केसीडीसीले बताएको छ । नियम उल्लंघन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाई  कानूनअनुसार कारवाही समेत गरिने नियममा उल्लेख छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई भने बुधवारदेखि यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना संक्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले संक्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको जनाइएको छ । नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछन् ।
 
यससँगै केही अघि मात्र इथेवन शहरको एक रात्रि क्लबबाट संक्रमण फैलिएपछि यहाँका क्लब तथा बारहरू पनि बन्द गरिएका छन् । कोरियामा ११ हजार २२५ कोरोना संक्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६९ रहेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्